देउवापछि सुदूरका आशलाग्दा नेता लेखक

आजभोलि

सज्जन, शालीन, इमानदार, भलादमी, पढेलेखेको र विकासप्रेमी यी सबै गुण भएका नेता एकदमै कम छन् हाम्रो देशमा । शालीनता र बौद्धिकतामा पनि कुशल कूटनीतिक नेताहरू त अझ औलामा गन्न सकिने अवस्थामा छन् । त्यस्तै औलामा गन्न सकिने थोरैमध्ये एक हुन् नेता रमेश लेखक । अधिकांश नेता कुनै न कुनै निर्णय वा मुद्दामा मुछिएका हुन्छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री लेखक भने व्यक्तित्व र उनले गरेका निर्णयबाट प्रशंसाका पात्र बन्न सके ।

जनताको जीवनस्तर, मुलुकको आर्थिक समुन्नति अनि सामरिक र सार्वभौमिकताभन्दा पनि कतिपय नेतामा आफ्नै दुनो सोझ्याउने प्रवृत्ति झांगिँदो छ । तर नेता लेखक भने जहिले पनि मुलुकको स्वाभिमान उँचो राख्न काठमाडौं तराई जोड्ने फास्ट ट्र्याक नेपाली सेनालाई निर्माणको जिम्मा दिन कूटनीतिक रूपमा सफल भए ।

नीति र नितान्त आसेपासेको स्वार्थ मुताविक चलेकै कारण कतिपय नेता अलोकप्रिय बन्दै गएका छन् नेपाली राजनीतिमा । कांग्रेसका नेता लेखक भने विद्रोही माओवादीलाई शान्तिवार्तामा ल्याउने राजनीतिक कालखण्डदेखि संविधान लेखनको चरण र नयाँ संविधान कार्यान्वयनको वर्तमान समयमा पनि सक्रिय अनि आशलाग्दा नेताका रूपमा देखिएका छन् ।

क्षेत्रगत रूपमा समग्र कञ्चनपुरको विकासका लागि त उनी भरोसाका पात्र नै हुन् । दुई पटक कञ्चनपुरबाट निर्वाचित भएरर एक पटक समानुपातिकमा निर्वाचित भएर सिंगो मुलुकसँगै जिल्ला र सिंगो सुदूरपश्चिममा  विकासको जग बसालेका लेखक यतिबेला कञ्चनपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन् ।

बैतडीको दशरथचन्द नगरपालिकामा विसं २०२० सालमा बुबा प्रयागदत्त लेखक र आमा शारदादेवी लेखकको कोखबाट जन्मिएका लेखकसँगै सिंगो सुदूरपश्चिमसँगै देशलाई समृद्ध बनाउने सपना र योजना छ । यशोदा लेखक उनको जीवनमा सहयात्रीका रूपमा प्रवेश गरेपछि नेता लेखकले अझ मुक्त रूपमा जनताका लागि सोच्न र केही गर्न पाउने वातावरण बनेको बताउँछन् । 

आईएसस्सी पढ्दा २०३७ सालमा सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा स्ववियू सभापतिका प्रत्याशी बनेका लेखकले त्यही समयदेखि राजनीतिक यात्रा सुरु गरे । भारतको लखनउ विश्वविद्यालयबाट स्नातकोत्तर (एमए) र एलएलबीसम्मको अध्ययन गरेका उनी विसं २०४७ सालपछि सक्रिय राजनीतिमा होमिए । त्यही साल उनी कांग्रेस जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारी सम्हाल्न पुगे ।

लगातार २०५६ सालसम्म जिल्ला कार्यसमिति सचिव बनेर पार्टी संगठन बलियो बनाउन लागिरहे । २०४७ सालदेखि उनी एकातिर पार्टीको सचिव भएर संगठन विस्तारमा लागे भने अर्कोतिर महाकाली साप्ताहिकमार्फत पत्रकारिताको यात्रालाई अगाडि बढाए । क्याम्पसमा अध्यापन र वकालत सँगसँगै लगे ।

२०५६ सालको आम निर्वाचनमा तत्कालीन कञ्चनपुरको क्षेत्र नम्बर ३ बाट लेखक नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बने । त्यसबेला उनको निर्वाचन क्षेत्रमा पर्ने नेपालपारिको गाउँ दोधारा, चाँदनीका जनताले महाकाली नदीमा बाँध बाँध्नेलाई भोट दिने निर्णय सुनाए । आफ्नै देशबाट बाहिर पारिएका जनताको माग पूरा गर्नेबारे लेखकले प्रतिबद्धता जनाए ।

