देशको चालु आर्थिक वर्षको दोस्रो महिना भदौमा पनि शोधनान्तर स्थिति घाटामा रहेको छ ।
देशमा भित्रिनेभन्दा बाहिरिने रकम बढी भएका कारण शोधनान्तर स्थिति घाटामा रहेको हो । भदौ मसान्तसम्ममा शोधनान्तर घाटा रु. ५ अर्ब ८७ करोड रहेको छ । गत साउनमा यस्तो घाटा रु. ३ अर्ब २९ करोड थियो ।
रेमिटेन्सको वृद्धिदर खस्किनु, आयात बढ्नु, निर्यात बढ्न नसक्नुलगायतका कारणले शोधनान्तर घाटामा हुन गएको हो । शोधनान्तर घाटा बढ्दै जानु अर्थतन्त्रका लागि नकारात्मक हो ।
यस्तो घाटा बढ्दै जाँदा मुलुकले आयातका लागि आफ्नो सञ्चित विदेशी विनिमय खर्च गर्नुपर्ने हुन्छ ।
नेपाल राष्ट्र ब्यांकले १२ कात्तिकमा सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार भदौसम्ममा देशको चालु खाता रु. १७ अर्ब ८८ करोड घाटामा गएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा चालु खाता ११ अर्ब १२ करोडले घाटामा थियो । शोधनान्तर र चालु खाता घाटाले देशको अर्थतन्त्रको स्वास्थ्य बिग्रेको संकेत गर्छ ।
भदौसम्ममा रेमिटेन्सको वृद्धिदर ०.७ प्रतिशतमा खुम्चिएको छ, जुन अघिल्लो वर्षको यही अवधिमा ६.६ प्रतिशतले बढेको थियो । यो अवधिमा रेमिटेन्स रु. १ खर्ब १५ अर्ब मात्र भित्रिएको छ । त्यस्तै, व्यापार घाटा थप आकाशिएको छ । वस्तु व्यापार घाटा ११.८ प्रतिशतले बढेर रु.१ खर्ब ५१ अर्ब ८३ करोड पुगेको छ ।
यो अवधिमा नेपालले रु. १३ अर्ब ५८ करोडको मात्र निर्यात गरेको छ भने रु. १ खर्ब ६५ अर्ब ४१ करोडको आयात गरेको छ ।
अन्य आर्थिक सूचकहरु सन्तोषजनक नभएपनि मूल्यवृद्धि दर भने अपेक्षित सन्तोषजनक रहेको राष्ट्र ब्यांकको तथ्यांक छ । भदौमा मूल्यवृद्धि दर ३.४ प्रतिशत छ, जुन गत साउनमा २.३ प्रतिशत थियो ।