सन्दर्भ, अन्तर्राष्ट्रिय युवा दिवस : कृषिमा युवा अगुवाई

आजभोलि

लोकराज अवस्थी

विषय प्रवेश
संयुक्त राष्ट्र संघले सन २०१८ को अन्तर्राष्ट्रिय युवा दिवसका लागि “युवाको लागि सुरक्षित स्थान (नेतृत्व) भन्ने मूल नारा तय गरेको छ । नेपालको सन्र्दभवमा कृषि क्रान्ति वा विकासका लागि युवासँग सहकार्य तथा युवाको सहभागिता ज्वलन्त विषय हो । संयुक्त राष्ट्र संघले आउँदो पुस्ताका लागि गरीबीबाट मुक्तिका लागि युवाको नेतृत्व रोजेको छ । विश्वभरी सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रुपमा मनाइदै आइरहेको छ । नेपालमा पनि सन् २००४ बाट युवा दिवस मनाउन थालिएको हो ।

राष्ट्रिय जनगणना २०६८ को अनुसार १६ देखि ४० वर्षसम्मका युवाको जनसंख्या १ करोड ६ लाख ९० हजार रहेको छ । जनु कूल जनसंख्याको ४०.४३ प्रतिशत हो । नेपालको कूल जनसंख्या मध्ये ४९ प्रतिशत युवा १६ देखि २५ वर्षसम्मका रहेका छन् । नेपाल नमूना सर्वेक्षणले नेपालमा पूर्ण बेरोजगार जनसंख्या ११.४ प्रतिशत मात्रै देखाए पनि अर्धबेरोजगार सहित जोड्दा ३९ प्रतिशत व्यक्ति बेरोजगार रहेको देखाएको छ ।

श्रम मन्त्रालयको तथ्यांक अनुसार प्रत्येक दिन कामका लागि मात्र १५ सय युवा विदेश जान्छन भने नेपाल फर्कनेको संख्या ४ सयदेखि ५ सय मात्र रहको छ । नेपालमा प्रत्येक वर्ष ४ लाख ५० हजार नव युवा रोजगारीका लागि श्रम बजारमा प्रबेश गर्दछन् । जसमध्ये ३ लाख भन्दा बढी कामका लागि विदेश जाने गर्दछन् । स्वदेशमा रहेका मध्ये १० प्रतिशतले मात्र रोजगारी पाउँछन् ।

कषिसँग जोडिएका सवाल
नेपालमा ८३ प्रतिशत नेपालीको मुख्य आयश्रोत कृषि हो । तर ६० प्रतिशत कृषकको उत्पादन वार्षिक उपभोगका लागि अपुगरहेको छ । केबल २३ प्रतिशत कृषकले गरेको उत्पादनले मात्र उनीहरुलाई वर्षभरी खानलाई पुगेको राष्ट्रिय कृषि गणना २०६८ ले जनाएको छ । यसले कृषिमा लगानी धेरै तर उत्पादन कम रहेको देखाउँछ । भएको पाइन्छ । देशको ठूलो मानवीय जनशक्ति कृषिमा संलग्न छ, तर परिणाम भने सन्तोषजनक छैन्

राष्ट्रिय कृषि गणना २०६८ का अनुसार नेपालमा ३८ लाख ३१ हजार कृषक परिवार छन । जसमा १ लाख १६ हजार खेतीपाती नगरेका कृषक परिवार पाइएको छ । उनीहरुले कुनै व्यवसायमा संलग्न नभएको कारण कृषि पेशा उल्ल्लेख गरेका छन् । जसमा सुकुम्वासी, मजदुर तथा कमैया रहेका छन् । १० वर्ष अघिको तुुलनामा कृषक परिवारको संख्यामा ४ लाख ६७ हजारले वृद्धि भएको देखिएको छ ।

कृषिले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ । र, कृषिले कूल गाह्रस्थ उत्पादनमा करिब ३३ प्रतिशत योगदान दिएको छ । तथापी कृषक परिवारले कूल खेतीयोग्य जमिन मध्ये २५ लाख २५ हजार हेक्टर मात्र उपयोग गरेको पाइन्छ ।

