जिन एक्सपर्ट मेसिन बिग्रदा बिरामीलाई समस्या

आजभोलि

काठमाडौं । टीकापुर अस्पतालमा क्षयरोगका बिरामी निदान गर्ने ‘जिन एक्सपर्ट मेसिन’ बिग्रिदा बिरामीलाई समस्या परेको छ । अस्पतालमा हाल क्षयरोगको शङ्का लागेका बिरामीको खकार परीक्षणमात्रै हुने गरेको छ । चिकित्सकका अनुसार खकार परीक्षण गर्दा औषधि प्रतिरोधी क्षयरोग भएका बिरामी निदानमा समस्या हुने भएकाले जिन एक्सपर्ट गर्नुपर्ने हुन्छ ।

मेसिन बिग्रिएपछि यहाँका क्षयरोग शङ्का लागेको बिरामीलाई अस्पतालले धनगढी वा नेपालगञ्ज पठाउने गरेको टीकापुर अस्पतालका क्षय कुष्ठरोग सहायक रामप्रसाद ज्ञवालीले बताउनुभयो । ‘‘मेसिन बिग्रिएको छ । मेसिन मर्मतका लागि मानिस बोलाएका छौँ, तर अझै भएको छैन’’, उहाँले भन्नुभयो, ‘‘यसका साथै यहाँ छाती रोग विशेषज्ञ नभएका कारण पनि क्षयरोगका केही बिरामीलाई उपचारका लागि अन्यन्त्र जानुपर्ने बाध्यता छ ।’’

क्षय कुष्ठरोग सहायक ज्ञवाली मेसिन बिग्रिएका कारण उपचारमा आउने ५० प्रतिशत बिरामीले रोग निदानका लागि टीकापुर बाहिर जानुपरेको बताउनुभयो ।

औषधि प्रतिरोधी क्षयरोग भएका बिरामीको यहाँ उपचार त हुन्छ तर निदानमै समस्या छ । टीकापुरमा गत वर्ष ११९ जना क्षयरोगका बिरामी उपचारमा आएका थिए । चालु आर्थिक वर्षको फागुन महिनासम्म ११४ जना उपचार गरिरहेका छन् । टीकापुर नगरपालिकाका क्षयरोग अधिकृत सुस्मिता रावल यसवर्ष क्षयरोगका बिरामीको सङ्ख्या बढ्ने सक्ने बताउनुभयो । ‘‘हामीले खोजपड्ताल कार्यक्रमसमेत गरिरहेका छौँ, यसका साथै नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन विभिन्न गतिविधि भइरहेका छन्’’, उहाँले भन्नुभयो, ‘‘समुदायमा क्षयरोगी छन्, जति उपचारमा आउनुपर्ने थियो त्यति मानिस आएको देखिँदैन । अब हामी सबै मिलेर क्षयरोगी निदानका लागि काम गरेमा सङ्ख्या बढ्छ ।’’

क्षयरोग अधिकृत रावलले कैलालीमा क्षयरोग निदानका लागि ५१ डट्स केन्द्र, ३४ माइक्रोस्कोपी केन्द्र, तीन जिन एक्सपर्ट केन्द्र, दुई डीआर केन्द्र, एक डीआर सब सेन्टर र एक डीआर होम रहेको जानकारी दिनुभयो । ‘‘टीकापुरमा हाल तीन स्थानमा क्षयरोगीको निदानका लागि परीक्षणको व्यवस्था भएको बताउँदै थप तीन स्वास्थ्य संस्थामा परीक्षणका लागि ल्याब स्थापना गरिनेछ’’, उहाँले भन्नुभयो, ‘‘क्षयरोग सरुवा रोग भएकाले लक्षण देखिएकाहरुलाई समयमै उपचारमा लैजानुपर्छ । यो जिम्मेवारी परिवार, छिमेकी सबैको हो ।’’

टीकापुर नगरपालिकाले क्षयरोगी पत्ता लगाउन हरेक वडामा वडास्तरीय सूक्ष्म योजना बनाउन थालेको छ । वडामा रहेका जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, शिक्षक, बडघर तथा विभिन्न सङ्घसंस्थालाई जिम्मेवार बनाउन योजना बनाएरै काम थालेका सिनियर अनमी हेमा ज्ञवाली बताउनुहुन्छ । ‘‘समुदायमा अझै क्षयरोगका बिरामी रहेकाले तिनको निदानका लागि स्वास्थ्यकर्मी मात्रले सम्भव नहुने भएकाले सबैलाई सक्रिय बनाउन योजनासहित काम गर्ने तयारी भएको हो’’, क्षय कुष्ठरोग सहायक ज्ञवालीले भन्नुभयो, ‘‘अब समुदायमा लक्षण देखिएका बिरामीलाई अस्पताल प्रेषण गर्ने काम समुदायका नागरिकले गर्ने हो ।’’

कैलाली जिल्ला क्षयरोगको जोखिममा रहेको जिल्ला हो । सरकारले यसवर्ष देशभरका २२ जिल्लालाई क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु गरेको छ । कैलालीको टीकापुर क्षयरोगको जोखिममा रहेकाले सुदूरपश्चिमका तीन पालिका त्यसमा टीकापुर पनि छनोटमा परेर अभियान सुरु गरेको छ । क्षयरोगको उपचारमा आउनेहरुले नियमित औषधि सेवन नगर्दा पनि क्षयरोग निवारणमा समस्या हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् ।

‘‘घरमुलीलाई क्षयरोग भएमा उसको परिवार नै समस्यामा पर्छ । नियमित औषधि सेवन गर्दा उसको रोजीरोटी चल्दैन’’, भन्नुभयो, ‘‘त्यसैले कतिपयले २÷३ महिना नियमित औषधि सेवन गर्ने अलि आराम भएपछि रोजगारीका लागि बाहिर जाने गर्नाले रोग निवारणमा समस्या हुन्छ । यो औषधि नियमित सेवन गर्नुपर्छ ।’’

  • १५ जेष्ठ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !