निगमले काठमाडौँ–नयाँ दिल्ली दैनिक उडान गर्ने

आजभोलि

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतको नयाँ दिल्लीमा दैनिक एक उडान थाल्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सेप्टेम्बर महिनाका लागि सार्वजनिक गरेको अन्तर्राष्ट्रिय उडान तालिकाअनुसार अब काठमाडौँ–नयाँ दिल्ली दैनिक उडान हुने भएको छ ।

नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ भने भारतको राष्ट्रिय ध्वजावाहक एयर इण्डियाले यो रुटमा साताका तीन दिन (आइतबार, मङ्गलबार र शुक्रबार) उडान अनुमति पाएको छ । एयर बबल सम्झौताअनुसार यसअघि नयाँ दिल्ली गन्तव्यमा सातामा तीन उडान हुँदै आएका थिए ।

बन्दाबन्दीपछि सुरुमा सातामा एक र दुई उडान गर्दै आएकामा अहिले एयर बबलअनुरुप नै दैनिक उडान तालिका बनाइएको हो । भारतका अन्य दुई महत्वपूर्ण गन्तव्य बैङ्लोर र मुम्बई गन्तव्यमा उडान सञ्चालनको अनिश्चितता कायमै छ । नेपाल एयरलाइन्सले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमका एक विभागीय निर्देशकका अनुसार नयाँ दिल्ली गन्तव्यमा दैनिक उडानले दशैँको अवसरमा यात्रुलाई निकै राहत पुग्ने र यसले निगमको व्यापारमा पनि सकारात्मक प्रभाव पार्नेछ । हवाईमार्ग भएर दिल्लीबाट धेरै नेपाली तथा भारतीय आउने भएकाले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । नेपालमा पर्यटकीय सिजन सुरु भएको छ ।

यो याममा पदयात्रा र पर्वतारोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नेपाल आउँछन् । एयर अरेबियाले हरेक दिन काठमाडौँ गन्तव्यमा दुई उडान गर्ने गरी अनुमति पाएको छ । सोही एयरलाइन्सको जहाजले आबुधाबीबाट समेत हरेक दिन उडानको अनुमति पाएको क्यानले जनाएको छ ।

यस्तै फ्लाई दुबईले काठमाडौँका लागि सातामा १० उडान गर्नेछ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा साताको छ उडान सञ्चालन गर्नेछ । सोही एयरलाइन्सले दुबईका लागि साताको छ उडान सञ्चालनको अनुमति पाएको छ ।

त्यसैगरी कतारका लागि हिमालयको जहाजले सातामा कूल सात उडानको अनुमति पाएको छ । जजिरा एयरवेजले काठमाडौँका लागि हरेक दिन उडान गर्नेछ । कोरियन एयरले साताको एक दिन (बुधबार) काठमाडौँ उडान गर्नेछ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताका चार (सोमबार, बुधबार, शुत्रबार र शनिबार) उडान गर्नेछ ।

मलेसिया एयरलाइन्सले हरेक शनिबार क्वालालम्पुरबाट काठमाडौँ आउने क्यानले जारी गरेको उडान तालिकामा उल्लेख छ । नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेशनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेशनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार (सोमबार, बुधबार, बिहीबार र शनिबार) उडान गर्ने तालिका छ ।

उक्त एयरलाइन्सले क्वालालाम्पुरमा सातामा चार उडान गर्नेछ । जापानको नारितामा नेपाल एयरलाइन्सले हरेक बिहीबार उडान गर्नेछ । त्यस्तै हङकङका लागि हरेक मङ्गलबार उडान हुनेछ । त्यसैगरी कतार एयरवेजले कतारको हमाद इन्टरनेशनल विमानस्थलमा दैनिक तीन उडानको अनुमति पाएको छ । सलाम एयरले मस्कट विमानस्थलबाट साताको तीन दिन काठमाडौँ गन्तव्यमा उडान भर्नेछ ।

टर्किस एयरले साताका तीन दिन (सोमबार, बिहीबार र शनिबार) काठमाडौँमा उडान गर्नेछ । सिङ्गापुर एयरलाइन्सले हरेक आइतबार र श्रीलङ्कन एयरलाइन्सले मङ्गलबार तथा शनिबार गरी सातामा दुई उडान गर्न अनुमति पाएको छ । यो उडान तालिका सेप्टेम्बर ३० सम्मका लागि मात्रै हो । अब क्यानले छिट्टै विन्टर उडानको तालिका बनाउनेछ । अहिले तीन नेपालीसहित १२ वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

 

 

  • २५ भाद्र २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !