हुन्डीलाई निरुत्साहितका लागि वैदेशिक रोजगार बचतपत्र

आजभोलि

यूएई  । नेपाल राष्ट्र बैंकको तथ्यांकले खाडी देश तथा मलेसियामध्ये यूएईबाट सबैभन्दा बढी अवैध बाटोबाट नेपाल पैसा पठाउने गरेको देखाएको छ । यूएईबाट नेपाल भित्रने रेमिट्यान्समध्ये एक प्रतिशतमात्र बैंकिङ माध्यमबाट जाने गरेको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले जानकारी दिए ।

सिवाकोटीका अनुसार मलेसियाबाट नेपाल भित्रने रकममध्ये १३ प्रतिशत बैंकिङ माध्यमबाटै जान्छ । यस्तै, साउदी अरबबाट २३ र कतारबाट १७ प्रतिशत रकम वित्तीय संस्थामार्फत जान्छ । तर, यूएईबाट एक प्रतिशतभन्दा कम रकम वित्तीय संस्थाबाट जाने गरेको सिवाकोटीले जानकारी दिए । कारबाहीमा नपर्दासम्म हुन्डीवालाहरू शेरजस्तो देखिए पनि कारबाहीमा परेपछि स्यालजस्ता हुने उनले टिप्पणी गरे ।

वैदेशिक रोजगारीमा रहेका युवाहरूले गर्ने आम्दानी दिगो बनाउन नेपाल सरकारले अगाडि सारेको वैदेशिक रोजगार बचतपत्रको अवधारणाले यूएईमा रहेका नेपालीलाई उत्साही बनाएको छ ।

नेपाल राष्ट्र बैंकले बचतपत्रबारे जानकारी दिने उद्देश्यले यूएईको दुबईमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी भएका यहाँ रहेका विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले खुशी व्यक्त गर्दै धेरै भन्दा धेरै जना सहभागी बनाउनका लागि यसलाई सरल बनाउन ध्यान दिनुपर्ने बताए ।

नेपाली दूतावास यूएईको सहजीकरणमा भएको कार्यक्रममा नेपाली बिजनेस काउन्सिल यूएई, गैरआवासीय नेपाली संघ यूएई, नेपाल पत्रकार महासंघ यूएईलगायत तीन दर्जन संघसंस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका उपनिर्देशक कुलबहादुर केसीले बचतपत्रमा लगानी गर्ने विधि र प्रकृयाबारे जानकारी दिएका थिए । उनले वैदेशिक रोजगारीका लागि प्रवासमा रहेका नेपाली नागरिकले आफ्नो वा आफ्ना परिवारका सदस्यहरू आमा, बुबा, छोराछोरी, श्रीमान् वा श्रीमतीको नाममा बचतपत्र खरिद गर्न सक्ने जानकारी दिए । उनले वैदेशिक रोजगारीबाट फर्किसकेको व्यक्तिले समेत फर्केको चार महिनाभित्रमा यस्तो बचतपत्र खरिद गर्न सक्ने उनले बताए ।

मुुलुक र लगानीकर्ता दुवैको हित
वैदेशिक रोजगार बचतपत्रले मुलुकका लागि दोहोरो हित गर्ने कार्यक्रममा जानकारी दिइएको थियो । अभिमुखीकरण कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले अवैध बाटोबाट भित्रिरहेको रेमिट्यान्स वैधानिक बाटोबाट ल्याउन बचतपत्रले सघाउ पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले बचतपत्र मुलुकको विकासका लागि पुँजी जुटाउन पनि सहयोगी हुने उनको भनाइ थियो । बैंकले दिने ब्याजदर भन्दा बढी ज्याज उपलब्ध गराइने र ६–६ महिने किस्तामा ब्याज प्राप्त हुने, आवश्यक परे आफूले बचतपत्रमा गरेको लगानीको प्रमाणपत्रका आधारमा लगानीको ९० प्रतिशत ऋण लिन सकिने, अन्य कामका लागि पुँजी आवश्यक हुँदा बचतपत्र बिक्री गर्न सकिने भएकाले वैदेशिक रोजगारीका लागि प्रवासमा रहेका नेपाली नागरिकका लागि यो एक अवसर भएको उनले जानकारी दिइन् ।

प्रवासबाटै लगानी गर्न पाउनुपर्ने माग
कार्यक्रममा सहभागी नेपाल आदिवासी जनजाति महासंघ यूएईका उपाध्यक्ष पासाङ शेर्पाले बचतपत्रमा लगानी गर्नकै लागि बचतपत्र खुलेको समयमा नेपाल जाने सम्भावना नभएकाले प्रवासबाटै यसमा लगानी गर्न सकिने गरी व्यवस्था हुनुपर्ने माग गरे ।

उनले यसका लागि अनलाइनबाटै फर्म भर्नेलगायत व्यवस्था हुनुपर्नेमा जोड दिए । नेपाली बिजेनस काउन्सिल यूएईका अध्यक्ष डा। आसिफ अलि सिद्धीकीले बचतको महत्वमाथि प्रकाश पार्दै आफ्नो कमाइबाट सबैभन्दा पहिले बचतका लागि सानै रकम भए पनि छुट्याएर बाँकी रकम खर्च गर्ने पद्धति सिक्नुपर्नेमा जोड दिए । उनले मासिक दुई सय दिराममात्र संकलन गर्न सके पनि त्यो पछि ठूलो काम आउने बताए ।

‘महिलालाई सुविधा होस्’
फिस्टेल ट्राभल्सकी सञ्चालक तथा प्रवासी नेपाली मञ्च यूएईकी उपाध्यक्ष मोती राईले महिलालाई आकर्षित गर्न विशेष सुविधा तथा सहुलियतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । उनले वित्तीय ज्ञान र प्रविधिमा पहुँच नभएका महिलाका लागि पनि सहजिकरण हुनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महिला सहभागिता न्यून रहेको भन्दै उनले यस्तो अभिमुखीकरण कार्यक्रम महिलाहरूको पहुँच हुने गरी गर्न पनि आग्रह गरिन् । यूएईमा ३० हजारभन्दा बढी नेपाली महिला कार्यरत रहेको अनुमान छ ।

बचतपत्र के हो ?
नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन जारी गर्ने विभिन्न उपकरणहरूमध्ये वैदेशिक रोजगारीमा संलग्न व्यक्तिहरूलाई लक्षित गरी जारी गरिने उपकरण वैदेशिक रोजगार बचतपत्र हो ।
यो बचतपत्रको सम्पूर्ण दायित्व नेपाल सरकारको हुन्छ । नेपाल सरकारबाट स्वीकृत वैदेशिक रोजगार बचतपत्र सम्बन्धी कार्यविधि २०६९ बमोजिम यो बचतपत्रको निष्कासन तथा व्यवस्थापन गर्ने गरिन्छ ।

नेपाल सरकारले आर्थिक वर्ष २०६७र०६८ बाट बचतपत्र निष्कासन सुरु गरेको हो । अहिलेसम्म ११ पटक निष्कासन गरिसकेको छ । यो पाँच वर्ष अवधिको हुन्छ । न्यूनतम पाँच हजारदेखि माथि पाँच हजारले भाग जाने अंकसम्म बचतपत्र खरिद गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले यो बचतपत्र बिक्रीका लागि सिटिजन्स बैंक इन्टरनेसनल, एनएमबि बैंक, नबिल बैंक, माछापुच्छ«े बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक,  सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक,     प्रभु  मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिट प्रालिलाई बिक्री प्रबन्धक तोकेको छ ।
बचतपत्र वैशाख मसान्तसम्म खरिद गर्न सकिन्छ । यसपटक २५ करोड रकम बराबरको बचतपत्र खुला गरिएको छ । व्याजदर अहिलेसम्मकै उच्च १० प्रतिशत तोकिएको छ ।
News from Karobardaily.com

  • ९ चैत्र २०७३, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !