जनकपुर।उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादबले कठालो समातेर बाँकी अधिकार लिने चेतावनी दिएका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष समेत रहेका उनले आन्दोलनबाट प्राप्त अधिकारको रक्षा गर्नसकेमा अधिकार कठालो समातेर पनि लिनसक्ने विश्वास व्यक्त गरेका हुन् ।
फोरमद्धारा शुक्रवार जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट प्राप्त संघीयता र गणतन्त्र समाप्त पार्न षड्यन्त्र भइरहेकोमा दुःख व्यक्त गरेका छन् । उनले अहिले प्राप्त उपलब्धी रक्षा गर्ने र बाँकी अधिकारका लागि संघर्ष जारी राख्ने बताए । उनले संघीयता र गणतन्त्र संस्थागत गर्नकै लागि फोरम तीनै तहको सरकारमा सहभागी भएको पनि बताए ।
‘प्राप्त उपलब्धि रक्षा गर्न नसके बाँकी अधिकार प्राप्त गर्न सकिदैन’, उनले भने, ‘यदि पाएको संघीयता र गणतन्त्र जोगाउन नसकिए पुनः कडा र लामो संघर्ष गर्नुपर्छ ।’ उनले नेपाली काँग्रेस र नेकपाले पनि संघीयता र गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाए । उनले प्राप्त अधिकार गुम्न नदिन र संविधान संशोधन गराउन अझै संघर्षमै रहेको पनि बताए ।
मन्त्री यादबले संघीयताकै कारण प्रदेश २ मा मधेसी दलको सरकार बनेको दावी पनि गरेका छन् । उनले भने, ‘देशमा संघीयता नआएको भए मधेसीका छोरा राष्ट्रपति, उपराष्ट्रपति र मुख्यमन्त्री बन्न सक्दैन्थ्यो । त्यसैले पनि संघीयता जोगाउन हरेक मधेसीले भुमिका खेल्नुपर्छ ।’ उनले काँग्रेस र नेकपाबाट देश अगाडी बढ्न नसक्ने भन्दै फोरम नेपाल मात्र एउटा वैकल्पिक पार्टी बनेको दावी गरे । उनले काँग्रेस र कम्युनिष्ट एजेण्डा विहिन पार्टी भइरहेको पनि आरोप लगाए ।
उनले मधेसमा गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्नुपर्ने पनि बताए । देशमा ठुला ठुला राजनीतिक परिवर्तन भइसकेकोले अब सामाजिक र आर्थिक परिवर्तनका लागि लड्नुपर्ने आवश्यकता औल्याए । उनले सामाजिक र आर्थिक आन्दोलनले मात्र मधेसबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य हुने पनि बताए । उनले पार्टी प्रवेशले ठुलो शक्ति प्राप्त भएको पनि उनको भनाई थियो ।
कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउतले संघीय सरकारले संविधान संशोधन गर्ने विश्वास व्यक्त गरेका छन् । उनले उनले संविधान संशोधन गरेर विभेदमा परेका हरेक समुदायको अपनत्व गराउनुको विकल्प नभएको बताए । उनले प्रदेश सरकारले महिलालाई बराबर अधिकार दिन लागेको बताए ।
उनले भने, ‘अब महिलालाई अधिकार र सम्मान पाउन ५० प्रतिशत आरक्षणको व्यवस्था गरेका छौं ।’ उनले माघ १ बाट प्रदेश २ मा जन्मिने हरेक छोरीलाई विमा गर्ने कार्यक्रम ल्याउन लगेको भन्दै अब हरेक छोरी १ लाख रुपैया लिएर जन्मिने पनि बताए । उनले पार्टीमा प्रवेश गरेका नविन यादब लगायतलाई शुभकामना र बधाई पनि दिएका थिए ।