तत्काल
विचार मञ्च

हिन्दू संस्था : नेपाल केन्द्र कि छिमेकी देश केन्द्र ?

डा.निर्मलमणी अधिकारी

योगी नरहरिनाथको सोच, दूरदृष्टि, बृहत्तर योजनाको परिणाम थियो विश्व हिन्दू महासंघ । योगीजीले तत्कालीन राजालाई कसरी नेपाललाई विश्वभरिका सारा हिन्दूहरुको आस्था केन्द्र बनाउन सकिन्छ भनेर दिएको ज्ञानको कारणले जसरी संस्कृति विश्वविद्यालय स्थापना भयो, उसरी नै विश्व हिन्दू महासंघ पनि अस्तित्वमा आएको थियो । तत्कालीन पञ्चायती व्यवस्थाका हर्तेकर्ते बनेका गलत व्यक्तिहरुको चलखेलका साथसाथै राजपरिवारमा विवेकहीनता बढेको कारणले योगीजीलाई कालान्तरमा धेरै नै प्रताडित गरेको देखियो ।

योगीजीको प्रत्यक्ष नेतृत्व, मार्गनिर्देशन, सुपरिवेक्षण नपाएपछि संस्कृत विश्वविद्यालय र विश्व हिन्दू महासंघ दिशाहीन, गतिहीन, मतिहीन बन्नु दुःखद्, तर स्वाभाविक भयो । आज संस्कृत विश्वविद्यालय पक्षाघातले पीडित छ । विश्व हिन्दू महासंघ त झन् बेथितिमा जकडिएको छ । स्थापनाकालको सोच र योजनाचाहिँ नेपाललाई विश्वभरिका सारा हिन्दूहरुको आस्था केन्द्र बनाउने उद्देश्यका लागि संस्कृत विश्वविद्यालय र विश्व हिन्दू महासंघ जस्ता संस्थाहरु विशेष उपकरण हुने भन्ने थियो ।

विश्व हिन्दू महासंघको योजना बन्दा योगी नरहरिनाथ र राजा दुवैको मत मिलेको थियो कि नेपालमा छिमेकी देशका हिन्दू संस्थाको होइन, वास्तवमा नेपालकै मौलिक हिन्दू संस्थाको केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिका हुनु पर्छ । तत्कालीन समयमा नेपालको छिमेकी देशमा हिन्दू राष्ट्रवादी विचारधारा लिएका राजनीतिक, सांस्कृतिक, साम्प्रदायिक संस्थाहरुलाई तत्कालीन अवस्थामा पूरै सचेत पारिएको थियो कि उनीहरुको कार्यक्षेत्र नेपाल बाहिर मात्र रहोस् र नेपालमा हिन्दू धर्मावलम्बीका संस्थागत कार्य मुख्यतः विश्व हिन्दू महासंघकै नेतृत्वमा अगाडि बढ्नेछन् ।

विश्व हिन्दू महासंघका केही महाधिवेशनहरु राजाकै छत्रछाया र राज्य संयन्त्रको पूर्ण सहभागितासाथ गरिँदा साँच्चै नै अन्तर्राष्ट्रिय स्तरको सहभागिता रहेका थिए । अब पनि यदि नेपाललाई साँच्चै नै विश्वभरिका हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र बनाउने हो भने नेपाली हिन्दू संस्था नै नेपालमा केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिकामा हुनु पर्छ ।

छिमेकी देशका हिन्दू संस्थाका शाखाहरु नेपालमा धेरै संख्यामा खुलेका छन् । तिनीहरु छिमेकी देशका संस्थाका शाखा भएकाले केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिकामा रहनै सक्दैनन् । तिनीहरुको जरो र किलो छिमेकी देशमा भएको कारणले छिमेकी देशलाई केन्द्र मान्ने हिन्दू संस्थाहरुले प्रत्यक्ष वा परोक्ष रुपमा छिमेकी देशलाई नै विश्वभरिका हिन्दूहरुको केन्द्र बनाउन कार्य गर्नेछन् । नेपाललाई अग्रणी र केन्द्र बनाउनको लागि त नेपालकै मौलिक रैथाने हिन्दू संस्थाको केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिका अनिवार्य छ ।

विश्व हिन्दू महासंघलाई गलत व्यक्तिहरुको कब्जाबाट मुक्त गराएर, सुयोग्य व्यक्तिहरुलाई विश्व हिन्दू महासंघको नेतृत्वमा स्थापित गराएर उक्त संस्थालाई नै केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिकामा स्थापित गर्न सम्भव छ ? विचार विमर्श गरौँ । दिशाहीन, गतिहीन, मतिहीन अवस्थामा रहेको अहिलेको स्वरुपमाचाहिँ विश्व हिन्दू महासंघको केन्द्रीय, आधिकारिक, नेतृत्वदायी भूमिका पटक्कै सम्भव छैन ।

विश्व हिन्दू महासंघ अहिलेकैजस्तो दिशाहीन, गतिहीन, मतिहीन अवस्थामै रहिरह्यो भने के गर्ने ? नेपाललाई अग्रणी र केन्द्र बनाउन चाहनेहरुले अर्को उपाय अवलम्बन गर्नु पर्ने हुन्छ । किनभने पुराना हिन्दू संस्थाहरुको दिशाहीनता, गतिहीनता, मतिहीनताको कारणले पैदा भएको रिक्तताको फाइदा लिएर हिन्दू हितका लागि भन्दै छिमेकी देशका संस्थाका शाखा प्रशाखा नेपालमै फैलिएका छन्, जसले कालान्तरमा नेपालको भूराजनीतिक हितलाई आघात पार्नेछन् ।

के हामी राष्ट्रियतामाथि आघात पर्ने क्रियाकलापलाई टुलुटुलु हेरेर बसिरहने ? होइन, नेपालको समष्टि हितका लागि आवश्यक कार्य गर्ने, आफ्नो कर्तव्यको पालन गर्न अग्रसर हुने हो । धार्मिक पहिचान मिल्ने, तर राष्ट्रियता फरक भएकाले राष्ट्रिय स्वार्थ बाझिने अवस्थाका संस्थाहरुसँग धार्मिक मामिलामा सहकार्य र राष्ट्रियताको मामिलामा तिनीहरुका स्वार्थ बुझेर निराकरण गरी नेपालको हितका लागि कार्य गर्नु पर्छ ।

तपाइँ नेपाललाई केन्द्र बनाउने पक्षमा कि छिमेकी देशलाई केन्द्र बनाउने पक्षमा ?

(धार्मिक पहिचान मिल्ने, तर राष्ट्रियता फरक भएकाले राष्ट्रिय स्वार्थ बाझिने अवस्थाका संस्थाहरुसँग व्यवहार गर्दा तिनीहरुसँग हाम्रा द्वन्द्व चल्दा अधर्मी, विधर्मी, परधर्मीहरुले फाइदा लुट्न नपाऊन् भन्नेमा पनि हामी सचेत रहनु पर्छ है । अधर्मी, विधर्मी, परधर्मीहरुले नेपालको कदापि हित गर्दैनन् । अधर्मी, विधर्मी, परधर्मीहरुबाट सचेत रहनु पर्छ र तिनीहरुका षडयन्त्रको निराकरण गर्न क्रियाशील हुनु पर्छ ।)