नेपालमा गएको १० वर्षमा नगदेवाली उत्पादनमा ह्रास आएको छ । जसमा अन्नवालीमा ९ प्रतिशत उत्पादन घटेको छ । धानवाली ६ प्रतिशत, गहुँवाली ६ प्रतिशत, मकै १२ प्रतिशत, कोदो १९ प्रतिशत तथा दालमा २१ प्रतिशतले उत्पादन घटेका राष्ट्रिय कृषि गणनाले जनाएको छ । नेपाल कृषि उत्पादनमा अझ दिनदिनै परनिर्भरता बन्दै गइरहेको छ । १० वर्ष अघिको तुलनामा करिव १ लाख २९ हजार हेक्टर खेतीयोग्य जमिन कमी देखिएको छ । यसरी खेतवारी बाँझो हुँदै जानु र उत्पादनमा कमी आउँदै गइरहेको अवस्थामा कृषिमा युवाको सहभागिता अनिवार्य बन्दै गइरहेको छ ।

कृषिमा समस्या
नेपालको सन्दर्भमा कम लगानी आयआर्जनको माध्यम कृषि नै हो । तर परम्परागत रुपमा रहेको कृषि व्यवसाय प्राणाली उत्पादन तथा व्यवसायलाई आर्कषक बनाउन सकिएको छ । नेपालमा कृषिजन्य भूमि बाँझो हुँदै गइरहेको छ । सँगै कृषिमा काम गर्ने मजदुरको अभाव पनि बढ्दै गइरहेको छ । एकातिर नेपाली कृषिजन्य भूमि सुख्खा बन्दै गइरहेको छ भने अर्कोतिर नेपाली जनशिक्त विदेसिरइरहेको छ । जसका कारण कृषिमा साचेजस्तो व्यसायीकरण हुनसकेको छैन् ।

नेपालको कृषिमा रहेका प्रमुख चुनौति मध्ये कृषिलाई हेर्ने बुझ्ने अवधारणा एक हो । नयाँ पिढीले कृषिलाई व्यवसाय भन्दा पनि फोहरी कामको रुपमा हेरिरहेको पाइन्छ । कृषिलाई तल्लोस्तरको कामको रुपमा लिने गरेका छन् । कृषि सर्वेक्षणका अनुसार युवा कृषिमा सहभागी भन्दा पनि बुवाबाजेले गरिआएको कामलाई निरन्तरता दिइराखेको जनाएको छ । कृषिमा युवा सहभागिता, कृषिमा लगानी, कृषिको बजारीकरण तथा व्यवसायीकरण अहिलेका मुख्य समस्याको रुपमा देखा परेका छन् ।

विगतको भन्दा कृषिमा लगानी बढे पनि यसको व्यवसायीकरण तथा बजारीकरण प्रभावकारी रुपमा हुन सकेको छैन् । पहिलो कुरा कृषिलाई सम्मानित पेशाका रुपमा लागू गर्न सकिएको छैन । अर्को कुरा उत्पादित बस्तुको उचित बजारीकरण हुन सकेको छैन् । कृषि र बजारबीच ठूलो खाडल रहेको छ । कालाबजारीयाहरुले कृषक र ग्राहकलाई मार्कामा पारेका छन् । कृषिको विकासँगै कृषिमा राजनीतिक पूर्वाग्रह जोडिदै आएको छ । कृषि अनुदान, व्यवस्थापन, नीति निर्माण तथा सहुलियतमा पनि राजनीतिक प्रभाव बढ्दै गएको छ । कारणतः व्यवसाय गर्न चाहाने युवा तथा कृषकले व्यवसाय गर्न पाएका छैनन् ।

सरकारले कृषिका लागि बनाएका नीति, कार्यक्रम, योजना तथा बजेट प्रभावकारी हुन सकीराखेको छैन् । र, भए गरेका कार्यक्रम तथा बजेट पनि सम्बन्धित निकायसम्म पुग्न सकेको छैन । कृषकहरु कृषिमा भएको बजेट तथा नीति, कार्यक्रम र योजना बारेमा अनभिज्ञ छन् । कृषक, सरकार तथा नीजि क्षेत्रको बीचमा समन्वयको अभाव रहेको छ । व्यवसायलाई प्रबद्र्धधन तथा सम्बद्र्धन गर्ने कार्यक्रमहरु ग्रामीण तहसम्म पुग्न सकेका छैनन् । युवामुखी कार्यक्रमहरु नीति तथा कार्यक्रममा मात्र सिमित छन् । कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरणमा भन्दा पनि कृषिलाई परम्परागत तरिकाले चलाउन बाध्य हुनु अर्को समस्या हो । अतः कृषिबाट कम आम्दानी हुने र घरपरिवार पाल्न बैकल्पिक उपाय खोज्नु पर्ने बाध्यताले युवाहरु कृषिमा अर्कार्षित हुन सकेका छैनन् ।

