माओवादीमा बैठकमा जातीयकरणको तीव्र विरोध

आजभोलि

काठमाडौं । वर्गीय पक्षधरताको वकालत गर्दै आएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्रले जातीय शैलीमा ‘संगठनात्मक कार्यविधि’ अघि बढाउने भएको खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

पार्टीलाई जातीयकरण गर्ने दीर्घकालीन सोचाइसहित तयार पारिएको कार्यविधि केन्द्रले परिपत्रका रूपमा मातहत निकायमा पठाउन थालेको हो । केन्द्रीय कार्यालयको बैठकमा तीव्र विरोध भए पनि वर्षमान पुन नेतृत्वको कार्यदलले बनाएको ‘संगठनात्मक कार्यविधि’ लागू गर्न लागिएको छ । उक्त परिपत्र संगठन विभाग प्रमुख रामबहादुर थापाले मातहत निकायमा पठाएका हुन् । केन्द्रीय कार्यालय बैठकको निर्णयका रूपमा थापाले पुस २७ गतेको मिति राखेर सांगठनिक निकायमा परिपत्र पठाइरहेका छन् ।

पार्टीलाई सैद्धान्तिक धरातलबाट बाहिर निकालेर संयुक्त मोर्चाका रूपमा अगाडि सार्न खोजिएको, एनजीओकरण गराउन खोजेको, केही जनजाति नेताले पार्टी कब्जा गर्न दीर्घकालीन सोचाइका साथ कार्यविधि बनाएको भन्दै बैठकमा उक्त कार्यविधिको चर्को आलोचना भएको थियो । स्रोतका अनुसार पुन नेतृत्वको कार्यदलले बनाएको कार्यविधि बैठकमा पेस भएपछि टोपबहादुर रायमाझी, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, नारायण शर्मालगायत नेताले पार्टीलाई सर्वहारावर्गको अग्रदस्ता बनाउन खोजेको हो कि संयुक्त मोर्चा बनाउन भन्ने प्रश्न राखेका थिए ।

जनसंख्याका आधारमा पार्टीको केन्द्रीय समितिमा आर्य खस ६१ वा ६२ जना, महिला सयजना, दलित २६ जना, मधेसी दलित नौजना, खस आर्य दलित १७ जना, मुस्लिम आठ वा नौजना, आदिवासी जनजाति ६० वा ६१, थारू १३ जना, मधेसी ३० जना, मधेसी दलितसहित मधेसी ३९ जना रहने गरी कार्यविधि बनाइएको छ ।

‘कथनी र करनी’ फरक देखिएको कार्यविधि अध्ययन गरेका नेताहरू बताउँछन् । अधिकांश वरिष्ठ नेताले कार्यविधि पढ्न पनि पाएका छैनन् । कार्यविधिमा नेपालमा सामन्तवाद, साम्राज्यवादविरोधी पुँजीवादी जनवादी क्रान्ति पूरा गरी समाजवादी क्रान्तिको रणनीतिक लक्ष्य हासिल गर्न आधारभूत रूपमा पार्टीलाई सर्वहारावर्गको अग्रदस्ताको अवधारणामा आधारित राखिएको दाबी गरिएको छ । तर नेताहरू पार्टी अहिले सर्वहारा वर्गको अग्रस्ताका रूपमा रहेको स्वीकार्न तयार छैनन् ।

  • १० माघ २०७३, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !