बिम्स्टेकमा बुद्ध कनेक्सन

आजभोलि

बिम्स्टेकमा बुद्ध कनेक्सन

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा बुद्ध जन्मभूमिको विशेष महत्व उजागर गरिएको छ ।  सम्मेलनको उद्घाटन सत्रमा अध्यक्षीय मन्तव्य दिँदै आयोजक राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई स्वागत गर्ने क्रममा ‘बुद्धको देशमा स्वागत गर्दछु’ भनी उल्लेख गर्नुभएको थियो । 

आफ्नो सम्बोधनका क्रममा नेपालको छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० मा बिम्स्टेकको सदस्य राष्ट्रका बीचमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको आयोजना गर्ने जानकारी दिएर बुद्धत्वको महत्वबारे जोड दिनुभएको थियो ।
उहाँले भारतको नलान्दा विश्वविद्यालयलाई बिम्स्टेक राष्ट्रका भाषा संस्कृति अध्ययन केन्द्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरी यस क्षेत्रमा बौद्ध दर्शनको प्राज्ञिक उन्नयनका लागि प्राथमिकता दिनुभयो । उक्त विश्वविद्यालय बौद्ध साहित्य र दर्शनका लागि अध्ययन हुने प्राचीन संस्था मानिन्छ ।
सम्मेलनका लागि नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्त बुद्धको जन्मस्थल लुम्बिनी पुगेर दर्शन तथा पूजा गर्नुभएको थियो । यसले लुम्बिनी र बौद्ध दर्शनको महत्वका साथै नेपालको धार्मिक र पर्यटकीय महत्वमा अभिवृद्धि भएको पाइएको छ । बिम्स्टेकका सदस्य राष्ट्रमध्ये म्यान्मामा ८८, श्रीलङ्का ७५ र थाइल्याण्डमा ९० प्रतिशत(करीब) बौद्ध धर्मावलम्बी छन् ।
म्यान्माका विदेशमन्त्री आङ साङ सुकीकी बौद्ध गुरुआमा काठमाडौँको नघलस्थित श्रीघ विहारका प्रमुख धम्मावती गुरुआमा हुनुहुन्छ, जसलाई सुकीले सन् २०१४ मा नेपाल भ्रमणका बेला भेट गर्नुभएको थियो । सोही समयमा उहाँले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको थियो ।
सम्मेलनकै अवसरमा श्रीलङ्काली राष्ट्रपति मैत्रीपाल सिरिसेना भदौ १६ गते लुम्बिनी जानुहुनेछ । त्यस्तै उहाँ काठमाडौँको चाबहिलस्थित करीब दुई हजार ३०० वर्ष पुरानो बौद्ध चैत्य अर्थात् ‘धन्दो चैत्य’ दर्शनका लागि भदौ १७ गते जाने भएपछि त्यहाँ सरसफाइ र तयारी गरिएको छ ।
चारुमती बुद्धिष्ट मिशन नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्मका अनुसार श्रीलङ्काका राष्ट्रपति सिरिसेनालाई सम्मानसहित चैत्यको प्रतिमा उपहार प्रदान गर्ने कार्यक्रम तय भएको छ । सम्राट् अशोकले आफ्ना छोरा महेन्द्रलाई श्रीलङ्का र छोरी चारुमतीलाई बौद्धधर्मको प्रचारका लागि धर्मदूतका रुपमा नेपाल पठाएको इतिहास पाइन्छ । राष्ट्रपति सिरिसेनालाई स्वयम्भूस्थित आनन्दकुटी विहारमा श्रीलङ्का सरकारको सहयोगमा पुनःनिर्माण गर्न लागिएको विहारको निरीक्षण तथा पूजाका लागि भ्रमण तयारी गरिएको विहारले जनाएको छ ।
सम्मेलनका लागि सरकारले तयार गरेको केही भनाइमध्ये ‘बुद्धजन्मभूमि नेपालमा हार्दिक स्वागत छ’ भन्ने पनि छ । यस्तै ‘सगरमाथाको देश नेपालमा स्वागत छ’ भन्ने भनाइ पनि सम्मेलनका लागि तय भएको छ । यसरी नेपालले सम्मेलनको नारामा नै धार्मिक–भौगोलिक पर्यटन प्रवद्र्धन गर्ने ध्येय राखेको छ

  • १५ भाद्र २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !