गाँउ गाँउमा कांग्रेस, घर घरमा महिला संघको अभियान चलाउछु : गोमा केसी

आजभोलि

गोमा केसी, नेपाली कांग्रेस ओखलढुंगा पूर्वजिल्ला सभापति तथा केन्द्रीय सदस्य उम्मेदवार

नेपाल विद्यार्थी संघ पदमकन्या क्याम्पस इकाई सचिव भएर राजनीति यात्रा तय गरेकी नेतृ हुन गोमा केसी । नेपाली कांग्रेसको पहिलो महिला जिल्ला सभापति बनेकी केसीले ओखलढुंगा कांग्रेसको नेतृत्व सम्हालिसकेकी छन् । विकट हिमाली जिल्ला सोलुमा जन्मेकी केसीले राजनीति कर्मक्षेत्र भने ओखलढुंगालाई बनाएकी छन् ।

काठमाडौं शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सचिवका रुपमा काम गरेकी केसी नेपाल विद्यार्थीको संघको राजनीतिपछि नेपाल महिला संघको राजनीतिमा केन्द्रीत भइन् । उनी नेपाल महिला संघ ओखलढुंगाको जिल्ला सभापति, महिला संघको केन्द्रीय सदस्यका रुपमा काम गरेर महिला संघको महाचिवको प्रत्यासी बनेकी थिइन् ।

पारिवारिक पृष्ठभूमि समेत राजनीति भएकी केसी जनताको सेवा नै आफ्नो कर्तव्य र धर्म ठान्दछिन् । राजनीतिबाहेक कुनै पेशा नभएको बताउने केसी इमानर महिला नेतृ रुपमा चिनिने गर्दछिन् । उनले राजनीति र समाजसेवालाई एकै साथ अगाडि बढाइरहेकी छन् । सधैं महिला हकहित र अधिकारका लागि आवाज बुलन्द गर्ने उनी निडर, हक्की नेतृ र प्रष्ट वक्ताको रुपमा स्थापित छन् । उनै नेतृ केसीसँग कांग्रेस १४ औं महाधिवेशनमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानीको सम्पादित अशं :

तपाईंको जन्म कहाँ भएको हो ?
मेरो जन्म सोलुखुम्बु जिल्लाको सल्यानमा भएको हो । मेरो पारिवारिक वातावरण राजनीतिमय थियो । त्यसकारण म सानैदेखि राजनीतिमा चासो लिने गर्दथेँ ।

तपाईंको पढाइलेखाइ कहाँ भयो नि ?
मेरो स्कुले पढाइ महेन्द्रोदय माध्यामिक विद्यालयमा भएको हो । एसएलसीसम्मको अध्ययन त्यहींबाट गरेँ । उक्त स्कुल हाम्रा बुबा, हजुरबुबाले छोरीहरुलाई पनि पढाउनुपर्छ भनेर स्थापित हो । यसलाई २००४ सालमा भाषा पाठशालाको नाममा सञ्चालन गरिएको थियो । पछि महेन्द्रोदय माविको स्थापित गरेको हो । दाइहरु अर्को जिल्लामा ओखलढुंगामा गएर पढ्नुहुन्थ्यो । छोरीहरुले पढ्न पाउँदैन थिए । छोरीहरुलाई पनि पढाउनुपर्छ भनेर हाम्रा हजुरबुबा, बुबाहरुले त्यहीं माध्यमिक विद्यालय सञ्चालन गर्नुभएको हो ।

उच्च शिक्षा अध्यक्ष कहाँबाट गर्नुभयो ?
उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएँ । पद्मकन्या क्याम्पसबाट आइए पास गरेँ । त्यसपछि शिक्षा क्याम्पसबाट बीएड गरेँ । आइए पढ्दा पद्मकन्या क्याम्पसबाट नेविसंघ संक्रिय राजनीति मात्रै गरेँ । त्यसपछि बीएड् पढ्न काठमाडौं शिक्षा क्याम्पसमा गएँ । त्यहाँ नानु न्यौपाने अध्यक्ष हुँदा सोही टिमबाट सचिव निर्वाचित भएकी थिएँ ।

त्यसपछिको राजनीतिक करियर कसरी अगाडि बढाउनुभयो ?
त्यसपछि ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको सचिव भएर काम गरेँ । सो क्रममा नेविसंघको राजनीतिलाई ओखलढुंगासँग जोडेँ । त्यसपछि ओखलढुंगा–काठमाडौं सम्पर्क समितिको अध्यक्षसमेत भएँ । ओखलढुंगाको महिलासंघको जिल्ला अध्यक्ष पनि भएँ । महिला संघको केन्द्रीय सदस्यहुँदै ओखलढुंगा जिल्लाको पार्टी सभापति समेत हुने अवसर प्राप्त भयो । त्यसपछि निरन्तर रुपमा ओखलढुंगाबाट महासमिति सदस्य निर्वाचित भइरहकी छु ।

तपाईं ओखलढुंगा जिल्ला सभापति हुँदा पार्टीमा महिला कोटा थिएन ?
त्यसबेला महिला प्रतिनिधिहरुको लागि छुट्टा कोटा प्रणाली थिएन । महिला पनि पुरुषहरुसँग प्रतिस्पर्धा गरेर आउनुपथ्र्यो । महिलाका लागि अहिलेको जस्तो अलगै कलस्टर थिएन । त्यसका लागि हामीले पार्टीमा जोडदार माग राख्र्यौैैं । महिलाको लागि छुट्टै कोटा हुनुपर्छ धेरै भनेर आन्दोलन गरियो । देशैभरका दिदी, बहिनीहरुलाई आन्दोलनमा सहभागी गराएर हिडियो ।

त्यसको मतलब, पार्टीमा महिलाहरुलाई अनिवार्य कोटा हुनुपर्छ भनेर देशभर लविङ थाल्नुभयो ?
त्यसबेला देशैभरबाट पहिलो महिला जिल्ला सभापति म थिएँ । हामीले देशैभर आन्दोलन गरेर विधानमा महिलाको लागि कोटाको व्यवस्था हुनुपर्छ भनेर आवाज उठायौं । महिलाको लागि ३३ प्रतिशत कोटा हुनुपर्छ भनेर जोडतोडका साथ माग गरेका थियौं । त्यसले अहिले जनजाति, दलित, उत्पीडित, अल्पसख्यक, मधेसी, मुस्लिम, थारुलगायत सम्पूर्ण तह, तप्का, वर्ग, समुदायका महिला आमा, दिदीबहिनीहरुले पार्टीमा उचित ठाउँ पाउनुभएको छ । त्यसको लागि हामीले पार्टीभित्र धेरै संघर्ष गरेका छौं । अझ त्यसबेला महासमितिमा त महिलाहरु छँदैथिएनन् । महासमितिमा अनिवार्य हुनुपर्छ भनेर पनि हामी लड्यौं । अहिले त क्षेत्रवाइज अनिवार्य दुई जना आउनैपर्छ ।

तपाईं कसको पालामा केन्द्रीय महिला संघमा आउनुभयो ?
उमा रेग्मी दिदी सभापति हुँदा म महिलासंघको केन्द्रीय सदस्य भएकी हुँ । त्यसपछि मिना पाण्डे दिदी सभापति हुनेबेलामा म महासचिवको उम्मेदवार बनेकी थिएँ । त्यसपछि नेपाली कांग्रेसको राजनीतिमा पार्टी संगठनदेखि विभिन्न आन्दोलनमा सहभागी हुँदै निरन्तर क्रियाशील छु । पार्टी गतिविधिमा सक्रिय हुनेबाहेक कुनै काम गरिएन ।

तपाईं देशैभरको चर्चित महिला नेतृ भनेर कहलिनुहुन्छ, ओखलढुंगावासी कसरी लिएका छन् ?
ओखलढुंगा कांग्रेसका अग्रज, नेता, कार्यकर्ता, आमा, बुबा, दाजुभाइ, दिदीबहिनीको माया सदासयताबाट यहाँसम्म आइपुगेकी हुँ । नेपाली कांग्रेसको राजनीतिमा यहाँसम्म आइपुग्ने बल, हैसियत दिने उहाँहरु नै हो । उहाँहरुकै माया, ममता र प्रोत्साहनबाट आज कांग्रेस राजनीतिको यो हैसियतमा आइपुगेकी छु । म उहाँहरुको नेताभन्दा पनि प्रतिनिधि हुँ । उहाँहरुले हाम्रो प्रतिनिधि तँ नै हो भनेर पठाउनुभएको हो । त्यसकारण म ओखलढुंगावासीको लागि दिलो ज्यान दिएर अहोरात्र खटेकी छु । बिहानदेखि बेलुकासम्म उहाँहरुकै सेवाभावमा हाजिर हुन तयार छु । राजनीति बाहेक मेरो कुनै व्यापार, व्यवसायी छैन । मेरो पुरा समय ओखलढुंगाका जनताको र देशभरका नेपाली कांग्रेसका साथीहरुको सुखदुःखमा साथ दिने हो । त्यही भएर उहाँहरुले मलाई सद्भाव, माया, प्रेम गर्नुभएको छ । त्यसकारण ओखलढुंगावासीको सुखदुःखमा मैले कतै नडमगाइकन साथ दिनुपर्छ । त्यसको लागि म जस्तो मूल्य चुकाउन तयार छु।

नेपाली कांग्रेस १४ औं महाधिवेशनमा तपाईंको उम्मेदवारी के मा हुन्छ ?
कांग्रेस १४ औं मधिवशेनमा मेरो उम्मेदवारी महिलाको खुल्लातर्पm रहन्छ । त्यसको लागि अग्रज, नेता, प्रतिनिधि, कार्यकर्ता सबैंसँग सरसल्लाह भएर तपाईं उम्मेदवारी हुनुपर्छ भन्नुभएको छ । त्यसमा महिलासंघ, नेविसंघ, तरुण दललगायत विभिन्न जातिजनजाति, दलित, अल्पसंख्यक, उत्पीडित, मधेसी, मुस्लिम, थारुलगायत सबै तहतप्का, वर्ग, समुदायको साथ, सहयोग र समर्थन रहेको छ । अहिले जितेर आउनुभएका पार्टी सभापतिहरु, पूर्व पार्टीसभापतिहरु साथै अग्रज नेता, दाजु, दिदीहरुले पनि मलाई तपाईंंको उम्मेदवारी केन्द्रीय सदस्यमा हुनुपर्छ । केन्द्रीय सदस्य जितेर पार्टी संगठनमा जुडतोडले लाग्नुपर्छ भन्नुभएको छ । त्यो आदेशको पालना गर्दै म महिला खुल्लातर्पmको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीमा छु ।

तपाईं देशभरबाट आउने प्रतिनिधिहरुले भोट दिनुहुन्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?
चुनावका मेरुदण्ड भनेका नेविसंघका भाइ, बहिनीहरु हुन् । उनीहरुले पनि तपाईं जत्तिको जुझारु नेता केन्द्रीय समितिमा आउनुपर्छ भनेका छन् । त्यसैगरी तरुणदल, महिलासंघ, टे«ड युनियनलगायत पार्टीका भ्रातृ, मातृ संस्थामा आवबद्ध जातिजनजाति, दलित, अल्पसंख्यक, उत्पीडित, मधेसी, मुस्लिम, थारुलगायत सबै तहतप्का, वर्ग, समुदायका महिलाहरुको पनि साथ, सहयोग र समर्थन रहेको छ । त्यसकारण म केन्द्रीय सदस्य जित्छु भन्नेमा ढुक्क छु ।