दोधारा, चाँदनीका नेपाली जनता गाँस, बास, स्वास्थ्य, शिक्षा सबै कुरामा भारतमाथि निर्भर थिए । दोधारा, चाँदनीमा बत्तीको उचित प्रबन्ध थिएन । बाटो थिएन । खानेपानीको समस्या उस्तै थियो । आफ्नै देश टेक्ने पुल थिएन । स्वास्थ्यचौकी नाममात्र थियो, उपचार पाइँदैनथियो । स्वास्थ्यकर्मी बस्दैनथिए । कलेजसम्मको पढाइ थिएन । जनताका यस्ता बाध्यता र विवशताले लेखकको मन छोयो । उनले जिते पनि हारे पनि दोधारा, चाँदनीको अवस्था फेर्ने अठोट गरे ।

२०५६ मा जनताले नेता लेखकलाई क्षेत्र नम्बर ३ बाट अत्यधिक मतले विजयी गराए । निर्वाचित भएपछि लेखकलाई यहाँको अवस्थाबारे फेरि सम्झाउनु परेन । उनी चुनावमा जनाएका प्रतिबद्धता पूरा गर्न थाले । नभन्दै केही वर्षमै उनले महाकाली नदीमा बाँध बनाउने योजना सञ्चालन गरे ।

एसियाकै दोस्रो लामो झोलुंगेपुल निर्माणका लागि पहल गरे । जुन अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । दोधारा, चाँदनीका विद्यालयको स्तरोन्नति गरे । क्याम्पस स्थापना भए । २०५८ मा उनी नेपाली कांग्रेस संसदीय दलको सचेतक भए । लेखक २०६२ सालमा श्रममन्त्री भएपछि उनले देशकै लागि थुप्रै काम गरे ।

उनले आफ्नो कार्यकालमा वैदेशिक रोजगारीका क्षेत्रमा दूरगामी प्रभाव पार्ने धेरै निर्णय गरे । दक्षिण कोरिया, संयुक्त अरब इमेरेट, बहराइन र कतारसँग श्रम सम्झौता गरे । त्योभन्दा पहिले श्रम सम्भौता थिएन । जसका कारण कामदार जोखिममा पर्ने गर्थे । दक्षिण कोरियासँग रोजगार अनुमति प्रणाली (ईपीएस) मा सम्झौता गरे । त्योभन्दा पहिले दसौं लाख रुपैयाँ असुलेर कोरिया पठाउने प्रचलन उनकै पालामा बन्द भयो । सरकारी माध्यमबाट कोरिया जाँदा न्यून खर्चमा जान पाइने भयो । टिकटको मूल्य मात्र तिरेर सस्तो र प्रक्रियागत रूपमा कोरिया जाने वातावरण बनेपछि देशले समृद्धिमा थोरै भए पनि साथ पाएको छ । अहिले दक्षिण कोरियामा ५० हजार नेपाली कार्यरत छन् । कोरियामा कामका लागि गएको एक नेपालीले कम्तिमा पनि प्रति महिना एक लाखदेखि २ लाखसम्म कमाउने गरेको छ । उनीहरूबाट देशले ठूलो रकम रेमिट्यान्स प्राप्त गरेको छ । 

सुदूरपश्चिममा एउटा विश्वविद्यालय स्थापना हुनुपर्ने त्यहाँका जनताको माग सम्बोधन गराउन लेखकले अथक प्रयास गरे । विश्वविद्यालय स्थापनाको काम सुरु भयो । प्रा. डीपी भण्डारीको अध्यक्षतामा कार्यदल नै गठन गरे । देश द्वन्द्वमा चलेका बेला तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउनु आवश्यक थियो । जनताको पहिलो माग विकासभन्दा शान्ति स्थापना थियो । शान्ति स्थापनामा लेखकले ठूलो भूमिका खेले । सरकारले उनलाई सरकारी वार्ता टोलीको सदस्य बनाएर माओवादीसँग वार्ता गर्न खटायो । अत्यन्तै सुझबुझका साथ लेखकसहितको वार्ता टोलीले काम ग¥यो । फलस्वरूप माओवादी शान्ति वार्तामा आयो । देशमा द्वन्द्व समाप्त भयो ।

देशबाट दुई सय ३८ वर्षसम्म शासन गरेको राजतन्त्र सदाका लागि हट्यो । गणतन्त्र नेपाल स्थापना भयो । गणतन्त्र आएपछि नेपालमा पहिलो पटक संविधानसभाको पहिलो निर्वाचन भयो । यो निर्वाचनमा उनले पहिले विजय हासिल गरेको कञ्चनपुर ४ बाट कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा चुनाव लडे, उनले अत्यधिक मतले जिते । देशभरि माओवादीले जितेका बेला देउवा डँडेलधुरा र कञ्चनपुर ४ बाट निर्वाचित भएर वाहवाही पाए ।

त्यतिबेला लेखक समानुपातिक सांसद बने । समानुपातिक सभासद् भएपछि संविधान निर्माणमा उनको सक्रिय भूमिका रह्यो । नेपाली कांग्रेसले पनि नेता लेखकमाथि ठूलो आशा गर्यो । उनी त्यतिबेला मौलिक हक तथा नागरिकता मस्यौदा समिति र संविधानको अन्तिम रूपको कार्यदलको सदस्य भएर भूमिका निर्वाह गरे ।

