काभ्रेमा रेबिजको बिकबिकी, सतर्क रहन आग्रह

आजभोलि

काभ्रेपलाञ्चोक । काभ्रेमा पटकपटक रेबिज रोगको बिकबिकी भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएपछि त्यसबाट जोगिन आग्रह गरेको हो ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो । महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ ।

केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए । वडा नं १ का अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो ।

वडाध्यक्ष जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताए । उनले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिए । गाउँपालिकाका देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् ।

कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताएका छन् । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताए । उनका अनुसार घटनाक्रमले जिल्लामा रेबिज रोगको सङ्क्रमण केही वर्षनै रहिरहने देखिएको छ ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो । स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि तथा अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षेत नभएको केन्द्रले जनायो ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । एक वर्षअघि चौँरीदेउरालीमा रेबिजबाट मानिसको मृत्यु भएपछि केन्द्रले सामुदायिक तथा छाडा कुकुरसँग सावधानी अपनाउन आग्रह गर्दै आएको छ ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेविज सर्दैन । काँचो दूध, मासु खाँदा रेबिज रोग सर्छ । उनान्सय प्रतिशत सङ्क्रमण कुकुरबाट सर्ने गर्दर्छ । कुकुरलाई रेबिजविरुद्धको खोप लगाउँदा रेबिज फैलन पाउँदैन । रेबिज लागेको कुकुरले मान्छे, पशुपन्छीलाई टोकेको अवस्थामा रेबिज सर्न सक्छ ।

  • १९ मंसिर २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !