प्रिन्स दाहाल इतिहास रच्दै विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

आजभोलि

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्एिका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।

महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह हुनुहुन्छ । उनकोे नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा हुनुहुन्छ । फ्रान्सका एलेक्स लानिर छ हजार सात सय अङ्कका साथ चौथो तथा भारतका एस शङ्कर मुथुसामी सुब्रमन्यम छ हजार ३४० अङ्कसहित पाँचौँ स्थानमा हुनुहुन्छ ।

विश्व ब्याडमिन्टनको जुनियरतर्फ शीर्ष खेलाडी बनेपछि दाहालले रासससित कुरा गर्दै आफ्नो सपना पूरा भएको बताए । उहाँले आफू विश्वकै एक नम्बर खेलाडी बन्ने उद्देश्यका साथ खेल्दै आएको र त्यो पूरा हुँदा अत्यन्त खुसी लागेको बताउनुभयो । अबको ध्यान बरियतालाई कायमै राख्नतर्फ रहने भन्दै दाहालले भविष्यमा सिनियर ब्याडमिन्टन प्रतियोगितामा समेत प्रदर्शन राम्रो गर्दै जाने बताए ।

नेपालमा प्रतियोगिताको अभाव तथा राम्रो प्रशिक्षण पाउन मुश्किल भएको दाहालको गुनासो छ । राज्यले खेलाडीका लागि उचित वातावरण बनाइदिनुपर्ने उहाँको भनाइ छ । कोरोना महामारीका कारण लामो समयदेखि प्रतियोगिता र प्रशिक्षणबाट वञ्चित रहनुपरेको दाहाल बताउछन् । पाँच वर्षको उमेरमै दार्चुलाबाट ब्याडमिन्टन खेल्न थालेका दाहाल हाल काठमाडौँमै अध्ययनरत हुनुहुन्छ ।

नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । व्यक्तिगत तथा देशकै लागि उल्लेख्य उपलब्धि भएको दाहालका मामा एवं व्यवस्थापक कमलेश निरौलाको ठम्याइ छ ।

ब्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठले दाहालको सफलताले अन्य नेपाली ब्याडमिन्टन खेलाडीलाई हौसला मिलेको बताए । दाहालको सफलताले नेपालको समग्र खेल जगत्लाई नै उत्साहित बनाएको श्रेष्ठको भनाइ छ ।

दाहाल हालसम्म कुनै पनि विभागिय क्लबमा आबद्ध हुनुहुन्न । उहाँ सुदूरपश्चिम प्रदेशबाट नै ब्याडमिन्टन खेल्दै आउनुभएको छ । विसं २०७६ मङ्सिरमा जारी विश्व बरियतामा दाहाल पहिलोपटक ३२औँ स्थानमा रहन सफल हुनुभएको थियो । त्यही वर्ष पुसमा जारी बरियतामा उनी १४औँ स्थानमा तथा पुस अन्तिम साताको बरियतामा दाहाल १०औँ स्थानमा उक्लिनुभएको थियो ।

विसं २०७६ चैतमा महासङ्घले जारी गरेको बरियतामा दाहाल सातौँ स्थान तथा गत वर्ष माघमा उनी तेस्रो स्थानमा उक्लिन सफल हुनुभएको थियो । त्यतिबेला दाहालभन्दा अब्बल डेनमार्कका म्याड्स जोएल मुलर तथा भारतका वरुण कपुर हुनुहुन्थ्यो । मुलर शीर्ष स्थानमा तथा कपुर दोस्रो स्थानमा हुनुहुन्थ्यो । दुवै जना हाल सिनियर प्रतियोगिता खेल्दै आउनुभएको छ ।

विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको बरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ । यस्तै विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको जारी गरेको महिला जुनियरतर्फको बरियताअनुसार नेपालकी महिला खेलाडी रसिला महर्जन १९औँ स्थानमा पर्न सफल हुनुभएको छ ।

 

  • २९ पुष २०७८, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !