काठमाडौं । शनिबार बिहान धनुषामा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । काठमाडौंबाट यात्रु बाेकेर झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको जीप धनुषाको गणेशमान चारनाथ नगरपालिका–८ कमलापुलनजिकै बिहान दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय घनुषाले दुर्घटनामा ६ जनाको ज्यान गएको पुष्टि गरेको छ । प्रहरीका अनुसार, दुर्घटनामा संखुवासभाका नयाँराज जिमी, मोरङकी शारदा रेग्मी दाहाल, मोरङकै पह्लाह न्यौपाने, खोटाङका ज्ञानबहादुर चौहान, मोरङका खेमकुमार रानामगर र पाँचथरकी प्रनिता राईको ज्यान गएको छ ।
दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ भने अन्य ३ जना साधारण उपचारपछि घर फर्केका छन् । गम्भीर घाइते १ जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी जनाएको छ ।