केन्द्रीय सदस्यमा उमेदवारी दिदैं गर्दा तपाईको एजेण्डा के हो ?
मैले केन्द्रीय सदस्यमा उमेदारी दिदै गर्दा मेरो उमेदवारी भनेको सबल सुदृढ कांग्रेस निर्माण लागि हो । कांग्रेसलाई सबल र सुदृढ बनाउनका लागि मेरो केहि मुद्दा छन् । सवैभन्दा पहिला त कांग्रेसलाई सवल बनाउनका लागि कांग्रेसलाई विधान अनुसार संचालन गर्नु आवश्यक छ । म केन्द्रीय सदस्य निर्वाचित भएर कांग्रेसलाई विधान अनुसार संचालन गर्न पहल गर्ने छु । अर्को सबल कांग्रेस बनाउनका लागि देशभरका दिदि बहिनीहरुको महत्वपूण योगदान हुन्छ । म महिला दिदि बहिनीहरुलाई संगठित बनाउनका लागि हरेक घर एक महिला संघको अभियान संचालन गर्ने छु । महिला संघमा हरेक घरबाट दिदि बहिनीलाई समेटन सकियो कांग्रेस सबल हुनेछ । हरेक घरमा महिला संघको संगठन पु¥याउन सके कांग्रेस सबल बन्छ ।

अन्त्यमा देशभरबाट आउने केन्द्रीय प्रतिनिधि र भ्रातृ, शुभेक्छुक संस्थाहरुलाई के भन्न चाहनहुन्छ ?
नेपाली कांग्रेस देश र जनतालाई अप्ठ्यारो पर्दा साथ र भरोसा दिने लोकतान्त्रिक पार्टी हो । जसरी २००७ साल, २०१५ साल, २०३६ सालको जनमत संग्रह, २०४२ सत्याग्रह, २०४६ सालको जनआन्दोलन, २०६२÷६३ आन्दोलनमा नेतृत्व लिने पार्टी हो । त्यसैगरी संविधान निर्माण नेपाली कांग्रेसको नेतृत्वदायी भूमिका रह्यो । गणतन्त्रको घोषणा नेपाली कांग्रेसकै अगुवाइमा भएको हो । मुलुकमा समावेसी, संघीयतालगायत जस्तोसुकै परिवर्तको लागि नेपाली कांग्रेसले अगुवाइ गरेको छ ।

यति महत्वपूर्ण लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा आस्था राख्ने देशभरका अग्रज, नेता, पूर्व जिल्ला सभापति, अहिले निर्वाचित जिल्ला सभापति, केन्द्रीय प्रतिनिधि दाजुभाइ, दिदीबहिनीहरुले मेरो योगदानको मूल्यांकन गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । म पार्टीका ती हरेक आन्दोलनमा सक्रिय सहभागिता जनाएर मैले आफ्नो बलबुताले भ्याएसम्म योगदान गरेकी छु ।

स्कुले जीवनदेखि कलेजहुँदै विभिन्न भ्रातृ, मातृ संघहरुमा रहेर मैले दिलो ज्यान दिएर पार्टीलाई सघाएकी छु । यो कुरा देशभरबाट आउनुहुने केन्द्रीय प्रतिनिधि नेता, दाजु, दिदीहरुलाई पनि जगजाहेर छ । उहाँहरुले कांग्रेसमा मेरो सघर्ष, लगानी, त्याग, तपस्या, निष्ठ, बलिदानीको मूल्यांकन गर्नुहुन्छ भन्नेमा विश्वस्त छु । त्यसैले विभिन्न तहतप्का, वर्ग, समुदायबाट चुनिएर आउनुभएका अग्रज नेता, प्रतिनिधि, दाजु, दिदी, भाइ, बहिनीहरुलाई मलाई केन्द्रीय सदस्यमा सहयोग गर्न हार्दिक अपिल गर्दछु ।

  • १४ मंसिर २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !