काठमाडौं , रामबहादुर बम्जनको आश्रम भित्रै अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीको दावी रहेको छ। गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक लगाएत इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीद्वारा बम्जनको आश्रममा छापा मारिएको हो।
आश्रमका प्रत्यक्षदर्शीले नुवाकोटका अनुयायी सञ्चलाल वाइबाको बाँडेगाउँकै आश्रम भित्रै हत्यापछि नुन हालेर खाडलमा पुरेको जानकारी दिए। ती अनुयायीले जानकारी दिएपछि सञ्चलालका छोरा महेन्द्रले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र मकवानपुरमा निवेदन दिएका हुन्। सञ्चलाल पछि २०७१ चैत १५ मा परिवारको सम्पर्कमा आएका थिए।
ती अनुयायीको जानकारी अनुसार सीआईबी सहितको टोलीले सञ्चलालको हत्या भएको भनि आश्रमको सम्भावित स्थान उत्खनन गरेको थियो। अनुयायीका अनुसार खाडल उत्खनन गर्दा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेका छन्। तर, खाडलबाट शवको कुनै अवशेष प्रहरीले फेला पारेन्। ‘शव निकालेर जलाइएको हुन सक्छ’, अनुसन्धानमा खटिएका प्रहरी अधिकृत भन्छन्, ‘शवको अवशेष नभेटिए पनि प्रत्यक्षदर्शीले दिएको बयानका आधारमै यस घटनाका प्रारम्भिक सबुत मिलेका छन्।’
तर अनुसन्धान प्रभावित हुने भएकाले संकलित प्रमाणमा प्रहरीले अहिले सबै कुरा बताएको छैन । प्रहरीले अनुसन्धान टुंगोमा पुर्याए पछि मात्रै यस बारेमा बताउने प्रतिकृया दिएका छन्। प्रहरीले आश्रमका १४ जनासँग सोधपुछ गरेका हुन्। तीमध्ये सात जना सञ्चलालको हत्याका बेला आश्रमभित्रै रहेको अनुसन्धानबाट खुलेको छ।