राजनीति पेशा होइन, विशुद्ध समाजसेवा हो : पोख्रेल

आजभोलि

कुन्तीदेवी पोख्रेल, उम्मेदवार काठमाडौं क्षेत्र नं. २, प्रतिनिधि सभा सदस्य, तथा केन्द्रीय सदस्य, राष्ट्रिय प्रजातन्त्र पार्टी ।

समाजसेवा र व्यवसायबाट राजनीतिमा उदीयमान युवा नेत्रृ हुन् कुन्तीदेवी पोख्रेल । उनले आगामी आमनिर्वाचनमा प्रतिनिधि सभा सदस्यको लागि काठमाडौं क्षेत्र नं. २ बाट उम्मेदवारी दिएकी छन् । काठमाडौंकी स्थायीवासी पोख्रेलले राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मदवारी दिएकी हुन् । राप्रपाको केन्द्रीय सदस्यसमेत रहेकी उनी समाजसेवी, सफल व्यवसायी र कुशल नेतृको रुपमा परिचित छन् । पोख्रेल सम्पन्न राप्रपाको महाधिवेशनबाट सार्वधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन् । उनले काठमाडांैमा २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने प्रतिवद्धता जनाएकी छन् । पोख्रेलले राजनीति विसुद्ध समाजसेवा भएकाले शासक होइन, जनताको सेबक बनेर काम गर्न आएको बताएकी छन् । उनै नेतृ पोख्रेलसँग आमनिर्वाचनमा केन्द्रित रहेर कालिका महतले गरेको कुराकानी ;

घरदैलो कार्यक्रम लिएर जनतामाझ धेरै पटक पुग्नुभयो, उहाँहरुबाट कस्तो आश्वासन पाउनुभयो ?
त्यसरी भेट्ने क्रममा मैले काठमाडौं क्षेत्र नं. २ का जनताबाट पटक–पटक चुनाव जितेर पदमा पुग्दा पनि काम नगर्ने, ‘टुरिष्ट’ उम्मेदवारलाई बिदाइ गरी स्थानीय युवा उम्मेदवारलाई भोट दिने आश्वासन पाएकी छु । निर्वाचनैपिच्छे चुनावी क्षेत्र परिवर्तन गर्दै हिड्ने, चुनाव जितेपछि त्यो क्षत्रामा एकपटक पनि फर्केर नआउने उम्मेवारदेखि वाक्क, दिक्क भएको पाएँ । कतिपयले त अब यो क्षेत्रमा दोहोरिएर जो आएपनि उस्तै हो, आफ्नो दुःख आफैसँग हुने रहेछ भन्दै ‘यहाँबाट एमाले नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले चुनाव जित्नुभयो ।

त्यसपछि माओवादी नेता झक्कुप्रसाद सुवेधी आउनुभयो उहाँलाई भोट दियौं । तर, चुनाव जितिसकेपछि उहाँहरु एकपटक पनि फर्केर आउनुभएन’ दुखेसो पोखे । त्यसकारण अब बाहिरबाट आएका उम्मेदवारलाई भोट नदिने भन्दै आकोश पोख्नुभयो । जो यो क्षेत्रको भूगोल, जनताको आवश्यक र धर्म, संस्कार, संस्कृति बुझेको स्थानीय उम्मेवार छ उसलाई भोट दिने विचार भएको पाएँ । यसरी मैले अहिलेसम्म घरदैलो तथा देउसीभैलो कार्यक्रम मार्फत जनतासँग भेटगर्दा सबैबाट यसपटक मत परिवर्तन गर्ने मनसाय पाएँ । त्यसकारण पनि यसपटक काठमाडौं २ बाट मैले चुनाव जित्छु भन्नेमा ढुक्क छु ।

तपाईंलाई चाहीं यहाँका जनताले भोट दिने कारण के ?
पहिलो कुरा त म क्षेत्रकी स्थानीयवासी हुँ । मलाई यहाँको आवश्यकता र महत्व थाहा छ । अर्को यहाँका जनताले मलाई नजिकबाट नियाल्ने मौका पाउनुभएको छ । हिजोका दिनमा मैले सामाजिक काममार्फत धेरैसँग सहकार्य गरेकी छु । समाजसेवामार्फत धेरैको सुखदुःखमा साथ लिएकी छु । यहाँका धेरै दिदी–बहिनीहरुसँग हातमाहात मिलाएर काम गरेकी छु । त्यो भएर पनि उनीहरु मलाई भोट दिन्छन् भन्नेमा विश्वस्त छु ।

बाहिरबाट आएका उम्मेवादरले चुनाव जितेर पटक–पटक पदमा पुग्दा पनि जनताको जीवनस्तर उकास्ने किसिमको कुनै पनि योजना नल्याएकाले जनताले भोट परिवर्तन गर्ने निर्णय गरेका छन् । म त चुनाव हारे हारौं तर क्षेत्र परिवर्तन गरेर अनेत्र जाने होइन । यहीका जनतासँग काम गरेर हिड्ने हो । उहाँहरु बिरामी हुँदा अस्पताल पुग्छु । आफ्नो बलबुताले भ्याएको सहयोग गर्छु । विबाहमा जन्ती बन्छु । जनतालाई आइपरेका दुःखका बेला साथ दिएर सहयोग गर्छु । विकास निर्माणका लागि पहल गर्छु । त्यसकारण पनि काठमाडौं २ का जनताले यसपटक मलाई विजयी बनाएर संसदमा पठाउनुहुन्छ भन्नेमा ढुक्क छु ।

तपाईंको प्रतिस्पर्धामा सत्तागठबन्धनको उम्मेदवार छन् अनि कसरी ढुक्क हुनुहुन्छ ?
उहाँले पार्टीका शीर्ष नेताहरुसँग गठबन्धन गर्नुभएको छ । मैले यहाँका जनतासँग गठबन्धन गरेकी छु । भोट दिने ती शीर्ष नेताहरुले होइन, जनताले दिने हो । अनि कसको गठबन्धन ठूलो हो ? फेरि सत्तागठबन्धनबाट आउनुभएको उम्मेदवारले हिजोका दिनमा पटक–पटक चुनाव जितेर के गर्नुभयो ? देशको जिम्मेवार पदमा पुगेर उहाँलाई हिजो संसद्मा पु¥याउने, युद्धका बेला साथ दिने जनताको लागि के गर्नुभयो ? युद्धमा साथ दिने रोल्पा, कुरुक, सल्यान, जाजरकोट, अछाम, दार्चुलालगायत सुदूरपश्चिमको दूरदराजमा बस्ने जनताका दुःख ज्यूँकात्युँ छन् । हिजो माओवादी भूमिगत हुँदा बन्दुक बोकेर हिँड्नेहरु अहिले कतिपय खाडी मुलुकको ५०, ५५ डिग्री तातो घाममा श्रम गरिरहेका छन् । कति अङ्गभङ्ग भएर हातमुख जोृर्ने समस्यामा छन् ।

कतिपय बेपत्ताको अहिलेसम्म टुंगो छैन । तिनका परिवारलाई कस्तो दुःख छ भनेर एकपटक खोज्नुभएको छ ? उहाँको क्षेत्र रोल्पाका जनताको आवश्यकता के छ, विकास निर्माण के भएको छ भनेर बुझ्नुभएको छ ? अनि उहाँले काठमाडौंका जनताको दुःख बुझ्नुहुन्छ, यहाँको विकास गर्नुहुन्छ भन्ने आधार के ? त्यो कुरा काठमाडौं २ का जनताले राम्रसँग बुझिसकेका छन् । अब यहाँ बाहिरबाट आएर जनता झुक्याउने दिन गए । त्यसरी पटक–पटक बाहिरबाट आएर जनता झुक्याउन म दिनेवाला छैन । उहाँहरु आवश्यकता भन्दा विलासितातिर लाग्नुभएको छ । त्यसको लागि आगामी निर्वाचनमा जनताले मत परिवर्तन गरी जवाफ दिने छन् ।

गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीले त प्रतिवद्धता अनुसार काम गर्न नसके राजीनामा दिन्छु भन्नुभएको छ नि ?
काठमाडौं २ को निर्वाचन राप्रपाबाट मैले जित्छु अनि उहाँले राजीनामा नै दिनुपर्दै नि । यहाँका जनताले नै बिदाइ गरेर रोल्पा पठाइदिहाल्छन् नि । चुनावै नजितेपछि राजीनामा दिनुपर्ने आवश्यकता नै हुँदैन । उहाँले किन राजीनामा दिन्छु भन्नुभएको होला भने यसअघि रोल्पाबाट चुनाव जित्नुभयो । त्यहाँका जनताको काम गर्नसक्नुभएन । यसपटक रोल्पाबाट डराएर काठमाडौं छिर्नुभयो । यहाँपनि काम गर्न सक्ने उहाँमा हिम्मत भएन अनि त्यसो भन्नुभएको होला । उहाँलाई संसद्मा राजीनामा दिइरहनुपर्ने झन्झट यहाँका जनताले दिँदैनन् । आफ्नै थातथलो रोल्पामा गएर काम गरे भै’गो नि । काठमाडौं २ को चिन्ता उहाँहरुले किन लिनुप¥यो ? काठमाडौं २ को जिम्मा यसपटक राप्रपाले लिन्छ ।

यहाँबाट प्रतिनिधित्व गर्ने नेता देशको प्रधानमन्त्री हुँदा पनि नभएको काम कुन्ती पोख्रेलबाट परिपूर्ति हुने आधार के ?
उहाँहरु बाहिर आउनुभयो । यहाँको भूगोल, जनताको आवश्यकता र यो ठाउँको महत्व थाहा नै भएन । मीठामीठा भाषण दिनुभयो, जनता झुक्याउनुभयो चुनाव जित्नुभयो । चुनाव जितिसकेपछि त्यो क्षेत्रमा बुझ्न फर्के जानुभएन । आफ्नो दुनो साझ्याउनुभयो । पदमा पुग्नुभयो सुविधाभोग गर्नुभयो । जनताले पत्याउन छाडेपछि भाग्नुभयो । माधव नेपाल रौतहट पुग्नुभयो । झक्कुप्रसाद सुवेदी कहाँ हुनुहुन्छ पत्तोफाँट छैन । त्यसैले अहिले यहाँका जनताले परिवर्तन खोजेका छन् । त्यसको लागि जनताले भोट परिवर्तन गर्ने विचार गरेका हुन् । जहाँसम्म अहिलसम्म नभएका काम गर्ने आधार के भन्ने प्रश्न छ त्यसको उदाहरण संखरापुर नगरपालिकालाई हेर्दा हुन्छ ।

त्यहाँ सरकारले पाँच वर्षमा गर्न नसकेका धेरै काम राप्रपाबाट निर्वाचित नगरप्रमुख रमेश नापितले ६ महिनामा गरेर देखाइसक्नुभएको छ । त्यसमाथि राप्रपाबाट प्रदेश र संघमा पनि हामी निर्वाचित भएर आएपछि उहाँसँगै मिलेर काम गर्दा विकास नहुने कुरै छैन । हामी संघ र प्रदेशमा निर्वाचित भएर आइसकेपछि काठमाडौं क्षेत्र नं. २ लाई देशकै नमुना निर्वाचन क्षेत्र बनाएर देखाइदिन्छौं । त्यो भिजन मसँग छ, मैले यो क्षेत्रको आवश्यकता, महत्व र जनचाहना बुझेकी छु । स्थानीय, प्रदेश र संघ मिलेर काम गरेपछि क्षेत्रमा परिवर्तन ल्याएरै छाड्छौं ।

भेटघाटको क्रममा जनतासमक्ष जाँदा के के समस्या रहेको पाउनुभयो ?
काठमाडौं क्षत्र नं. २ सिंहदरबार नजिक भएर पनि आयातित उम्मेदवारका कारण विकास निर्माणमा धेरै पछि परेको देखियो । किन भने कोटेश्वरबाट भक्तपुरतिर गएका सडकहरु डाँडाकाडासम्म चिल्ला र फराकिलो छन् । तर, त्यहीं कोटेश्वरबाट पेप्सी, गोठाटार, मूलपानी, थली, साँखुलगायतका ठाउँमा जान धेरै समस्या छन् । त्यसैगरी जर्सिङपौवा, लप्सीफेदीतिर त झन् एम्बुलेन्स पुग्न पनि गाह्रो छ । म घरदैलो कार्यक्रम लिएर जाँदा कतिठाउँमा गाडी ठेल्नुपर्ने समस्या खेप्नुप¥यो । बाटो पुगिहाले.पनि नाममात्राका छन् । धुलो, धुँवा, हिलो खाल्डाखुल्टीले गर्दा जनता आजित भएको पाएँ ।

चुनावको कुरा गर्दा पहिला बाहिरबाट आएका नेताहरुलाई भोट दियौं । उनीहरु चुनाव जितिसकेपछि यहाँ फर्केर आएनन् भनेर दुखेसो पोखेको पाएँ । त्यसकारण यहाँको विकासको लागि भूगोल, जनताको भावना र ठाउँको महत्व बुझेको नेतृत्व हुनुपर्ने जनताको चाहना छ । त्यसैगरी कला, संस्कार, संस्कृतिको जर्गेना गर्नुपर्ने छ । सडकहरु व्यवस्थित गर्नुपर्ने, जर्सिङपौवा, लप्सीफेदी र साँखुलाई धार्मिक पर्यटनमा विकास गर्नुपर्ने । नागरिकको जीवन यापनका लागि शान्ति र अमनचयको वातावरण हुनुपर्ने । बेरोजगार युवा तथा महिलाहरुको लागि स्वरोजगारमुलक व्यवसायिक तालिमको व्यवस्था हुनुपर्ने । व्यवसाय थालेकाहरुलाई लगानीको ५० प्रतिशत अनुदान राज्यबाट व्यवस्था हुनुपर्ने लगायतका माग जनताको रहेको छ ।

त्यसको सम्बोधन तपाईंबाट हुन्छ त ?
मजाले सक्छु । म सांसद नहुँदा पनि यस क्षेत्रका जनताका धेरै काम गरेकी छु । जनप्रतिनिधि नहुँदा त मैले समाजसेवा मार्फत धेरै काम गरेकी छु भने सांसद् भइसकेपछि गर्न नसक्ने कुरै हुँदैन । हिजो यस क्षेत्रमा बाहिरबाट आएका जनप्रतिनिधि भए । उनीहरुलाई त आफ्नो बन्दोबस्त गर्नुथियो त्यो भएर जनताका काममा ध्यान गएन । म त राजनीतिमा कमाउन लिन आएकी होइन, केही दिनका लागि आएकी छु । मलाई चुनाव जितेर घर बनाउनु, गाडी किन्नु छैन ।

त्यो त मेरो व्यवसायबाट कमाएर पहिला नै किनिसकेकी छु । मैले चुनाव जितेको भोलिपल्टबाट जनताको चाहना अनुसार काम गर्न थाल्छु । उहाँहरुसँगै सहकार्य गरेर कुन ठाउँमा के आवश्यकता छ, सोही अनुसार काम गर्छु । हिजोका जनप्रतिनिधिले आफ्नो स्वार्थमा काम गरे । म जनताको आवश्यकता, चाहना अनुसार उहाँहरुलाई साधेर काम गर्छु । जुन ठाउँमा काम गर्नुछ, त्यहाँका स्थानीयसँग सोधेर उहाँहरुको सल्लाह, सुझाव, चाहनामा काम गरेर देखाउँछु । त्यो प्रतिवद्धता यही मिडियामा मार्पmत् व्यक्त गर्दछु ।

त्यसोभए काठमाडौं २ मा तपाईंले चुनाव जित्नुहुन्छ हो ?
यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्छु । त्यसको लागि यहाँका जनताले मलाई साथ, सहयोग र समर्थन गर्ने दृढ विश्वास दिलाइसकेका छन् । त्यसको लागि आगामी मंसिर ४ को बेग्र प्रतिक्षामा छन् । यो चुनावबाट काठमाडौं २ का जनताले बाहिरबाट आयातित ‘टुरिष्ट’ उम्मेदवारलाई बिदाइ गर्ने छन् । स्थानीय युवा नेतृत्वको आवश्यकता महसुस गरेका छन् । त्यसकारण पनि मेरो जित सुनिश्चित छ ।

अन्त्यमा राजनीति पेशा कि सेवा ?
राजनीति पेशा होइन विसुद्ध सेवा हो । त्यसकारण म राजनीतिमा कमाउन नभइ समाजसेवा गर्न आएकी हुँ । पछिल्लो समय धेरैले राजनीतिलाई पेशा बनाए । त्यसले राजनीतिमा फोहोरी खेलहरु धेरै हुन थाले । देशमा भ्रष्टाचार, विकृति, विसंगतिहरु झागिँदै गयो । अन्याय, अत्याचार, अराजकता र बलात्कारका घटनाहरु बढ्न थाले । नेताहरु भ्रष्टाचारी र विलाशी जीवनतिर उन्मुख भए । त्यसबाट युवाहरुमा राजनीतिप्रति वितृष्णा जागेर विदेश पलायन हुनथाले ।

अहिले यावत समस्याबाट राजनीति क्षेत्र पुरै फोहोर भएको छ । विभिन्न समस्याबाट ग्रसित र फोहोर भएको राजनीतिलाई सफा गरेर परिवर्तनको सही बाटोमा ल्याउन प्रतिनिधि सभामा मेरो उम्मेदवारी रहेको छ । राजनीतिमा सुद्धिकरण नभइकन विकास र समृद्धि नहुने रहेछ । त्यसको लागि नेतृत्वमा सेवाभावको जरुरी छ । म समाजसेवी भएकाले पनि राजनीतिमा आउन वाध्य भएकी हुँ । त्यो कुरा काठमाडौं २ का जनताले राम्रोसँग बुझेका छन् ।

 

  • ११ कार्तिक २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ४. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ५. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • ६. अमेरिकामा गोली हानी नेपालीको हत्या
  • ७. कालंगा हाइड्रोको व्यापक आलोचनाः सबैको प्रश्न, चीर-बुंगलका जनताले के पाए ?
  • ८. विकल्प कि निर्विकल्प ? (फरक राजनीतिक विश्लेषण)
  • ९. स्ववियु निर्वाचन र नेविसघंको भूमिका
  • १०. नेकपा अर्थात् गफाडी क्लब !