हरि कोइराला । मोरङ । अन्तरजातिय विवाह गरेको थाहापाएपछि एक परिवारले प्रहरी लागाई एक पुरुषलाई पक्राउ गराएका छन् ।
झापाको साविक पृथ्वीनगर ४ की १७ वर्षीय एलिसा विष्टको परिवारले बाल विबाह गरेको भन्दै केटालाई प्रहरी लगाएर पक्राउ गराएको हो । ईलाका प्रहरी कार्यालय पथरीको टोलीले केटालाई शुक्रबार घरबाटै पक्राउ गरेको हो ।
मोरङको साविक बयरवन – ८ का राम दूधराज(विश्वकर्मा)सँग राजीखुसी भागेको ८ दिनपछि माइती पक्षले केटालाई घरबाटै पक्राउ गर्न लगाएको हो ।
गत चैत १६ गते भागेकी एलिसाले शुरूमा केटा क्षेत्री जातिको भएको भनेर ढाँटेकी थिइन् । त्यतिवेला सुन ब्यापारी केटासँग बिवाह भएको भन्दै परिवार समेत खुसी भएको एलिसाको भनाई छ ।
रामसँग बैवाहिक जीवन सुरु गरिसकेकी एलिसाले परिवारलाई जात ढाँटेको थाहापाएपछि जेठाजु सुरेनले माइतीलाई जात नढाँट्न भनेका थिए । जेठाजुको सल्लाह अनुसार नै एलिसाले आफ्नो केटो विश्वकर्मा भएको माइतीलाई बताएकी थिइन् ।
‘कार्की केटोसँग हिँडेभन्दा खुशी भएको एलिसाको परिवार ज्वाँई दलित भएको खुलेपछि बाल विबाह गरेको भन्दै कागजात जुटाउन लागि परेको दलित एकता सञ्जाल नेपालकी सचिव दुर्गा नेपालीले बताइन् । नेपालीले भनिन्, ‘जात क्षेत्री हो भन्ने हुँदासम्म एलिसा र रामको घरजम राम्रै थियो । तर विश्वकर्मा हो भन्ने थाहा पाउन साथ केटीलाई छुटाउन अनेक बहाना गरिएको छ ।’
रामका दाजु सुरेनले भने – जातकै कारण भाइ र बुहारीलाई छुट्ट्याएर राख्दा दुर्घटना भयो भने कसले जिम्मा लिने ? आँखाभरि आँशु पारेर सुरेनले थपे, – ‘जात कतिन्जेल ढाँट्न सकिन्छ, भनेर बुहारीलाई नढाट्न आग्रह गरेको हुँ । तर उनीहरूको घर नै बिग्रियो ।’
उता एलिसाकी दिदी सिर्जनाले कानूनी मान्यता पाउने विबाहका लागि २० वर्ष पुरा हुनुपर्ने भएकोले कानूनी उपचार खोजेको बताइन् । हामीले नावालक बहिनीलाई कसरी जिम्मा लगाउने ? सिर्जनाले त्यही केटासँग बिहे गर्ने हो भने केटाले अढाई वर्ष कुर्नुको विकल्प नभएको जिकिर उने गरिन् ।
इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्की भने दुवै पक्षले आफ्ना छोरा छोरी बुझेर लैजाने बाहेक कुनै विकल्प नभएको बताउँछन् । उनले भने , ‘ हामीसँग न थुनामा राख्ने अधिकार छ, न बिहे गरेर पठाउन कानूनले दिन्छ ।’
तर केटा र केटी दुबै एक अर्काबीच बाँच्नै नसक्ने बताइरहेका छन् । पुरै समाजका अगाडि बेहोस समेत भएका केटाकेटीलाई घर गरी खान दिनु पर्ने दलित अधिकारकर्मीहरूको भनाई छ ।