आएदेखि प्रायः चुपचाप बसिरहेका अर्का सहप्राध्यापक प्राणीशास्त्रीले मुस्कुराउँदै आफ्नो साथीतिर हेरेर मुख खोले “मुसा कसम भन्छु । मलाई यो मुलुकको अवस्था अनि हाम्रो विश्वविद्यालय देखेर दिक्क लाग्छ । मैले एक जमानामा मुसाको विषयमा अध्ययन गर्न खोजेको थिएँ । विश्वविद्यालयले मानेन । नेपालका मुसाका बारेमा जापानबाट आएर मानिसले ‘रिसर्च’ गरिसकेका छन् , हामीलाई भने मतलबै छैन । हामी पूर्वीय दर्शनमा आस्था राख्ने मानिसका लागि त झन मुसा एउटा प्राणी मात्र होइन । आस्थाको प्रतीक पनि हो । गणेशजीको बाहन हो मुसा । गणेशजी जस्तो मोटो मानिसले आखिर बाहनको रूपमा किन मुसालाई रोजे ? सोच्ने कुरा हो नि । किन कसैले सोच्दैन ? यत्राविधि गणेशका मन्दिर हाम्रो देशमा छन् , ती मन्दिरका छेउछाउमा कुन प्रजातिका मुसा पाइन्छन् ? कसैले चासो राखेको छ ? ”
मलाई उनको कुरा सुनेपछि टिभी सिरियलमा संयोगवश आक्कल झुक्कल देखेका दृश्य झैँ कराउन मन लाग्यो “गणपति बप्पा मौर्या ” । मैले ती प्राणीशास्त्रीको भनाइ सुन्दा पुरानो पत्रिकामा छपिएको फोटो आँखा अगाडि आयो । कुनै बेला कम्यूटर विज्ञानको कुनै अध्ययन नै नगरेका , एक वित्ता लामो टुप्पी पालेका , दुई इन्च लामो चन्दन लगाउने व्यक्ति पनि कम्प्यूटर कार्यालयका मुख्य हाकिम थिए । विज्ञान र अध्यात्मको यस्तो मिश्रण कहाँ पाउनु ?
हाकिम नम्बर दुईले लामो सास फेर्दै भने “त्यही त भन्या’ नि ।सरहरू जस्तो विद्वानको कदर नहुने यो मुलुकको त म ‘फ्यूचर’ नै देख्दिन ।आइ एम होपलेस । म पनि धर्ममा विश्वास गर्छु । मेरो घरनजिकै छ , हप्ताको एक दिन गणेश थान र पशुपति पुगेकै हुन्छु । कतिपय साथीभाइ त भेट हुन्छन् । कतिपय ठूलाठूला हाकिमसँग भेट पाइन्छ । खासमा भन्ने हो भने यही अध्यात्मिक चिन्तन गर्दा पनि हो , मैले मुसा मार्न नचाहेको । यो अध्यात्मिक चिन्तन मैले पारिवारिक पृष्ठभूमिबाट पाएको हो । ”
साढुभाइजी आफ्नै धुनमा मस्त थिए “महिनौँ भइसक्यो , कहिले राम्रो पत्ता नै आउँदैन । आज भने दाइको कृपा भएपछि कुछ हुन्छ कि । दाइ त अति नै धामिर्क हो बा । मान्नु पर्छ । बिहान बिहान उठेर नुहाउनु हुन्छ ।बाह्रै महिना, बाह्रै काल । संस्कृतका कति मन्त्र कण्ठ छ, उहाँलाई ।” उनी टेबलमा औँलाको थाप दिन थाले ।
हाकिम नम्बर दुईले साढुभाइतिर हेर्दै भने “लेट अस कम टु त प्वाइन्ट । समस्या के हो भने हाम्रो अफिसमा मुसा रहेछ ।”
प्राणीशान्त्रीले बिचमै कुरा काटे “एक्सक्यूज मी , सरले कसरी थाहा पाउनुभयो , यहाँ अफिसमा मुसा छ भन्ने कुरा ।कुनै प्रमाण छ ?कुनै पनि वैज्ञानिक परीक्षण बिनाप्रमाण हुन सक्दैन भन्ने कुरा नबिर्सौँ । ”
दुई नम्बर हाकिमले एक नम्बरतिर हेरेपछि दुई नम्बरले खल्तीबाट प्लास्टिकको सानो थैलो निकालेर टेबलमा राख्दै भने “हेर्नूस् न सर । मेरो टेबलमा थियो । जुन दिन यो भेटेँ, त्यसको अघिल्लो दिन हाम्रो माथिल्लो कोठामा तार काटिएको पाइएको थियो । त्यहाँ पनि मैले सरले जस्तै ‘माइन्यूटली’ सोधपुछ गरेँ । अन्त्यमा म के निष्कर्षमा पुगेँ भने तार काट्ने काम मुसाबाहेक अरुको हुनै सक्दैन । अरु त्यहाँ कसैको पहुँच नै थिएन । यही कोठामा पनि मैले एक दिन मुसा देखेको थिएँ , त्याहाँ दराजमाथि । ”