देशको कुल ग्राहस्थ्य उत्पादनको एक तिहाइ भन्दा बढी कृषि क्षेत्रबाट प्राप्त हुने र दुइ तिहाइ भन्दा बढी जनसंख्या रोजगारी तथा जिविकोपार्जनका लागि यस क्षेत्रमा निर्भर रहेपनि देशमा खाद्य सुरक्षा नभएकोले नेपालको अर्थतन्त्र र खाद्य सुरक्षा प्राप्त गर्नको लागि कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको स्पष्ट छ । युवाहरुलाई कृषि क्षेत्रमा आकर्षित गरी कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गर्ने र कृषि क्षेत्रको व्यवसायीकरणलाई सरकारले जोड दिनु आवश्यक रहेको छ ।

आगामी कार्यदिशा
नेपालको पछिल्लो युवा अवस्थालाई हेर्दा युवाहरु राजनीति भन्दा आफ्नो भविश्यलाई बढी महत्व दिदैं आएका छन् । राजनीतिक कुनै वाद र दर्शन भन्दा पनि कसरी आफू व्यवसायिक बन्ने र कसरी सक्षम बन्नेतिर लागेको छन् । क्याम्पस तथा विश्वविद्यालयपछि उ आफ्नो भविश्यको बाटो समात्न थालेका छन् । नयाँ पुस्ताले शिक्षालाई आत्मनिर्भरसँग जोडेर हेर्न थालेको छ । राजनीतिक भन्दा पनि आयआर्जनसँग बढी अभ्यस्त हुँदै आएको छ । यसकारण अब युवालाई कसरी कृषिसँगै राष्ट्रिय विकासमा सहभागी बनाइन्छ । त्यसले नै अबको सम्पन्नताको बाटो तय गर्दछ । त्यसले नै नेपाली समाज परिवर्तन तथा नयाँ नेपालको आधारशिला तयार गर्दछ ।

नेपाल अहिले इतिहासकै जनसाङ्खिक स्वर्णिम युगमा छ । सयौ वर्षपछि कूल जनसंख्या लगभग आधाप्रतिशत जनसंख्या युवाले ओगटेको छ । सरकारले कृषि उत्पादन बृद्धिका लागि युवाको स्रोत साधनमा बृद्धी तथा प्रभावकारिताका लागि युवालाई जिम्मेवारी दिनुपर्छ । दिगो कृषि उत्पादन तथा व्यवसायकरणका लागी नयाँ बजार र रोजगारीका नयाँ अवसरहरुमा लगानी बढाउनु पर्छ ।

सँगसँगै नयाँ आधुनिक प्रविधि, नयाँ अन्वषण, स्रोत परीचालन, उर्जाको प्रभावकारिताका लागि नयाँ नीति बनाउनुपर्छ । स्थानीय सरकारदेखि संघीय सरकार सबैले कृषि विकासमा जोड दिनुपर्छ । जसले युवालाई स्थानीयस्तरमै रोजगार सिर्जना गर्दछ । कृषिमा आधारित उत्तम रोजगारी र जीवन जीउनका लागि सरकारले युवा लक्षित कार्यक्रमहरुलाई प्राथमिकता भित्र पार्नु पर्छ । समग्रमा भन्दा कृषि क्रान्तिको अगुवाई युवालाई दिनुपर्छ ।

युवाको नेतृत्वमा मात्र नेपाल सरकारले तय गरेको नारा “सुखी नेपाली, सम्बृद्ध नेपाल” को लक्ष्य पूरा हुन्छ । युवाको नेतृत्व तथा सहभागिता विना नेपालको कृषि क्रान्ति नारामा मात्र सिमिति रहन्छ । कृषि नेपालको सम्बृद्धिको आधारशीला भएकाले कृषिमा जोड र युवा नेतृत्वसँगसँगै आउँछन् । जसल द्रुत गतिमा कृषि मार्फत आर्थिक सम्पन्नतासँगै सम्बृद्धि ल्याउँछ । तर यसका लागि सरकारले उचित वातावरण तय गरिदिनुपर्छ । युवासँग भएको श्रम, सीप, लगानी तथा समय सरकारले सदुपयोग गर्नुपर्छ । त्यसो भएमा, युवाको नेतृत्वमा हाम्रै पालामा विकसित र सम्बृद्ध नेपाल सम्भव छ ।

(लेखक युवा विकासका जानकार हुन् ।)

  • २७ श्रावण २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !