काठमाडौं । निर्वाचन प्रचारप्रसारमा हिँडेका उम्मेदवारमाथि शृंखलाबद्ध बम आक्रमणका घटना भएपछि निर्वाचन आयोगले सरकारलाई सुरक्षा सतर्कता अपनाउन भनेको छ । उम्मेदवारमाथि बम आक्रमणका घटनाबाट स्तब्ध भएको उसले जनाएको छ ।
‘निर्वाचनका लागि सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त छ,’ आयोगले शुक्रबार विज्ञप्तिमार्फत भनेको छ, ‘तर, हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्ण रुपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताको भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधाव्यवधान भएकाले त्यसले आयोगलाई स्तब्ध तुल्याएको छ ।’
आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न अहोरात्र क्रियाशील रहेको विज्ञप्तिमा जनाइएको छ । आयोगले यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा लाग्नसमेत सबैलाई आग्रह गरेको छ । ‘बेलैमा थप सुरक्षा सतर्कता अपनाउन आयोग सरकारलाई हार्दिक आग्रह गर्छ । साथै यस्ता गतिविधिबाट हतोत्साही नभई आफ्ना नियमित निर्वाचनसम्बन्धी क्रियाकलापमा संलग्न रहन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, मतदाता एवं निर्वाचन सरोकारवालासँग आयोग अनुरोध गर्छ,’ आयोगले भनेको छ ।
आयोगले जनताको शान्ति र समृद्धिको चाहनालाई सम्मान गर्न र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाटै शान्तिपूर्ण रुपमा आफ्ना गतिविधि अगाडि बढाउन असन्तुष्ट पक्षलाई आग्रह पनि गरेको छ । आयोगले भनेको छ, ‘जनचाहनाविपरीत हिंसात्मक घटना गराएर निर्वाचनविरोधी गतिविधि सञ्चालन नगर्न, नगराउन सम्बद्ध सरोकारवालालाई आयोग निर्देश गर्छ ।’
शुक्रबार मात्रै दुईजना उम्मेदवारमाथि बम आक्रमण भएको छ । पूर्वसभामुखसमेत रहेकी नेकपा माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार ओनसरी घर्ती र नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं.१ का उम्मेदवार रामशरण महत चढेको गाडीमा लक्षित गरी बम आक्रमण भएको हो । प्युठानबाट रोल्पाको लिबाङ जाँदै गरेकी घर्तीमाथि रोल्पा नगरपालिकाको भदौरे जंगलमा पुग्दा आक्रमण गरिएको थियो । यस्तै, महत चढेको गाडीलाई लक्षित गरी हानिएको बम अर्को गाडीमा परेको थियो । बमले लागेर बा१६च ६६५ नम्बरको गाडी पूर्णरुपमा क्षति भएको छ भने ४ जना घाइते भएका छन् ।
बिहीबार पनि उम्मेदवार लक्षित विस्फोटका तीन घटना भएका थिए । कांग्रेस रोल्पाका उम्मेदवार एवं सिँचाइ राज्यमन्त्री अमरसिंह पुनलाई लक्षित गरी विस्फोट गराइएको थियो । रोल्पा सदरमुकामबाट जौलीपोखरीमा आयोजित चुनावी सभामा जान जाँदै गरेका पुनलाई लक्षित गरी विस्फोट गराइएको थियो । बिहीबार नै बाग्लुङको गल्कोटमा वाम गठबन्धनको चुनावी सभास्थल नजिक बम विस्फोट गराइएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुग्नुअघि सभास्थलनजिक विस्फोट गराइएको थियो । बिहीबार साँझ गोरखामा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई लक्षित गरी बम विस्फोट गराइएको थियो । गोरखा नगरपालिका–१० को सर्भीखोला नजिक भएको विस्फोटबाट मानवीय क्षति नभए पनि खोलाछेउमा राखिएको बा२च ९४६३ नम्बरको गाडीका सिसा फुटेका थिए ।
त्यस्तै कात्तिक २८ गते एमाले भोजपुरका प्रदेशसभा उम्मेदवार शेरधन राईमाथि बम आक्रमण गरिएको थियो । सकेट बम प्रहारबाट पूर्वसञ्चारमन्त्रीसमेत रहेका राई चढेको बा१५ज ५६०८ गाडीमा क्षति भएको थियो । त्यसैगरी पश्चिम रुकुममा बिनाविभागीय मन्त्री जनार्दन शर्मालाई लक्षित गरी विस्फोट गराइएको थियो । रोल्पाबाट प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनलाई लक्षित गरी भित्तावाङमा एम्बुस विस्फोट गराइएको थियो । कात्तिक २५ गते भएको उक्त विस्फोटमा सुरक्षाकर्मीका गाडीमा सामान्य क्षति पुगेको थियो ।
उम्मेदवार लक्षित विस्फोटको सुरुआत कात्तिक २४ मा भएको थियो । गृहजिल्ला रुकुममा बिनाविभागीय मन्त्री शर्मालाई लक्षित गरी २ वटा वम एकैपटक प्रहार गरिएको थियो । चौरहजारीको चुनावी सभा र घरदैलो सम्पन्न गरी सानोभेरी गाउँपालिकाको सिम्ली जाँदै गर्दा सडकमाथिबाट शर्मालाई लक्षित गरेर २ वटा बम प्रहार गरिएको थियो । एउटा बम शर्माको गाडीसामुन्ने विस्फोट भएको थियो भने अर्को विस्फोट हुन सकेको थिएन ।
‘देशभर व्यवस्थित रुपमा निर्वाचन अभियान सञ्चान भइरहेको अवस्थामा मतदाता र उम्मेदवारहरूलाई हतोत्साहित गर्ने तथा निर्वाचन गतिविधिमा नकारात्मक असर पर्नेगरी देशका केही स्थानमा उम्मेदवार लक्षित हिंसात्मक घटना भएकाप्रति आयोग दुःख व्यक्त गर्दछ,’ आयोगको विज्ञप्तिमा उल्लेख छ ।