संविधानको कागजी रामराज्य देखाएर दलाल पूजीवादी साम्राज्य चलाइरहेका छन् !

आजभोलि

गोर्खाली उदय

राजाको अर्धसामन्तवादको विकल्प दलाल पूँजीवाद थिएन । यस्तो प्रकारको दलाल पूँजीकै चकचकी रहने हो भने स्वभाविकरुपमा योभन्दा राजाकै अर्ध सामन्तवाद प्रगतिशील हो भनेर कहिल्यै हार्न नपर्ने बहस गर्न सकिन्छ । अहिलेको कथित् बाम सरकारले काम गर्न सकेन भन्नुको अर्थ उत्पादनका र विकास निर्माणका क्षेत्रमा काम भएन, राष्ट्रिय पूँजीको विकास भएन, उद्योगधन्दा खुल्न सकेनन्, श्रम गरेर खाने, अत्यन्त सिमित आय भएकाहरूको जीविका झन्झन् कष्टकर भयो, रोजगार र स्वआर्जनका सम्भावना घट्दै गए, दलाल पूँजीवाद हावी भयो भनेको हो । संविधानमा यो लेखिएको छ र ऊ लेखिएको छ भनेर दलाल पूँजीवादका मतियारहरूले बहसलाई ढाकछोप गर्न सक्ने अवस्था देखिँदैन ।

सवाल उठ्छ, को हो दलाल पूँजीवादको संरक्षक जस्ले बहसलाई अन्यत्र माडिरहेछ ? कुरा सिधा र प्रष्ट छ, नेपालका सबैभन्दा ठूला दलाल पूँजीपतिहरू कम्युनिष्टको नकाव लगाएका भूईफुट्टाहरू छन् । जस्ले संविधानको कागजी रामराज्य देखाएर दलाल पूजीवादी साम्राज्य चलाइरहेका छन् । आफूलाई सर्वाहारा कसरी कम्युनिष्ट भन्नेहरूको ठूलो समूह कसरी देशको अर्थतन्त्रलाई आफ्नो मुट्ठीमा राख्नसक्ने हैसियतको दलाल पूँजीपतिमा फेरियो र ? अव यो विषमा छानविन र बहसको आवश्यकता छ ।

सोझो भाषामाभन्दा कुनै कानुनी हैसियत नभएको, आयको स्रोत खुलाउन नसक्ने, लुकाएर वा विदेशी बैंकमा राख्नुपर्ने, त्यसलाई कुनै उद्योग–व्यवसाय वा उत्पादनको क्षेत्रमा लगाउन नमिल्ने धनलाई दलाल पूँजी भनिन्छ । यस्तो पूँजी सोहोर्नेहरूलाई दलाल पूँजीपति र त्यस्तो आर्थिक संरचनाको संरक्षण दिने शासकीय संरचनालाई दलाल पूँजीवाद भनिन्छ । नेपालमा २०४७ सालको राजनीतिक परिवर्तन अगाडिको राजाको पञ्चायति शाससनकालमा मिश्रित अर्थव्यवस्था थियो । त्यतिखेर ठूलो संख्यामा राज्यले चलाएका उद्योग, कलकारखानाहरू थिए र ती उद्योग, कलकारखानामा लाखौं नेपाललीले रोजगारी पाएका थिए ।

बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि पूजीवादी आदर्श बोकेको नेपाली काँग्रेसको सरकारले निजिकरणको नाउँमा पूर्वव्यवस्थाले खडा गरेका सबै सरकारी उद्योगधन्दा बेचविखन ग¥यो । सरकारी उद्योगधन्दा, कलकारखाना, संस्थान/प्रतिष्ठान आदिको नीजिकरणबाट आएको कमिशन, शासनसञ्चालनकाक्रममा गरेका भ्रष्टाचार र अनियमितताले तत्कालिन अवस्थामा काँग्रेसको ठूलै समूहले अकुत सम्पत्ति जोडेको तथ्य सबैका अगाडि छ ।

अनियमित तरिकाले सम्पत्ति जोड्ने काँग्रेसका केही नेताहरूले त्यो सम्पत्ति विदेशमा लुकाएको, छोराछोरी र आफन्तहरूको रेखदेखमा व्यापार व्यवसायमा लगानी गरेको देखिन्छ । तर बाँकी ठूलै समूहले नेपालभित्रै यातायात, हवाई क्षेत्र, हाइड्रोपावर लगायतका विभिन्न क्षेत्रमा त्यो सम्पत्ति लगानी गरेको पाइन्छ । यद्यपि त्यो अबैध तरिकाले कमाएकै किन नहोस् । काँग्रेसका नेताहरूलाई त्यसो गर्न कसरी पनि सहज भयो भने उनीहरू हुनेखाने वर्गबाट राजनीतिमा आएका थिए । आफ्नो व्यक्तिगत पूँजीसंग राज्यलाई ठगेको पूँजी मिसाउँन उनीहरूलाई कुनै अप्ठ्यारो परेन । त्यो सहजताले गर्दा काँग्रेसीहरूले जम्मा पारेको पूँजीको केही अँशबाहेक ठूलो रकम उत्पादनकै क्षेत्रमा लाग्यो । त्यसैले त्यो दलाल पूँजीमा परिणत हुन पाएन ।

विपन्न परिवारबाट आएको, सर्वाहाराकृत भएको र विपन्नहरूकै लागि राजनीति गरेको अनेकौं पाखण्डहरूको पर्दाफास हुने डरले कम्युनिष्टहरूको हकमा लुकाउनुबाहेक अरु कुनै विकल्प छैन । २०४७ देखि २०६३ सम्म आँसिकरुपमा र ०६३ यता एकछत्ररुपमा शाससन गर्दै आएका कम्युनिष्टहरूले नेपाली काँग्रेसलेभन्दा कयौं गुना ठूला आर्थिक अपचलन र अनियमितताका अवसरहरू पाए । तत्कालिन माओवादी शान्ति प्रक्रियामा आउँदा वर्षौदेखि विकास निर्माणका लागि छुट्याइएको रकम फ्रिज भएर बसेको थियो । त्यो रकम र शान्तिप्रक्रियालाई टुँगोमा पुगोस् भनेर विदेशी राष्ट्रहरूले दिएको रकम शान्ति प्रक्रियालाई बहाना बनाएर कम्युनिष्टहरूले कुम्ल्याए ।

नेपालको इतिहासमा सबैभन्दा ठूलो घोटालाको रुपमा त्यो अनियमिततालाई लिइन्छ । त्यो अपराध लुकाउन अनुगमन, नियमन र छानविन गर्ने अख्तियार लगायतका निकायमा कम्युनिष्टहरूले आफ्ना मान्छे वा शर्तबन्दक मान्छेलाई खोजीखोजी नियुक्ति गरे । त्यति हुँदाहुँदै पनि केही व्यक्ति र समूहले अख्तियार, अदालत लगायतका निकायमा गरेको उजुरीलाई आफ्नो सबै शक्ति प्रयोग गरेर निष्क्रिय पारि दिए ।

करिव दश वर्षको शान्तिप्रक्रियाको नाउँमा मुलुकको सङ्क्रमणकालमा बिसौं अर्व राष्ट्रको सम्पत्ति रकम कम्युािष्टहरूको हातमा पुग्यो । त्यो रकम अहिले अवैध धनको रुपमा, लुकाइएको धनको रुपमा र सार दलाल पूँजीको रुपमा गुप्तवासमा छ । त्यसको एउटा सानो नगन्य अँश कम्युनिष्टहरूको जीवनशैलीमा, मन्त्री हुँदा सम्पत्ति विवरणमा, तिनीहरूको राजकुमार, राजकुमारी र आफन्तहरूको महल, मल र लगानीकोरुपमा बाहिर देखिंदा पनि ठूलै हंगामा भए पछि दलाल पूजीको सँकलक कम्युनिष्टहरू झस्किएका छन् ।

सूचना प्रविधिको पहुँच, जनताको चेतनास्तरमा भएको वृद्धि, अरव लगायत विदेशमा गएर पसिना नबगाई जीवविका नचल्ने अवस्थाबाट आजित लाखौं युवा समूहको चासो र निगरानी आदि पछिल्ला विकसित वस्तुस्थितिले कम्युनिष्टहरूको हातमा पुगेको धन झनझन अँध्यारो सुरुङ्गतिर पुगेु गुप्तवास बस्ने निश्चित ।

कम्युनिष्टहरूको हातमा पुगेको अर्को ठूलो धनराशी महाभुकम्पको लागि उठेको रकम हो । विदेशी दातृ निकाय, विदेशमा रहेका नेपाली, स्वदेशका उद्योगी तथा व्यापारी, जनसमुदाय, राष्ट्रको केन्द्रीय कोष आदि क्षेत्रबाट पुनर्निर्माण र राहतका लागि जुटेको बिसौं खर्व रकममा प्रत्यक्ष कम्युनिष्टहरूले कब्जा जमाए । पुनर्निर्माणको अवस्था कस्तो छ रु काठमाडौ।का सडक, सरकारी कार्यालय, मठमन्दिर, रानी पोखरी र धराहरा हेरे पुग्छ । जवकि प्रत्येक नेपालीलाई दामाशाहीले बाँटवरा लगाएको भए पनि करोड करोड रकम पुग्थ्यो । खर्च भएको देखिएको घर भत्किएकाहरूले साँढे तीनलाखको दरले केही करोडबाहेक अरु रकम हिनामिना भएको छ । घर भत्किएका केही पीडितहरूले अँझै राहत नपाएको समाचार आई रहेको छ । कहाँ गयो त्यत्रो धन राशी र? केही दिन अगाडि पुस्पकमल दाहालले केपीवली १४ वर्ष कारावास बसेको र आफू १४ वर्ष गुप्तवास बसेको बयान गरिरहँदा म भने शान्ति प्रक्रिया र महाभुकम्पको नाउँमा कसैले लुटेको खर्वौं रुपैंया कहाँ गुप्तवास बसेको होला भनेर चिन्ता गर्दै थिएँ । त्यो धनराशी पनि दलाल पूँजीको रुपमा गुप्तवास भएको छ ।

निश्चितरुपमा शान्तिप्रक्रिया, सङ्क्रमणकाल र महाभूकम्पको अवधीमा कम्युनिष्टहरूले एकलौटी चलाए भन्नु गलत हो । तर २०६३ यति प्रधानमन्त्री र मालदार मन्त्रालयको नेतृत्वको हिसाव गर्दा, बजेटमा पहुँच र परिचालन गर्ने व्यक्तिहरूको आँकडा निकाल्दा त्यसको ठूलो हिस्सा सर्वहारा कम्युनिष्टहरूको हातमा पुगेर दलाल पूँजीको रुपमा गुप्तवास बसेको छ । त्यसैले नेपालका कथित कम्युनिष्टहरू दलाल पूजीपति हुन् । तिनहिरूले लुकाएको गाडधन फिर्ता आएर उत्पादनको क्षेत्रमा लगानी नहुँदासम्म नेपालको समृद्धि मजाक र ठट्टाकोरुपमा सिमित हुनेछ ।

(माथि उल्लेखित लेखकका निजी विचार हुन्)

  • २७ कार्तिक २०७५, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !