काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ । चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत महाशाखाले घरटहरा हटाएको हो ।
हरेक शनिबार चक्रपथ सफाइ अभियान थालेका महाशाखाले आज सानोभर्याङ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक अतिक्रमण गरी निर्माण भएका र राखिएका भौतिक संरचनालाई हटाउने काम गरिएको बताउनुभयो । “कोटेश्वरदेखि कलंकीसम्म चीन सरकारले चक्रपथ निर्माण गर्ने भएपछि महाराजगञ्जदेखि कलंकीसम्म सफाइ हामीले गरेका हौँ,”– उहाँले भन्नुभयो ।
महाशाखाले दशैँ अगाडिदेखि चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिएको छ । चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापनमा यो अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ ।
यसैबीच आज नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय संघ संस्थाको सहयोगमा वाग्मती सरसफाइ अभियानअन्तर्गत आर्यघाट पारी राममन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।