कमरेडको रथयात्रा

व्यङ्ग्य रचना

योगीशकृष्ण

बलदेवको स्वर थकित थियो “दाजु, भन्न त भने मैले कि कथा टाइप गरेर पठाउँछु । बोकुवा कम्यूटर ( उसले ल्यापटपको नाम राखेको ) तिम्रो भतिजोसँग मात्र छ ।ऊ काममा बाहिर गएको छ ।  दुई चारजना लेखक पत्रकारले टाइप गरिदिन्छु भनेर भरोसा दिएका थिए । दिनभर पछिपछि बौवाउँदा बौवाउँदा मेरो जानमा आफत आइलाग्यो ।”

किन के भो र ?”

केही मत पुछ , दाजु ।हैरान परेशान भएँ । एक जना पत्रकार भतिजाले भन्यो कि –एक छिन ठहर्नूस्, म टाइप गरिदिन्छु । म उसकै भरोसामा बसिरहेँ । ऊ पान खाँदै थियो । त्यही बेला एउटा नेता आइपुग्यो । उसले कुन कनफुसकी गर्यो थाहा छैन, दुवै जना हलो जोत्न हिँडेको बैलजस्तै गलबहियाँ डाल्दै कता हिँडे थाहै छैन । दुई घण्टा जति पर्खिएर बसेँ , आएन ।”

अरु कोही चिनेका भेटिएनन् । ?”

चिनेका किन नभेटिनु नि । यही पनि त चिनेकै हो । जहाँ भेटदा पनि चाचा प्रणाम भन्थ्यो । यसको कुरा छाडिदेऊ । अर्कोको पनि हालत उस्तै थियो ।एक एक मिनेटमा उसको फोन आउने । लाग्थ्यो कि दुनियाँभरको कार्यालयको काम उसैको जिम्मा छ । पुलिस प्रशासनदेखि फोहरमैलाको समेत काम उसले भन्थ्यो कि गरिदिन्छु । लास्टमा सबलाई एउटै कुरा भन्थ्यो –मुफतमा कुनै काम हुन्छ , यो दुनियाँमा । मेरै अगाडि दुई चार जना आएर उसको खल्तीमा केही हालिदिए । पाँच मिनेट कुर्न  भनेर ऊ पनि हिँड्यो । यसलाई त पूरा तीन घण्टा कुरेँ । पान पसलेले भन्यो कि यिनीहरूको भरोसामा बस्यो भने बरसातमा ल्याउुनपर्ने छाता अगहन–पुसमा ल्याइदिन्छन् । त्यसपछि दाजु, म घर फर्किएँ । तिमीलाई वचन दिएको थिएँ कि कथा पठाउँछु । पठाउन सकिँन ।  म सटकटमा सुनाउँछु नि , हुन्न ? ”

किन नहुनु ?”

केही हदसम्म भाषा मिलाएर लदेवले सुनाएको कथा मैले टिपेँ ।

कमरेड फुर्सदमा हुनुहुन्थ्यो । सफलतापूर्वक सदन अवरुद्ध गराइसक्नु भएको थियो । मुलुकमा नयाँ भाइरसको पदार्पण भइसके पनि उहाँलाई वास्ता थिएन । उनले पहिले नै बताइसकेका थिए – बेसार पानी र अम्बाको पात खाएपछि जस्तौसुकै भाइरस पनि चैट । उहाँलाई एउटै चिन्ता थियो–सत्ताबाट बाहिरिएपछि , सञ्चारमाध्यमले अलि वास्ता गर्न छाडेका थिए । टीभीको समाचार हेर्न मन लाग्दैन थियो । उनलाई सत्ताबाट तल झार्ने आफ्नै मित्रहरू सत्तामा थिए ।तिनकैमात्र अनुहार  त्याहाँ  देखिन्थ्यो ।

उनी सत्तामा हुँदा विभिन्न लाभका पदमा नियुक्त दशबिसेक नेता सदा झैँ उनको अघिल्तिर थिए । ठिक त्यसै गरी पुराना दरबारमा भारदारहरू बस्ने गर्थे , त्यसै गरी । केही त्यस्ता पनि थिए , जसले उनलाई ‘बा’ भन्ने गर्थे । हिन्दीमा उखान पनि छ – मतलब के लिए गधे को भि बाप बनाना पडता है । यसरी ठाउँ ठाउँमा बाप बनाएर हिँड्न अभ्यस्त मानिसहरूको सङ्ख्या पनि उल्लेख्य थियो । तीमध्ये कतिपय त सत्ताबाट बाहिरिएपछि विरोधी दलका नेताहरूलाई काका बनाउन थालेका थिए । मौका बेमौका नेतापत्नीलाई आमाको सज्ञा दिन पनि चुक्दैन थिए । यसप्रकार  मौका मिल्नासाथ आवश्यकता बमोजिम ‘बा’ बनाउन तिनलाई सजिलो हुन्थ्यो ।

बा’ बेलाबेलामा उखान टुक्का सुनाउँथे । सबै हाँस्थे । कुनै बेला भन्थे “बाह्रबुँदे कमरेड मेड इन दिल्ली,  पूरै पार्टी कब्जा गर्छु भनेर मेरा पछि लागेका थिए , चौटा खान गएकी बुढी झोलमा डुबेर मरी भनेजस्तो भयो तिनलाई ।”

आफू सोफामा बस्ने हामीलाई कुर्सीमा थन्काएको भन्दै मान पुगेन भनेर रुँदै हिँडेका कमरेडलाई उनले ‘पहिले के जाति जानिन , पछि के जाति मानिन’ भनेर उछित्तो काढ्दा हुन्थे । उपस्थित समूह गलल हाँस्थ्यो । एवम् प्रकारले दिन सुखका साथ बितिरहेको थियो । ‘ जोगी हुन राजनीति गरेको होइन भन्ने मूलमन्त्रका साथ अघि बढेका उनको दिन आनन्दपूर्वक बितिरहेको थियो ।   अचानक कमरेडालाई लाग्यो , केही त्यस्तो गर्नुपर्छ , जो पहिले कसैले नगरेको होस् । हुन त उनले कसैले नभनेको , नगरेको कुरा थुप्रै गरिसकेका थिए । उनले कम्यूनिस्ट पार्टी सिद्धान्तका आधारमा होइन, यो त  राम , श्याम जस्तै नाम हो भनेर आफ्नो दललाई रूपान्तरण गरिसकेका थिए ।

यस्तैमा एक जना सुपुत्रले उनलाई सुझायो –कुनै भव्य र ठोस कार्यक्रम गरेर पार्टी सङ्गठन बलियो बनाउनु पर्छ । प्रश्न उठ्यो –कसरी गर्ने ?

सबले एक से सुझाव दिए । कसैले भन्यो – कमरेडलाई गैँडाप्रति साह्रै मोह छ । अङ्ग्रेजी भाषाको कोशबाट ‘राइनो’ शब्द नै हटाउनुपर्ने तर्कसहितको उनको भिडियो पनि भाइरल भएको थियो । अर्कोले गैँडाको अर्थ अर्कै लगाएछ – जाबो गैडाको के ‘भ्यालु’ छ । हात्ती त झन्झटिलो भइसक्यो । ७० करोड पुर्याउन कत्तिओटा हात्ती चाहिन्छ । हिसाब गर्न पनि झ्याऊ।

एवम् रीतले सबैले आ–आफ्ना तर्क राखे । लाखौँ रुपियाँ खर्च गरेर हेलिकप्टरबाट हजारौँको केक काटेर बर्थ डे पनि मनाएकै हो । यता उति नियम कानुन संशोधन गरेर यती यती गर्दै गर्नु गरेकै हो । के चाहीँ गर्ने अब ?

सबैका कुरा सुनेपछि कमरेड आफैले  सुझाए “विशिष्ट व्यक्तिलाई रथमा चढाएर सम्मान गरिने परंपरा छ ।अब यत्तिकै रथयात्रा गरायो भने आलोचना हुन्छ । त्यसकारण कुनै कायक्रममा जाँदा रथ चढेर जाने । ”

यो सुझावमा त्यसैगरी सर्वसम्मति जुट्यो , जसरी पार्टीको अधिवेसनमा सर्वसम्मति भएको थियो ।

कायक्रम सम्पन्न भयो । भव्य भयो । सफल भयो । चन्दा राम्रै उठ्यो । आयोजकले प्राप्त चन्दा भन्दा बढी खर्च भएकाले रिण लागेको हल्ला गरे । विरोधीले चन्दा रकम हिनामिना भएको आरोप लगाए । यी सब सर्वमान्य र सर्वकालिक क्रियाकलाप राम्रैसँग भयो । कायक्रमको सफलताको विषयमा जानकारी दिन पत्रकार सम्मेलन बोलाइयो ।

पत्रकारले सोधे “तपाईं कम्युनिस्ट भएर यत्रो तामझामका साथ रथयात्रा गर्नु उचित हो ? कमरेडले मुस्कुराउँदै जबाफ दिनुभयो ” जहाँसम्म मेरो अनुमान छ ,मेरो बुझाई छ , मेरो निष्कर्ष छ , तपांइँलाई मार्क्सवादको ज्ञान नै छैन । तपाईंले पढ्नुभएकै छैन ।कथंकदाचित पढ्नुभएको भए पनि बुझ्नुभएकै रहेनछ । मार्क्स,लेनिन र माओ ,कसैले पनि रथयात्रा गर्नुहुन्न भनेका छैनन् । विश्लेषण गर्ने बानी बसाल्नू । चिन्तन गर्न सिक्नूस् । रथ के हो ? समाजिक एवम् पौराणिकहिसाबले हेर्ने हो भने, रथ सामन्तवादको प्रतीक हो । हामी कम्युनिस्ट सामन्तवाद विरोधी हौँ । म त्यस्तै रथमा बसेर यात्रा गर्नुको मतलब हो – आज सामन्तवाद नियन्त्रणमा आएको छ । परास्त भएको छ । यो कम्युनिस्टहरूको ठूलो जीत हो ।”

( कमरेडलाई आदरार्थी शब्दसंग साह्रै मोह भएकाले ठाउँ ठाउँमा तपाईं लेखिएको छ )

  • २७ पुष २०७८, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ७. अनुभूतिः मेडीसिटी अस्पताल की पाँचतारे होटल ?
  • ८. नेकपा अर्थात् गफाडी क्लब !
  • ९. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • १०. स्ववियु निर्वाचन र नेविसघंको भूमिका