विचार मञ्च

बजारमा न्याय (व्यङ्ग्य)

योगीशकृष्ण

अचानक बजारमा चहलपहल बढ्यो । डलरको भाउ घटेर वा पाइलटाको अवैध डलरसहित पक्राउ पर्दा जुन बजारमा चहलपहल बढछ , म त्यो बजारको कुरा गरिरहेको छैन । म त्यो बजारको कुरा गर्दैछु । कुरा गर्दा गर्दै म पुन: रोकिन्छु । के कारण म रोकिन्छु भने त्यो बजारमा तिनको कब्जा छ अहिले जो पहिले संसद्का लागि  भन्ने गर्थे ‘ के जातिको टाउको देखाएर के जाति विक्री गर्ने ( म यो उखान यस कारण पूरा उल्लेख गरिरहेको छैन – कुनै गैससले यसमा मानवअधिकारमैत्री भएन भनेर कतै व्यक्तव्य ननिकालोस् । अनि त्यही व्यक्तव्यको आडमा म र यो लेख प्रकाशन गर्ने सम्पादका विरुद्ध सामाजिक सञ्जालमा गाली गलौजको प्रतिस्पर्धा नहोस् ) । जे होस् ।  म बजारको  कुरा गर्दै थिएँ । बजार अर्थात् राजनीतिक बजारको ।

     बजारमा चहलपहल बढेको कुरा मलाई यत्तिकै थाहा भएको होइन । म कुनै निश्चित समयमा मात्र समाचार हेर्ने , सुन्ने र पढने गर्छु । समाजिक सञ्जालमा आफनो निष्कृयताका कारण कतिपय मित्रले मलाई अमित्र  बनाइसके । मित्र र अमित्रको द्वन्द्वान्तमक अनुभवका बारेमा  म पछि कुनै दिन लेखुँला । आज म बजारको बारेमा मात्र लेख्दैछु । भन्दै थिएँ – बजारको चहलपहलबारे मलाई कसरी थाहा भयो भनेर । छिमेकी झुनझुनवाला बार्दलीमा चहलकदमी गर्दै कसैसँग मोबाइलमा कुरा गर्दै थिए । मलाई देखेर उनले हात उठाए । उनी सितिमिति मलाई देखेर हाथ उठाउने मानिस होइनन् । खास अवस्थामा मात्र उनी यसरी ‘विस ’ गछ्न् ।

   फोनको वार्तालाप सकिनासाथ उनले मुस्कुराउँदै भने “ थाहा पाउनु भयो ?”

   म झस्किएँ , नाकाबन्दी हुनुभन्दा अघिल्लो दिन पनि उनले यसै गरी सोधेका थिए । त्यतिबेला सारा आमनेपालीले कष्ट भोगेको कुरा समझिएर मन अमिलो भयो । स्थानीय चुनाव नहुने गर्न नहुने कुरा चलिरहेको छ , कतै फेरि नाकाबन्दी त हुने  होइन । म डराएँ “ के फेरि नकाबन्दी त हुने होइन ? ’ 

  “ होइन, उनले मुस्कुराउँदै भने “ अब केही बेरमा मन्त्रिपरिषदको बैठक बस्दै छ । ”

“कुन ठूलो कुरा हो ? मैले जबाफ फर्काएँ “ यो नियमित कुरा हो । ”

उनले भने “कसरी नियमित हो । पच्चीस दिनदेखि बस्न सकेको थिएन । बल्ल आज बस्ने भो । तपाइँ कस्तोखाले नेपाली हो , यत्रो ठूलो कुरालाई सामान्य भन्नु हुन्छ । बजारमा हलचल छ ”

 उनी हालसालै नेपाली भएका हुन् । संविधान संशोधन भयो भने राष्ट्रपतिको उम्मेदवार हुन पाउने योग्यता हासिल गर्ने खालका । उनी मेरो नेपालीपनलाई ललकार्दै थिए । हुन त दूतावासका खरिदार तहका कर्मचारीले कस्ता कस्तालाई ललकार्छन् , मलाई उनले ललकार्नु कुनै नौलो वा ठूलो कुरा त थिएन । तैपनि म घरबाहिर निक्लिएँ । केही पर चारपाँच जनाको समूल उभिएर बजारको हलचलको चर्चा गर्दै थियो । सहभागीमध्ये एकले भन्यो “ हिजो मात्र मैले भनेकै थिएँ –एक दुई दिनभित्र मन्त्रिपरिषद्को बैठक बस्नै पर्छ । नबसी धरै छैन । भर्खर मेरो वरिष्ठ पत्रकार साथीले एसएमएस गरेर भन्यो बसिसक्यो  । ”

 सेठ झुनझुनवालाको कथन सत्य रहेछ –मन्त्रिपरिषदको बैठक वस्दै छ । अर्कोले मोबाइल हेरेर भन्यो “ ए , शुरु भएछ । फेसबुकमा मेरो नेता साथीले ‘स्टाटस अपडेट गरिसक्यो । ”

 मन्त्रीपरिषद्को बैठक बस्दा किन यत्रो चर्चा । अरु मुलुकमा त आमजनतालाई मतलबै हुन्न । के निर्णय भयो त्यसमा केही उत्सुकता कमोवेस होला ।

 “पच्चीस दिनपछि बस्न लागेको बैठक पक्कै केही न केही त हुन्छ । अर्काेले थप्यो “ यो आइजिपी प्रकरण अघिल्तिर नभएको भए पक्कै केही दिन अझै बैठक बस्ने थिएन । यसकै लागि पनि बैठक बस्न जरुरी  थियो । ”

 म बजारको चहलपहलको मजा लिन थालेँ । अर्काले भने “ चन्द र सिलवाल दुइटैको पत्ता साफ हुन्छ अब । तेस्रो व्यक्ति जो सबैभन्दा बढी योग्य रहेछ , त्यसैको पालो आउने पक्का पक्की भएको खबर हिजै देखि आउन थालिसक्यो । ”

अर्थात् मन्त्रिपरिषद्को बैठक बस्नुअघि नै त्यसको निर्णय बजारमा आइसक्यो । यो रुनुपर्ने प्रसङ्ग हो वा हाँस्नु पर्ने । म बुझिरहेको थिइँन । यत्तिकैमा मोबाइल चलाइरहेका अर्काले भने “ लु , लु हेर । निर्णय भइसकेछ , तेस्रो मानिस आइजिपी भएछन् । ”

 सानो हाटबजारको विषय आइजिपी प्रकरणतिर मोडियो । एकजनाले बडो गम्भीरतापूर्वक भनेँ “ आखिर जो सबभन्दा बढी योग्य रहेछ , उसले नियुक्ति पायो । आखिर न्याय त रहेछ । ”

 म सोच्न थालेँ –अचानक अर्कोको योग्यता बढी भएको समाचार नआउन्जेल वा अदालतमा पुन: यो प्रकरण पुगेन भने तीनमध्ये सबैभन्दा योग्यले नियुक्ति पाउनु न्याय हो भने त्यो न्याय पहिले किन भएन ? अहिले न्याय भएको हो ?

मैले निष्कर्ष निकालेँ – यो त अन्याय गर्न नपाउँदा भएको न्याय पो हो । मेरो निष्कर्ष सुनेर सानो बजार मौन भयो । ठूलो बजारमा यसको कुनै अर्थ छैन ।