तर कम्युनिस्टहरूको भित्री अभीष्टका कारण संविधान जारी हुन सकेन । संविधानसभाको म्याद सकियो । यो कार्यकालमा उनले जोगबुढा नदी नियन्त्रणको काम गरे । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनी आफ्नै निर्वाचन क्षेत्रबाट पुनः लोभलाग्दो मतले विजयी भए । त्यतिबेला उनले एमाले र माओवादी दुवैको मत जोड्दाभन्दा बढी मतले जितेका थिए ।

२०७२ को संविधान लेखनमा पनि लेखकको उत्तिकै योगदान रह्यो । उनी संविधानको मस्यौदा कार्यदलको सदस्य रहे । संविधानको अन्तिम रूप दिने कार्यदलको सदस्य थिए उनी । महाकाली नदीमा एसियाकै सबैभन्दा दोस्रो ठूलो झोलुंगेपुल निर्माणपछि पक्की पुल बनाउने जिम्मेवारी उनकै काँधमा थियो । नभन्दै त्यस क्षेत्रका नेताहरूको सहयोगमा उनी यस काममा पनि सफल भए । 

चार लेनको महाकाली नदीको पक्की पुलको केही महिना अघिमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरिसकेका छन् । पुल निर्माणको काम अगाडि बढेको छ । उनले दोधारा, चाँदनी क्षेत्रका विभिन्न भागमा पुलनिर्माण, बाँध निर्माण, बाढी नियन्त्रणजस्ता कामलाई अगाडि बढाए । सुदूरपश्चिम विश्वविद्यालय स्थापनामा उनको निर्णायक भूमिका रह्यो । दोधारा, चाँदनीमा सुक्खा बन्दरगाहा बनाउनमा उनको भूमिका कम्ती आक्न मिल्दैन ।

२०७० मा निर्वाचित भए पनि २०७२ मा उनी माओवादी कांग्रेस संयुक्त सरकारमा भौतिक योजना तथा यातायात मन्त्री भए । त्यसपछि उनले कञ्चनपुरको विकासलाई थप अगाडि बढाए । दैजी, बेलडाँडी, पुनर्वास हुलाकी सडकको काम लेखककै पालामा अगाडि बढाइयो । जिल्लामा एक वर्षमै ४२ वटा पुल निर्माणको काम सुरु भयो । यी पुलमध्ये अधिकांश निर्माण भइसकेका छन् भने केही निर्माणाधीन अवस्थामा छन् ।

दोधारा, चाँदनीसँग भीमदत्त नगरपालिकाको विकासका लागि पनि उनको भूमिका कम्ती छैन । नगरपालिकामा ४० करोड बजेट विनियोजन गरेर स्तरोन्नति भइरहेको छ । नगरपालिकाका विभिन्न ठाउँमा खानेपानीको समस्या समाधान गर्न पनि लेखकको ठूलो योगदान रह्यो । महाकाली अञ्चलमा सरकारी चिकित्सक बस्नै नमान्ने अवस्थामा विकास समिति मार्फत चिकित्सक नियुक्त गरेर भएपनि सेवा सुचारु गर्न लेखक लागिरहे ।  दोधरा, चाँदनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर पुर्याउनु सक्नु, डाक्टर त्यही बस्ने आवास बनाउन सक्नु उनको सफलता हो । निकट भविश्यमै उनी दोधरा, चाँदनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल र अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गराउने योजनामा छन् । लेखककै प्रयासमा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत बाहिरी जिल्लाका १५ वटा क्याम्पसलाई सम्बन्धन दिलाइएको छ ।

कञ्चनपुरलाई नेपाल, भारत र चीनको त्रिदेशीय नाकाको रूपमा विकास गरेर देशकै सबैभन्दा ठूलो नाका बनाउने लक्ष्यसहित ब्रम्हदेवदेखि दार्चुलाको टिंकरसम्म जोड्ने महाकाली करिडोर निर्माण गर्ने काम लेखककै भिजन अनुसार अगाडि बढेको छ । सेती लोकमार्गअन्तर्गत कैलालीबाट खुटिया दिपायल हँुदै ताक्लाकोटसम्म द्रुत मार्गको काम भइरहेको लेखक बताउँछन् । उनको  योजना छ, कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने । चार सय किलोमिटर दिल्लीबाट कञ्चनपुरसम्म, त्यहाँबाट ३ सय किमि तात्काकोट मार्ग बनाएर मानसरोवर जोड्ने योजनमा आफू रहेको लेखकले बताए ।

‘कञ्चनपुरलाई भारत, चीन र नेपालको त्रिदेशीय नाकाको रूपमा विकास गरेर समृद्घ कञ्चनपुर बनाउने मेरो प्रमुख एजेन्डा हो’, उनले भने, ‘जनताले यो सपना पूरा गर्न फेरि जिम्मेवारी दिनेछन् । त्यो म पूरा गर्नेछु ।’

  • ३० कार्तिक २०७४, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !