स्थानीय निर्वाचनको रौनकः ३४ जिल्लामा उत्साह

आजभोलि

काठमाडौं  ।  विगत २० वर्षदेखि कर्मचारी र सर्वदलीय संयन्त्रमार्फत चल्दै आएको स्थानीय तहमा अब भने जनप्रतिनिधि चयन हुने भएका छन् ।  लोकतन्त्रको आधार स्तम्भको रूपमा रहेको निर्वाचनलाई अगाडि बढाउन सरकारले गरेको पहल र प्रयत्न साकार हुने चरणमा पुगेको छ ।  

मधेस केन्द्रित दलको विरोध, संविधान संशोधनको जटिलताका बीचमा हुन लागेको निर्वाचनले जनस्तरमा एउटा उत्साह र एउटा चेतनाको सञ्चार गरेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिन पहिले स्थानीय तहको निर्वाचन एउटा उत्सवको रूपमा अगाडि बढ्ने बताउनुभएको थियो ।  अनेकौँ आशङ्का र अन्योलका बीचमा आएको प्रधानमन्त्रीको सो भनाइलाई धेरैले पत्यार गरेका थिएनन् ।  तर, मङ्गलबार पहिलो चरणमा निर्वाचन हुने प्रदेश नं ३, ४ र ६ नं प्रदेशका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा जनस्तरमा देखिएको उत्साह प्रधानमन्त्रीको शब्दमा एउटा महोत्सवका रूपमा देखिएको छ ।  
यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा यति धेरै जनचासो बढ्नुका पछाडि लामो समयसम्मको राजनीतिक अन्योल, कर्मचारी संयन्त्रले दिएको दुःख र प्रक्रियागत झन्झटका कारण पाएको हैरानीलाई निर्मूल पार्नु नै प्रमुख लक्ष्य रहेको छ ।  

सरकारको विशेष पहल, वार्ता र संवादका कारण आन्दोलनरत मधेस केन्द्रित दलसमेत निर्वाचनका लागि संयमित देखिएको छ ।  यसले आफ्नो मागसहित धैर्य पनि देखाएको छ ।  प्रधानमन्त्री दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताको पहल र प्रयत्नले जनता आफ्नो प्रतिनिधि आफैँ छान्ने अवस्थामा आइपुगेका छन् ।विभिन्न आशङ्का, विभिन्न राजनीतिक दाउपेच तथा अन्योलका बीचबाट मङ्गलबार स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन कार्य एउटा उत्सवका रूपमा अगाडि बढ्नु संविधान निर्माणपछिको सबैभन्दा सुन्दर र लोकतान्त्रिक अभ्यासको रूपमा लिइएको छ ।  

निर्वाचन आयोगका अनुसार निर्वाचन हुनेमा प्रदेश ३, ४ र ६ रहेको छ ।  त्यसमा महानगरपालिकाको सङ्ख्या चार छ भने उपमहानगरपालिका सङ्ख्या एक ।  त्यस्तै नगरपालिका सङ्ख्या ९२ र गाउँपालिकाका सङ्ख्या १८६ ।  यी सबै गरी जम्मा २८३ स्थानीय तहमा प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष पदका लागि मनोनयन दर्ता भएका छन् ।  दश हजारभन्दा बढी जनप्रतिनिधि चयन हुने संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० पनि स्थानीय तहको निर्वाचनमा सहभागी भएको छ ।  नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले मात्रै चुनाव विरोधी गतिविधि गरिरहेको सुरक्षा निकायको विश्लेषण छ ।  

प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादवको शब्दमा “निर्वाचन प्रक्रिया अगाडि बढ्यो, अब जनताले मतदानबाट आफ्ना प्रतिनिधि निर्वाचनका माध्यमबाट चयन गर्नेछन् । ”
प्रधानमन्त्रीले सोमबार मात्रै स्थानीय तहको निर्वाचन एउटा महोत्सवका रूपमा अगाडि बढ्ने र जनताको अपार समर्थनपछि निर्वाचन हुँदैन कि भन्ने आशङ्कासमेत अन्त्य भएर जाने बताउनुभएको थियो ।  मनोनयन दर्ताका क्रममा देखिएको उत्साहले पनि प्रधानमन्त्रीको सो धारणा साकार बनाइदिएको छ ।  राजनीतिक दलका नेताहरूले उम्मेदवार छनोट गर्न ढिलाइ गर्दा उम्मेदवारका आकाङ्क्षी र मतदातामा अन्योल भए पनि विद्रोही वा बागी बन्ने अवस्थामा भने कमी आएको छ ।  निर्वाचन आयोगका अनुसार महानगरमा १२३ जना जनप्रतिनिधि चयन हुनेछन् भने उपमहानगरमा १९ नगरपालिकामा एक हजार ९१ गाउँपालिकामा एक हजार ३६५ वडाध्यक्षमा दुई हजार ५९८ जनप्रतिनिधि चयन हुनेछन् ।  यस्तै दुई हजार ५९८ वडाका लागि चार सदस्यका दरले १० हजार ३९२ वडा सदस्य निर्वाचित हुनेछन् ।  
 प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाको २८३ स्थानीय तहका लागि हुने निर्वाचनमा कुल ४९ लाख ५६ हजार ९२५ मतदाता छन् ।  निर्वाचन प्रयोजनका लागि ६६४२ मतदान केन्द्रमा मतदान हुनेछ ।

उम्मेदवारी दिँदा नगरपालिकाको प्रमुख÷उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष÷उपाध्यक्षमध्ये एक जना महिला उम्मेदवार हुनैपर्ने प्रावधान संविधानतः व्यवस्था गरिएको छ ।  सो व्यवस्थाले पहिलो पटक स्थानीय सरकारमा महिलाको प्रतिनिधित्व उच्च हुनेछ ।  यस्तै वडा तहमा पनि ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ ।  यसले महिला र दलित महिलालाई प्रतिनिधि हुने अवसर प्रदान गरेको छ ।

  • २० बैशाख २०७४, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !