हरिप्रसाद कोइराला विराटनगर । नेपालबाट भारत र समुन्द्रपारि जाने कृषि उत्पादनको निर्यात पछिल्लो चार वर्षयता लगातार ओरालो लागेको छ । निर्यातको ठूलो हिस्सा ओगटेको चियाजन्य उत्पादनको निर्यातसमेत घट्दै जाँदा व्यापार घाटासमेत बढेको छ । आव ०७०÷७१ सम्म चिया व्यापारले कुल निर्यातको २५ प्रतिशतभन्दा बढी हिस्सा ओगटेको थियो ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगरका अनुसार आव २०७०÷७१ मा नेपालबाट कुल ३७ अर्ब ४९ करोड ३२ लाख ५० हजार ९९४ रुपियाँको सामग्री तथा वस्तु निर्यात भएको थियो । त्यस्तै आव २०७१÷७२ मा साडे चार अर्ब रुपियाँको निर्यात घटेको कार्यालयले जनाएको छ ।
२०७१÷०७२ मा ३३ अर्ब २८ करोड ६६ लाख ३६ हजार ९५७ रुपियाँ बराबरको सामग्री तथा वस्तु भारत तथा समुद्रपार निकासी भएको देखिन्छ । आव २०७२÷०७३ को निर्यात झनै कमी छ । उक्त आवमा २०७१÷७२ को तुलनामा साडे सात अर्बले कम निर्यात भएको छ भने २०७०÷७१ को तुलनामा ११ अर्बले कमी भएको छ । कार्यालयले दिएको तथ्याङ्क अनुसार २०७२÷७३ मा २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपियाँको मात्र निर्यात भएको छ ।
गत आर्थिक वर्ष ०७३÷०७४ मा २६ अर्ब २९ करोड ७० लाख ५४ हजार २५९ रुपियाँको निर्यात व्यापार भएको कार्यालय प्रमुख कृष्ण रेग्मीले बताउनुभयो । यो निर्यात अघिल्लो वर्षको तुलनामा ३७ करोडले कमी हो ।
नेपालबाट भारत र तेस्रो देश निकासी हुने सामग्री तथा वस्तुमा चियाजन्य वस्तुले ठूलो हिस्सा ओगटेको छ । २०७२÷७३ मा कुल २६ अर्ब ७६ करोड ५७ लाख ८६ हजार ८७३ रुपियाँको मात्र निर्यात भएकोमा चियाजन्य वस्तु मात्र सात अर्ब १८ करोड ६१ लाख २१ हजार १८२ रुपियाँको निर्यात भएको थियो । यो निर्यात भएको कुल रुपियाँको २५ प्रतिशतभन्दा बढी हिस्सा हो तर गत आव २०७३÷७४ मा ग्रीन टि, कालो चिया, तेजपात, चिया मसला र कफीको निर्यातसमेत एक अर्बभन्दा बढीले कमी छ ।
गत आवमा छ अर्ब २७ करोड १४ लाख २३ हजार चार सय रुपियाँको चियाजन्य उत्पादन निर्यात भएको थियो । यस्तै आव २०७०÷७१ मा चियाको मात्र पाँच अर्ब ९९ करोड १६ लाख ५९ हजार ७१३ रुपियाँको निर्यात व्यापार भएको थियो । उक्त रकम कुल निर्यात व्यापारको २० प्रतिशतभन्दा कमी हो ।
अझ चियाजन्य उत्पादनको आयात हरेक वर्ष बढी रहेको रेग्मीको भनाइ छ । उहाँका अनुसार आव २०७०÷७१ मा ३७ करोड ५१ लाख ९२७ रुपियाँको चियाजन्य उत्पादन आयात गरेको पूर्वाञ्चलले चार वर्षपछि अर्थात् गत आवमा एक अर्ब १२ करोड ५२ लाख ४९ हजार ६६८ रुपियाँको चिया आयात गरेको छ । यो आयात चार वर्षअघिको तुलनामा तेब्बर हो । उहाँले भन्नुभयो, चार वर्षअघि ३७ करोड ५१ लाखको आयात गर्दा छ अर्ब ३२ करोडको निर्यात व्यापार थियो । गत आवमा छ अर्ब २७ करोडको निर्यात गर्दा आयात एक अर्ब १२ करोडको भइसकेको छ ।