उनको कुरा सुन्नासाथ साढुभाइजी चम्किए “ल हेर्नुहोस् , उहाँले पनि यहीँ मुसा देख्नुभएको रहेछ । मुसा कसम मैले अघि मुसा नै देखेको हो, त्यही दराजमाथि । कसैले पत्याउँदैनन् यार ।”
प्राणीशास्त्री खुसी भए “ यति ‘इन्टेलिजेन्ट स्टाफ’ यहाँ छन् भन्ने कुरा मैले सोचेकै थिइँन । यो लिडबाट के साबित हुन्छ भने अफिसम मुसा छ । ‘साइन्टिफिक इभिडियन्स’ भनेको यस्तो पो हो त । कमसे कम एउटा मुसा त छ नै । यसभन्दा बढी पनि हुन सक्छ ।”
उनको कुरामा अरुले ध्यान नदिएपछि साढुभाइजी विस्तार टेबलमा औँला ठोक्दै सानो स्वरमा गीत गुनगुनाउन थाले ।हाकिम नम्बर तीनले बिहान नौ बजेदेखि १२ बजेसम्म मुसाको लिडको खोजबिन गर्दा उसले गरेको मिहिनेतको विवरण सुनाए ।
प्राणीशास्त्रीले हाकिम नम्बर एक तिर इशारा गर्दै सोधे “ उहाँ सरले जसरी नै तपाइँले पनि लिड जम्मा गर्नुभएको छ त ? ”
हाकिम नम्बर तीनले उत्तर दिए “ मैले लिड भेटेको ठाउँलाई प्लास्टिकले छोपेर राखेको छु । ”
“अहा । राम्रो काम । क्या गज्जब स्टाफ पाउनुभएको छ । मान गए गुरु । उहाँ सरको टेबलमा भएको लिड त पक्कापक्की यही घरभित्रको मुसाको , यसमा सन्देह रहेन । बाहिरको लिड र उहाँ सरको टेबलमा भेटिएको लिड एउटै मुसाको हो भनेर भन्न सक्ने आधार हामीसँग छैन । ”
हाकिम नम्बर तीन अनुहार निदाउरो पारेर बाहिर निक्लियो । केही बेरपछि आउँदा उसको हातमा सानो पोका थियो । उसले पोका खोलेर टेबलमा राख्यो । प्राणीशास्त्रीले दुवै लिड एकै ठाउँ राखेर मुन्टो हल्लायो “यी दुवै मुसाकै लिड हुन् । म दाबीका साथ भन्न सक्छु ।मूल कुरा के हो भने के यी दुवै लिड एउटै मुसाका हुन् कि फरकफरक मुसाका ? यो एउटै मुसाको हुन पनि सक्छ , नहुन पनि सक्छ । यो त प्रयोगशालामा परीक्षण गर्ने कुरा हो । यत्तिकै भन्न सकिन्न । मेरो एकजना मित्रको प्रयोगशाला छ , त्यहाँ परीक्षण गराऊँ । म भन्दिछु , सहुलियत दरमा गरिदिन्छन् । ”
उनको कुरा सुनेर म गदगद भएँ । जीवनमा मेरो लिडले समेत यति महत्व पाउँन सक्छ भनेर मैले कल्पनासमेत गरेको थिइँन । तर परीक्षण के कारणले गर्न लागेको हो, त्यो भने बुझ्न सकिँन ।
मन्त्रमुग्ध भएर प्राणीशास्त्रीको कुरा सुनेर बसेको हाकिम नम्बर दुईले आफ्ना सहकर्मीतिर हेरेर भने “ ल हेर्नूस् , अनुसन्धान भनेको के हो ? कसरी एक एक कुरामा गम्भीरतापूर्वक ध्यान दिनुपर्छ भन्ने कुरा उहाँबाट हामीले सिक्यौँ । ठिक छ , दुवै लिडका नमूनालाई हामी प्रयोगशालामा पठाउछौँ । उताबाट के रिपोर्ट आउँछ , त्यो त छँदै छ । यसबीच हामीले के के गर्ने भन्ने विषयमा छलफल गरौँ ।
हाकिमको कुरा सुन्नासाथ म्याम चनाखो भइन् । उनी अघिदेखि डायरीमा नोट गर्दै थिइन् । उनले छलफलमा उठेका हरेक शब्द शब्द अभिलेख गरेको जानकारी गराइन् । मौकामा उनले कसरी मुसाले उनको जिनको पाइन्ट काटेको थियो , सविस्तार सुनाइन् । उनले भनिन् “ मेरो जस्तोसुकै नोक्सान भए पनि मैले मुसा मार्ने कुरा सोच्दा पनि सोचिन । उहाँ सरको जस्तै मेरो मन पनि कमलो छ । कस्तो ‘क्यूट’ हुन्छ । ‘सो लभली’ , कसरी मार्नु विचरालाई ? हामी जसरी भए पनि मुसालाई कुनै हानिनोक्सानी नपुर्याई यहाँबाट हटाउन चाहन्छौँ । यसका लागि हामी जस्तोसुकै मिहिनेत र योगदान गर्न तत्पर छौँ ।”
हाकिम नम्बर दुईले प्रशंसापूर्ण आँखाले म्यामतिर हेरे ।
(धारावाहिक लघु उपन्यास ‘ एउटा मुसाको आत्मकथा’ पाक्षिक रूपमा प्रकाशन गरिने छ । लेखक सम्पर्क [email protected] )