काठमाडौं । हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज देशभर हर्ष उल्लासका साथ मनाइएको छ । ब्रतालु महिलाले पतिको दिर्घायुको कमना गर्दै पाठपूजा गरेका छन् । साथै, नाचगानका साथ नाचेर रमाइलो समेत गरेका छन् । देशभरीका शिावलयहरुमा बिहानैदेखि ठूलो भिड रहेको थियो ।
पाशुपति क्षेत्रमा पुगेका हिन्दू नारीहरुले पतिको दीर्घायुको कामनामात्र गरेनन्, अविवाहितले सुयोग्य बर पाउने कामनासमेत गरे ।
हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पति पाऊँ भनी निराहार तपस्या गरेको र भगवान् शिवलाई पतिकारुपमा पाएको धार्मिक विश्वास रहिआएको छ ।
तीजमा महिलाहरुले रातो पहिरनलाई सौभाग्यको प्रतीकस्वरुपमा लिन्छन् । हरियो चुरापोते भाग्यको रुपमा लिने गर्दछन् । हिन्दू नारीहरुले तीजगीतमार्फत् आफ्ना भावना अभिव्यक्त गर्ने गर्दछन् ।
समयसँगै तीजमा विकृति तथा विसंगति पनि भित्रिएको छ । तीजको नाममा जथाभावी तडकभडक गर्ने, महंगो लूगा लगाउने तथा भोजभतेरमा खर्च गर्ने चलनको विकास भएको छ । यसले धार्मिक मान्यता भन्दा पनि सामाजिक विकृतिको रुप लिदै गएको छ । यसले गर्दा परम्परा नै भत्किने खतरा बढ्दै गएको छ ।