प्रहरीमा राजीनामा दिनेको लर्कोः दुखकष्ट बढी सेवा न्यून

आजभोलि

काठमाडौं। हातमा राजीनामा बोकेर महानगरीय प्रहरी कार्यालय रानीपोखरी पुगेका एक प्रहरी हवल्दार भन्दै थिए, प्रहरीको  जागिर अब पुग्यो । नेपाल प्रहरीमा करिब १९ वर्ष बिताएका ती हवल्दारले पेन्सन सेवा पूरा गरेकाले राजीनामा दिएको बताएका हुन् । त्यस्तै राजीनामा गर्ने तयारीमा रहेका एक अर्का प्रहरी जवानले पनि प्रहरीमा अवसरभन्दा दःख–कष्ट बढी भएकाले राजीनामा दिने निर्णयमा पुगेको बताए । तलव–भत्ता सुविधा बढ्दैन, ती जवानले दुखेसो पोख्दै भने,‘प्रहरीमा अवसर भन्दा दुःख बढी छ, पीडा सहेर कति जागिर खानु ।’

रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालय र टेकुस्थित महानगरीय प्रहरी परिसरमा भेटिएका यी दुई प्रहरी कर्मचारीको जस्तै दुःख– पीडा सहन नसकेर जागिर छोड्नेहरूको लर्को नै लागेको छ । राज्यका प्रमुख तीन सुरक्षा सङ्गठनमध्ये जागिर छोड्नेको सङ्ख्या प्रहरीमा अधिक छ ।
सशस्त्र प्रहरी र सेनामा पनि राजीनामा दिएर जागिर छोड्ने तल्लो तहका कर्मचारीको सङ्ख्या विगतका तुलनामा आर्थिक वर्ष २०७४÷२०७५ मा बढेको पाइएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै सेवा–सुविधा र वृत्ति विकासप्रति असन्तुष्टि जनाउँदै राजीनामा गर्नेको सङ्ख्या बढेको हो ।

सुरक्षा सङ्गठनमा कार्यरत तल्लो तहका कर्मचारीहरुको तलब स्केल मासिक करिब १७/१८ हजारसम्म हुन्छ । रासन वापत न्यूनतम दैनिक एकसयदेखि दुर्गममा पाँचसयसम्म भत्ता आउँछ । यो तलवले परिवार पाल्न त परै जाओस् छाक टार्न नै समस्या परेको गुनासो उनीहरूको छ । पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द बढ्दो महँगी र न्यून तलव सुविधाका कारण सबैभन्दा बढी प्रहरी कर्मचारीहरू मर्कामा परेको बताउनुहुन्छ । प्रहरी कर्मचारीले निजामती सेवाको पियनले पाउने जति तलव सुविधा समेत नपाउने गरेका जानकारी दिनुभयो ।

प्रहरी प्रधान कार्यालयका अनुसार, चालु आर्थिक वर्षमा मात्र करिब एक हजार चार सय प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । तीमध्ये ९८७ हवल्दार, १७५ सिपाही र १६३ जना प्रहरी सहायक निरीक्षक असई छन् ।

आर्थिक वर्ष २०७१/२०७२ एकहजार ५६५ जनाले राजीनामा दिएका थिए । सो आर्थिक वर्षपछि यो आर्थिक वर्ष २०७४/२०७५ मा बढेको देखिन्छ । आर्थिक वर्ष २०७३/०७४ सालमा एक हजार एक सय जनाले राजीनामा दिएका थिए । तीमध्ये ५४५ हवल्दार, २४३ असई र १९२ प्रहरी जवान छन् ।

करिब ७३ हजार जनशक्ति रहेको प्रहरी सङ्गठनमा तल्लो तहका कर्मचारीहरुको सङ्ख्या करिब ६० हजारको हाराहारीमा रहेको छ । प्रहरी प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक शैलेश थापा स्वास्थ्य बीमाको विषयलाई लिएर सामाजिक सञ्जालमा आएको हल्लाका कारण राजीनामा दिनेको सङ्ख्या अलि बढेको बताउनुहुन्छ ।

‘यस विषयमा प्रहरी प्रधान कार्यालयले एक विज्ञप्ति जारी गरी प्रहरी कर्मचारीहरुको कुनै पनि सेवासुविधा कटौती नगरिएको स्पष्ट पारिसकेको छ’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जालमा आएका भ्रमको पछि नपर्न आग्रह गर्दछु ।’

त्यस्तै राजीनामा दिनेहरूमा पनि पेन्सन पकाएकाहरू धेरै छन् । पेन्सनरहरूको माग स्वदेश तथा विदेशमा बढ्दै गएपछि राजीनामा दिनेहरूको सङ्ख्या बढेको हुनसक्ने भनाइ उहाँको छ । विदेशमा ‘सेक्युरेटी गार्ड’ तथा बैङ्क तथा वित्तीय संस्था, नगर, गाउँपालिकालगायत कार्यालयमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका पेन्सनर भूपू प्रहरी कर्मचारीको माग हुने गरेको छ ।

सशस्त्र प्रहरी बलमा करिब ३७ हजार जनशक्ति रहेको छ । पेन्सन पकाएर राजीनामा जानेहरूमा आर्थिक वर्ष २०७४/२०७५ सालमा ४८७ भन्दा बढी छ । सशस्त्र प्रहरी बलमा पनि उमेरहद र सेवाअवधिको भन्दा पेन्सन पकाएर तथा राजीनामा जानेहरुको सङ्ख्या बढी देखिन्छ ।
सुरक्षा सङ्गठनभित्र चर्को विभेद, गुटबन्दी, चाकरी, घुसखोरी, नातावाद, असन्तुष्टि र विभेद हुने गरेका कारण पनि तल्लो तहका कर्मचारी राजीनामा जाने गरेको भनाइ पूर्वप्रहरी अधिकारीहरुको छ । ३३ किलो सुन काण्डले झनै लज्जित बनायो पूर्वप्रहरी निरीक्षक जगनाथ रिमालले भन्नुभयो,‘प्रहरी हुँ भनेर शीर ठाँडो पारेर हिँड्न पनि समस्या छ ।’

प्रहरी प्रधान कार्यालयका अनुसार, मुलुकका ३० वटा गाउँपालिका र नगरपालिकामा प्रहरी कार्यालय स्थापना हुन सकेको छैन । देशभर प्रहरीको माग बढेपछि सरकारले जवानदेखि एसएसपीसम्म करिब तीनहजार नयाँ दरवन्दी पनि थप गरेको छ ।
गोरखापत्र अनलाइनबाट

  • २४ असार २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !