ब्याजदर बढाउने होडबाजीमा लागिरहेका वाणिज्य बैंकहरूलाई राष्ट्रबैंकले अकुंश लगाएको छ । अब मनपरी रूपमा बैंकहरूले ब्याजदर बढाउन नपाउने भएका छन् ।
राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा सीमा तोकेको छ । बैंकहरुले बचत खातामा अधिकतम साढे ६ प्रतिशत र व्यक्तिगत मुद्दतीमा ९.२५ प्रतिशत ब्याजदर तोकिएको छ । साथै संस्थागत मुद्दतीमा साढे ८ प्रतिशतको सीमा राष्ट्रबैंकले तोकेको छ ।
यसअघि बैंकर्स संघले बचतमा ७ प्रतिशत तथा संस्थागत मुद्दतीमा ९ प्रतिशतको उच्चतम सीमा तोकेको थियो।
मुद्रास्फितिको दरअनुसार बचत खाताको ब्याजदरमा सीमा कायम राख्न तथा बचतमाभन्दा केही बढी दिनेगरी मुद्दतीको ब्याजदरलाई स्थिर राख्न बैंकहरुलाई नै सहमति गराउनुपर्ने भन्दै मुद्रा तथा पुँजी बजार समितिले सुझाव दिएसँगै भोलिपल्ट यस्तो सहमति गराइएको हो।