‘मेलमिलाप नीति, विदेशी प्रभावविरुद्धको रणनीति हो’

वीपी कोइराला

मलाई पत्रकारहरूले प्रश्न गर्छन्, ‘राष्ट्रिय मेलमिलापको सम्भावना टरेर गइसक्यो, तपाईंका वरिष्ठ सहकर्मी श्री गणेशमान सिंहले पनि त्यसको सम्भावना नरहेको मन्तव्य व्यक्त गर्नुभएको छ, यस नीतिमा अब पुनर्विचार गर्नुहुँदैन? यस्तो प्रश्नकर्ताको मनमा राष्ट्रिय मेलमिलापको सम्भावना सकियो, अर्थहीन भइसक्यो, त्यसैले यसमा पुनर्विचार हुनुपर्छ भन्ने लागेको हुन्छ।

उनीहरू राष्ट्रिय मेलमिलापको कति सम्भावना छ? भनेर सोध्दैनन्। तर सम्भावना टरेर गइसक्यो भनेर सोच्छन्। प्रश्नकर्तामा राष्ट्रिय मेलमिलापको सम्भावना सिद्धिसक्यो भन्ने एउटा पूर्वाग्रह हुन्छ। मैले पहिले पनि यस प्रश्नको जवाफ दिएको थिएँ। म फेरि एकपल्ट त्यसलाई छोटकरीमा दोहोर्याउँछु।

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं। हामी यस्तो गम्भीर निर्णय लिएर त्यसै अंध्यारोमा होमिन, त्यसै आत्महत्या गर्न आएका त होइनौं होला हामीले धेरै गम्भीर विश्लेषण गर्यो र यहाँ आयौं।

हामी त्यस विश्लेषणबाट तीनचारवटा परिणाममा पुग्यौं त्यसमध्येको पहिलो निष्कर्ष हो, ‘राजाले आफ्नै व्यवस्थाबाट बाँधिइनुपरेको छ र अब राजाको प्रयत्नको सार्थकता समाप्त भइसकेको छ।

०१७ सालमा राजाबाट एउटा ठूलो देशघाती काम भयो। एउटा प्रजातान्त्रिक प्रयोग सफलतापूर्वक चलिरहेको थियो, त्यसलाई समाप्त गरियो मैले जहिले पनि भन्ने गरेको छु, म राजालाई शङ्काको फाइदा दिन्छु। उहाँलाई लाग्यो होला, ‘प्रजातान्त्रिक प्रक्रियामा बेसी छलफल हुन्छ र त्यसको नतिजा चाहिँ कम्ती हुन्छ।

त्यसो हुँदा मैले बुझेको देशको हित के हो, त्यो मलाई थाहा छ र मैले त्यसलाई कार्यान्वयन गर्न सकेँ भने देशको विकास चाँडै हुन्छ भन्ने सदिच्छाले स्वर्गीय महाराजधिराजले पञ्चायत ल्याउनुभयो। उहाँले ठान्नुभयो, ‘मेरो खटनमा सैनिक त छ, मेरो खटनमा प्रशासन त छ, तर मेरो राजनीतिक साधन छैन।

पञ्चायत मेरो राजनीतिक साधन बनोस् नत्र पञ्चायत ल्याउनुपर्ने कारण नै थिएन। राणाहरूले पञ्चायत नभइकन पनि शासन चलाएका थिए। उहाँलाई चलाउनका लागि कार्यकर्ताहरू चाहियो, तर ती खोई त? उहाँले पुरै उताबाट लिनुभयो। त्यसमा नेपाली काङ्ग्रेसका वरिष्ठ मानिसहरू पनि थिए। व्यक्तिगत स्वार्थपूर्तिका निम्ति गए तर अर्को कम्युनिस्ट जमात पनि थियो। त्यसले यसलाई एउटा अवसरका रूपमा लियो। उनीहरूले ठाने, यहाँ त एउटा काम मात्र गर्नुपरेको छ। राजाको अवसरलाई बेअवसर पारिदिने।

प्रशंसा गरिदियो र आफू घुसपैठ गयो, बस्। यसरी यो जमात पनि एउटा राजनीतिक निर्णय लिएर प्रवेश ग¥यो। यो तपाईंलाई थाहा छ कि छैन, त्यसबखत कम्युनिष्ट पार्टीको मिटिङ भएको थियो। त्यसबेला कम्युनिस्ट पार्टीमा फाटो आएको थिएन।

त्यसमा उनीहरूले निर्णय लिए, ‘हामीले इन्डोनेसियाका कमरेड अइडिटको फर्मुला यहाँ लागू गर्नुपर्छ र त्यसैलाई हाम्रो फर्मुला मान्नुपर्छ।

यो अर्ती दिने कमरेड आइडिट कम्युनिस्ट नेता थिए र उनीहरूले मद्धत गरे। जेजस्तो भए पनि उनी भयानक आत्मविश्वास भएका मानिस हुन् उनले सुकार्नोको खुब प्रशंसा गरे। सुकार्नो कम्युनिस्ट सिद्धान्तसँग मेल नखाने मुस्लिम धर्म मान्छन्, उनले त्यसलाई पनि स्वीकार गरे। उनले जे भन्छ, त्यो मान र खासगरी फौज र दरबारको रक्षकमा घुसपैठ गर भन्ने लिए। उनले सुकार्नोलाई भने, ‘हामीबाहेक तिम्रो पक्षमा कोही छैन किनभने सुकार्नाको व्यक्तिवादी शासनदेखि प्रजातन्त्रवादीहरू रिसाएका थिए।

, कम्युनिस्टहरूले त्यही रणनीतिलाई अनुसरण गरिरहेका थिए। त्यसैताका यहाँ २०१७ सालको त्यस्तो काण्ड भयो। त्यसबखत इन्डोनेसियामा कम्युनिस्टहरूको त्यो रणनीति भयानक सफल भइरहेको थियो। सेनामा उनीहरूको घुसपैठ थियो, त्योभन्दा पनि बढी सुर्काेनको दरबारको सुरक्षागार्ड उनीहरूको पक्षमा आइसकेको थियो।

अनि, म जेल गइसकेपछि, सन् १९६४६५ तिर इन्डोनेसियाली कम्युनिष्टले कारबाही सुरु गरे। उनीहरूले अब हाम्रो अवसर आइसक्यो भन्ठाने। उनीहरूले धेरै जनरलहरूलाई पनि मारे। उनीहरू त्यसमा त सफल भए, तर उनीहरूले अपरिपक्व कारबाही गरेछन्। सेनाले प्रतिक्रिया जनायो।

त्यस कारबाहीमा दरबारकोसुरक्षागार्डत पूराका पूरा कम्युनिस्ट पक्षमा थियो, तर सेना भने उनीहरूले सोचेअनुसार उनीहरूको पक्षमा थिएन। अहिले सत्तामा रहेका सुकार्नाेले भागेर सेनाको परिचालन गरे। एक जना अर्को जनरल पनि भागेर सुकार्नाेलाई। मद्दत गर्न पुगे र सत्ता कम्युनिस्टहरूमा हस्तान्तरण हुन दिएनन्।

राजाले १७ सालको काण्ड गरेपछि आइडिटको फर्मुलालाई अंगाल्ने रणनीति यहाँ कम्युनिस्टहरूले बनाएर त्यसै अनुरूप काम गरे। महाराजधिराज ढुक्क। उहाँलाई लाग्यो, मेरो त बिहानबेलुका तारिफ हुन थालिरहेको छ। अनि सबैभन्दा बेसी समर्थक कम्युनिस्ट पार्टीका डीपी अधिकारी थिए। उनी आजसम्म पनि त्यही दुहाई दिँदै हिंडिरहेका छन्। उनले सबैभन्दा पहिले आइडिटको फर्मुलालाई यहाँ प्रतिपादित गरेका थिए।

त्यसपछि उनीहरू व्यवस्थाको महत्वपूर्ण ठाउँहरूमा आएर बसे। त्यतिले पनि उनीहरूलाई पुगेन, जब दोस्रो संशोधन भयो, उनीहरूलाई नयाँ कुरा मिल्यो। उनीहरूले पञ्चायतलाई पनि नियन्त्रण गर्नुप¥यो भनेर गाउँ फर्क लगाए। राजा त आफ्नै। त्यसो हुँदा उनीहरूले भने हरेक तहमा चुनावको उम्मेदवार रोज्नका लागि गाउँ फर्कमा राजाले मनोनयन गरेको एउटा कमिटी हुनुपर्याे।

सबैभन्दा पहिले त्यसले व्यक्तिको बफादारिता पञ्चायतपट्टि छ कि छैन भन्ने हेर्ने व्यवस्था मिलाइयो अर्थात्, राजाको दुहाई दिएर कम्युनिस्टहरूलाई समर्थन गर्नेछ वा छैन भन्ने त्यसले हेर्दथ्यो त्यसपछि कसलाई जिताउने भन्ने पनि गाउँ फर्कको तुरुन्त कमिटीले नै निर्णय गर्दथ्यो। त्यसप्रकार, गाउँ फर्कको केन्द्रीय कमिटीमा एक जनाबाहेक अरू सबै कम्युनिस्ट नै थिए।

जनमत सङग्रहको घोषणापछि महाराजधिराजबाट विघटन गर्दा त्यसमा एक जना व्यक्तिबाहेक अरू सारा कम्युनिस्ट पार्टीका सदस्य थिए। एक जनाचाहिँ हाम्रै पार्टीबाट गएको थियो। उसको त कुनै उद्देश्य नै थिएन उसको स्वार्थ त केवल महाराजधिराजबाट केके न पाऊँला भन्ने मात्रै थियो। त्यस्तो प्रजातन्त्रवादी विश्वबन्धु थापाले टिक्न नसकेर राजीनामा दिएर आउनुपर्याे।

अहिले पनि मलाई लाग्छ, धेरै अञ्चलाधीशहरूको भित्री भाव देश र महाराजधिराजभन्दा कम्युनिस्टपट्टि छ। हामीहरूले यो कुरा पाँच वर्ष पहिले बुझ्यौं कम्युनिस्ट भन्नुको तात्पर्य, कम्युनिज्मको विरोध गरेको होइन। म जब कम्युनिस्ट भन्छु, म तब विदेशी एजेन्ट भन्छु। आफ्नो गोडामा उभिएर कुनै पनि आदर्श र सिद्धान्तले जित्न सक्दछ भने म प्रजातन्त्र भनेको समेत त्यहीँ हो भन्छु कुनै पनि विचारले आफ्नो गोडामा उभिएर जित्छ भने त्यसले जित्न पाउने अधिकार राख्छ।

मैले कम्युनिस्टको मात्र चर्चा गरेँ। हिन्दुस्तान त कम्युनिस्ट होइन, यो बीस वर्षसम्म के ऊ चुप लागेर बसेको थियो? राजाबाट २०१७ सालमा देशघाती काम भयो, त्यसबखत जनताको पक्षबाट जनताकै आधारमा राजनीति गर्नेहरूलाई त सखाप पार्ने प्रयत्न गरियो, तर विदेशका एजेन्टहरूलाई भने विभिन्न सांस्कृतिक केन्द्रको नाउँबाट विभिन्न सदभावना मण्डलको आदानप्रदानको नाउँबाट पूरा छूट मिल्यो।

जुन बखत मेरो वक्तव्य लुकी लुकी पढ्नुपथ्यो, कसैको गोजीबाट निस्क्यो भने तीन वर्षसम्मको सजाय हुन्थ्यो, त्यसबेला माओ त्सेतुङको खुला प्रचार हुन्थ्यो त्यसबेला अरू विचारधाराको पनि यहाँ प्रचार हुन्थ्यो। उनीहरूलाई छुट थियो उनीहरूलाई कूटनीतिक छूट थियो।

त्यसैले उनीहरूको ढाँचा बनेर गयो, उनीहरूका तलबी एजेन्ट बनेर थुप्रै गए म केवल रुसलाई मात्रै भन्दिनँ। यो बीस वर्षमा हिन्दुस्तानमा, चीनका अमेरिकाका वा महत्त्वपूर्ण देशका प्रतिनिधिहरू जति थिए, उनीहरू यहाँ तमासा हेरेर बसेका थिएनन्। यो कुरा बुझेर नै हामी राष्ट्रिय मेलमिलापको आधारमा आएका थियौं।

जुन बखत मेरो वक्तव्य लुकी लुकी पढ्नुपथ्यो, कसैको गोजीबाट निस्क्यो भने तीन वर्षसम्मको सजाय हुन्थ्यो, त्यसबेला माओ त्सेतुङको खुला प्रचार हुन्थ्यो त्यसबेला अरू विचारधाराको पनि यहाँ प्रचार हुन्थ्यो। उनीहरूलाई छुट थियो उनीहरूलाई कूटनीतिक छूट थियो।

मैले बुझेर किन भनेको भने त्यसबखत बांधिएको स्थिति थियो र राजाबाट हुने कामको सार्थकता समाप्त भइसकेको थियो। राजाले मलाई मार्न सक्ने स्थिति छैन। मलाई मारेर राजाको समस्या समाधान हुँदैन, झन् बढ्छ। किनभने पञ्चायत नै राजाको पनि काल भएको छ।

जनताले बीस वर्षसम्म यो पञ्चायत व्यवस्थालाई भोगेका छन्, हामीले त्यही बुझेर आएका थियौं। म किन यो कुरा विस्तारपूर्वक भन्न थालेको छु भने, तपाई मेलमिलापको नीतिको आधार बुझ्नुहोस् अनि, मेलमिलापको औचित्य छ कि छैन स्वतः बुझ्नुहुनेछ।

अर्को कुरा, राजाबाट पनि हाम्रो देशमा पञ्चायत व्यवस्थाले बडो स्थायित्व प्रदान गरेको छ भन्ने ठानिएको थियो। अब जनताको नासो जनतालाई नै सुम्पेँ भनेर पनि एक चरणमा महाराजधिराजबाट भनियो। नेपालको मलजलमा हुर्किएको पञ्चायती व्यवस्थाले जरो गाडिसकेको, अब यसलाई कुनै सुरक्षाको आवश्यकता नभएको, यहाँ बडो स्थिर, बडो शान्त र बडो प्रगतिशील संस्था कायम भएको छ पनि मनिएको थियो।

हिन्दुस्तानमा त्यत्रो प्रबल बहुमतले श्रीमती इन्दिरा गान्धीले जितेर आएकी थिइन् र त्यहाँ उनले सङ्कटकाल लगाइदिन्छिन्। बोल्ने कसैको अधिकार छैन, हिम्मत छैन। हिन्दूस्तानमा त्यस्तो स्थायित्व थियो। पाकिस्तानमा जन्मेदेखिकै सबैभन्दा अस्थिर पाकिस्तानमा चुनिएर आएका राष्ट्रपति भुट्टोको शासन कायम भएको त्यही बेला मात्र हो त्यहाँ उनका विरुद्ध कसैले बोलेको थिएन।

पाकिस्तानको इतिहासमा अत्यन्त लोकप्रिय भनिएका भुट्टोको शासन बडो स्थिर थियो। अफगानिस्तानमा राष्ट्रपति दाउद एकदम बलिया थिए। रुसले पनि मद्दत गरेको छ, अमेरिकाले पनि मद्दत गरेको छ, असंलग्न मुलुकको नमुना बनेको स्थिर अफगानिस्तानमा राजतन्त्र समाप्त भएपछि उनी राष्ट्रपति बनेका थिए।

इरानका शाह पनि बलियो भएर बसेका थिए। उनीपछि उनका छोरा पनि निश्चय नै राजा हुनेछन् भन्ने स्वप्न उनले देखिरहेका थिए। उनले अढाइ हजार वर्ष पहिलेदेखिको राजतन्त्रात्मक साम्राज्यको याद दिलाउन बडो ठूलो समारोह पनि गरेका थिए। त्यस समारोहमा हाम्रा महाराजधिराजको पनि सवारी भएको थियो।

त्यसबेला म जेलमा थिएँ, अर्थात्, इरान पनि स्थिर थियो। अरूहरू भन्थे, मध्यपूर्वमा त्यो नै स्थायित्वको द्वीप भएको छ। श्रीलंकामा भण्डारानाइके थिइन् र त्यहाँ पनि एकदम स्थायित्व थियो। तर त्यसैबखत मैले थाहा पाइसकेको थिएँ, अब यो दक्षिण एसिया अशान्त क्षेत्र हुँदै गएको छ। त्यसबखत मैले भनेका कुरा पढ्नुभएको वा टेप सुन्नुभएको भए थाहा पाउनुभएकै होला।

दोस्रो कुरा मैले भनेको थिए, यो हाम्रो भूभागमा शीतयुद्धको दृष्टि परिसकेको छ। अब यहाँको शान्ति खलबलिन थालेको छ। शान्ति क्षेत्र होइन, अशान्त क्षेत्र हुन आँटेको छ। तेस्रो कुरा, मैले भनेको थिएँ, हामीहरूले अबेर गर्यो भने हाम्रो देशको अस्तित्व नै खतरामा पर्न जान्छ। त्यसो हुँदा हामी प्रजातन्त्रवादीहरूमा राष्ट्रियता जोगाउने अर्को जवाफदेही थपिएको छ। हामीले यो जिम्मेदारी पनि वहन गर्नुपरेको छ।

यसरी वस्तुस्थितिलाई हेरेर आउँदा मलाई लागेको थियो यो देशका निम्ति, राष्ट्रका निम्ति, प्रजातन्त्रका निम्ति आउने खतरालाई हामीले वहन गर्नुपर्छ साँच्चै भनौं भने मलाई राजाबाट त खतरा लागेकै थिएन। खतरा विदेशबाट थियो राजाबाट खतरा छ भन्ने मलाई आजसम्म पनि लागेको छैन। राजाबाट मेलमिलापमाथि खतरा हुनै सक्दैन। मेलमिलापप्रति असद्भाव प्रतिक्रिया राजाबाट हुनै सक्दैन।त्यो त विदेशीहरूबाट, जोसँग मुकाबिला गर्नका लागि हामीले देशभित्र आउनुपरेको थियो, त्यसबाट हुन्छ। यहाँ हामीलाई खतरा छ भने विदेशबाटै छ भन्ने मुख्य कुरा विचार गरेर हामी देशभित्र आयौं।

धेरै मानिसलाई लाग्यो, प्राणको बडो ठूलो बाजी लगाएर आएँ। म यो भन्न हिच्किचाउँदिन, हामी प्राणको बाजी लगाएर आएका थिएनौं। यो सोचविचार गरेर लिइएको निर्णयको खतरा थियो।

मलाई त्यसबखत डाक्टर मृगेन्द्रराज पाण्डेले भनेको कुरा याद आउँछ। म बिरामी परिरहन्थे। मैले भनें, ‘डाक्टरसाहेब खतरा छैन?’ डाक्टरले भने– ‘जीवन नै सुनिश्चित खतरा हो।

अनि मैले मनमनै भर्ने राजनीतिमा त हिसाब गरिएको खतरा छ। खास गरी तेस्रो विश्वमा त विरोधीले सुनिश्चित खतरा लिनुपर्छपर्छ भनेर हामी आयौँ।

हामी आएपछि त्यसको विरोध भयो कहाँबाट, कुन तत्त्वबाट विरोध भयो र आजसम्म भइरहेछ? हुँदाहुँदासमीक्षा साप्ताहिकपत्रिका पनि अब आफ्नो अनुहार प्रस्ट देखाएर भन्छ, ‘यो मेलमिलापको नीति त अमेरिकी साम्राज्यवादको एउटा रूप हो।

म भन्छु, यहाँ राजा र प्रजाको मेल होस्, यहाँ राष्ट्रियता होस्, राष्ट्रिय सहमति होस्, देश संयुक्त भएर बढोस्, यो उथलपुथलको अवधिमा हामी एक भएर बस्यौं भने नेपालले आफ्नो भूमिका पूरा गर्नसक्छ। तर त्यो कुरा नै समीक्षालाई मन परेन। हुनसक्छ, ‘समीक्षाका सम्पादकलाई अनुकूल भएन। म यहाँ आएदेखि जान्न खोजिरहेछु, मलाई कसले समर्थन गर्याे? मैले आमसभाहरूमा भन्नुपरेको छ, ‘म एक्लो वृहस्पति भएर पनि रहन सक्छु।

मेलमिलाप, यही विदेशी प्रभावविरुद्धको रणनीति हो
यहाँको राजनीतिक क्षेत्रमा विदेशीहरूको बेसी बोलवाला छ। यहाँका अखबारहरू, यहाँका सञ्चारमाध्यमहरू, जो कुनै मान्छेलाई देवता बनाइदिन्छन् कुनै मान्छेलाई के कुरो गरिदिन सक्छन्, त्यो सबै गर्ने तागत कहाँबाट आयो? त्यो तागत त विदेशीहरूसँग छ।

मैले तिनीहरूकै मुकाबिला गरेको, मलाई लाग्छ, म एक्लो छु मैले नेपाली काङ्ग्रेसको बैठकमा पनि भनेको छु, म एक्लो वृहस्पतिजस्तो भएको छु विदेशीहरूको यत्रो ठूलो चाख भएको भए यहाँ यो पाँच वर्षभित्रमा दोस्रो, तेस्रो प्रजातान्त्रिक निर्वाचनको तयारी भइसक्ने थियो।

यो पञ्चायत व्यवस्था कायम रहोस् र यसमा बसेका मानिसहरू यथास्थितिमा बसून् भन्ने कसले चाहन्छ? हामी र राजामा मेल नहोस् भन्ने कसले चाहन्छ? राजा र प्रजामा मेल नहुँदा त्यसबाट कसलाई फाइदा भइरहेको छ? कुन तत्त्वलाई फाइदा भइरहेको छ? मलाई त्यही तत्त्वले पाँच वर्षसम्म बडो अप्ठेरोमा पार्यो।

म आफ्नो कुरा लेख्थेँ, तर मेरो आफ्नो अखबार छैन कहिले राष्ट्रपुकारले, कहिले अरू कसैले मेरो विचार दया गरेर छापिदिन्छन् मेरो विरोधी अखबार नेशनल स्टारले तवीपीको वक्तव्य हामी किन छाप्छौं?’ भनेर आफैँलाई विवादास्पद बनाएर छाप्यो। देशमा अहिले यस किसिमको वातावरण छ भन्ने तपाईंहरूले बुझिदिनुपर्यो। मेलमिलाप, यही विदेशी प्रभावविरुद्धको रणनीति हो।

यो रणनीति पछिसम्म पनि रहन्छ। यो राजाको हितका निम्ति पनि हो, राजाका विरुद्धमा भने होइन। यो रणनीति विदेशीहरूको दवावका विरुद्धको रणनीति हो।

अर्कोतिर, राजासितको हाम्रो लडाईं सकिएको छैन। राजासँगको हाम्रो लडाइँ आजदेखिको होइन। जुन बखत म प्रधानमन्त्री चुनिए, त्यसबखत पनि विरोध रहेछ र त मैले थुनिनुपर्यो। मेरो र राजाको त्यसबेलामा पनि मतभेद थियो।

नेपाली काङ्ग्रेसको वैधानिक अधिकारको अवहेलना गरेर जुन बेला मातृकाबाबु प्रधानमन्त्री बन्नुभयो र उहाँले बनाएको सानो पार्टीलाई नै देशको सबैभन्दा ठूलो पार्टी घोषित गरियो, त्यसै बेलादेखि राजासँग हाम्रो झगडा छ। निर्वाचन भयो, त्यसमा हामीले जित्यौं। तर त्यसबेला पनि राजाबाट हामीलाई मन्त्रीमण्डल बनाउन एकडेढ महिनासम्म बोलाइएन।

त्यसपछि, मेरो प्रधानमन्त्रित्व कालका राजाका भाषण सुन्नुभयो भने थाहा पाउनुहुनेछ, ती प्रधानमन्त्रीलाई सजिलो पार्ने खालका थिएनन्। यद्यपि मैले आफ्नो तर्फबाट राजा र हामीबीच मेलमिलाप हुनुपर्छ भनेर भयानक कोसिस गरेँ।

त्यसो हुँदा कसैले मेलमिलाप भनेको राजासँगको लडाईंको रणनीति हो भन्छ भने त्यो पनि गलत हो। यो मेलमिलाप राजासँगको लडाईंको रणनीति होइन। अहिले देशमा राजाबाट भन्दा पनि ठूलो खतरा विदेशीहरूबाट छ। त्यसमा म राजालाई सहयोगी बनाउन खोज्दैछु।

राजा पनि फन्दामा परेको अवस्था छ, म राजालाई त्यो फन्दाबाट निकाल्ने कोसिस गर्दैछ। त्यसको रणनीति हो, मेलमिलाप। त्यसैले रणनीतिको अवसर सिद्धियो वा त्यसका सम्भावना टरेर गए भन्ने मलाई लाग्दैन। जब म बिरामी परेँ कतिपय मानिसले मेरा निम्ति चिन्ता प्रकट गर्दा, यो रहेन भनेदेखि यो लाइन कसले चलाउँछ भन्नेसम्मका थिए।

उनीहरूले म प्रतिको चिन्ताबाट के महत्त्व बुझ्न थालेका छन्, यो खुसीको कुरा हो। यो कुरा सबैले चार वर्षअघि बुझिदिएको भए मैले भनिसके, यसबेला हामी दोस्रो आमचुनावको तयारीमा लागेका हुने थियौँ। त्यसो हुँदा हामीले अहिले अरू कुनै किसिमको नीति लिनुपर्ने खण्ड छैन।

म फेरि एकपटक भन्न चाहन्छु, मेलमिलाप भनेको पञ्चायत व्यवस्थासामु घुँडा नटेक्ने र राजासँग सङ्घर्ष नगर्ने रणनीति हो। हामी यो व्यवस्थामा नजाने पनि मैले राजासँग भनेको छु। यहाँ जुन राजनीतिक शक्तिहरू छन्, त्यसमध्ये राजा पनि एउटा शक्ति हुन् तर राजा मात्र सर्वेसर्वा शक्ति होइनन्। राजाले पनि रणनीति बनाउनुपर्छ। हामी सर्वेसर्वा शक्ति होइनौ, त्यसरी नै राजामा पनि सर्वेसर्वा शक्ति छैन।

यहाँ राजाको पक्षमा बोल्ने एउटा पनि अखबार छ भन्ने मलाई थाहा छैन। यहाँ ३०३५ वटाभन्दा पनि बढि अखबार निस्कन्छन्। तीमध्ये राजाको पक्षमा दिल दिएर लेख्ने एउटा पनि छैन। राजाको जयजयकार गर्दै खिल्ली उडाउने खालका अमरवाणी छाप्नेहरू मात्र छन्। तिनीहरू मलाईराजावादीभनेर लेख्छन्। म बिरामी परेँ भनेर पञ्चमा हाहाकार रे। म पञ्चसँग मिलेको छु रे म राजासँग मिलेको छु रे!

तर मेरो यही मेलमिलापको नीतिमा पनि एउटा कुरा त रहेछ नि! राजाले लालमोहर लगाएर घोषणा गरेको संविधानलाई स्वीकार नगर भन्ने अधिकार पनि यसमा समाहित छ। जब यहाँका बुद्धिजीवीहरू भने तछाडमछाड गरेर एकएकवटा उमेदवारलाई च्यापेर मसँग बहस गर्न आए, म र मेरो मात्र हाम्रो मेलमिलापको नीतिमा तिमीलाई चित्त बुझ्दैन भने राजाले दिएको घोषणालाई राजाले दिएको संविधानलाई पनि स्वीकार नगर भन्यो।

मैले भन्ने गरेको थिएँ, ‘तपाईंहरू बुद्धिजीवी बन्नलाई आफ्नो बुद्धिलाई बेचेर आउनुभएको छ। उनीहरू केसम्म भन्थे भने, ‘एउटै मतपत्रमा नानीमैयाँको चिह्नमा लागेको छाप चाहिँ ठीक, जोगमेहरलाई लागेको छाप चाहिँ बेठीक हो।

त्यो विचरा बुद्धिजीवीहरूको दिमागमा लागेको खिया र तिनीहरूले बुद्धिलाई तिलाञ्जली दिएर गरेको तँछाडमछाडले कसलाई लाभ पुयाएको छ? म भन्दिनँ, तिनीहरूले यो सबै तलबी भएर गरेका हुन्। तर हामीले बहिष्कार गरेको पछिल्लो चुनावबाट तिमीहरू कसरी विदेशीहरूको माध्यम हुनसक्दा रहनेछन् भन्ने तथ्य प्रमाणित भएको छ तिनै बुद्धिजीवीले मलाई भन्छन्।

राजा र व्यवस्थालाई मैले टेवा दिएर राखेको छु। म भ्रम नहोस् भनेर बडो प्रस्ट लेख्न थालेको छु। अङ्ग्रेजीमा कविको नाम नदिई कविता लेख्नेलाईएनोनिमसभन्छन् अब यसैले लेखेको हो भनेर कविको नाम पनि म भन्न थालेको छु किनभने उनीहरू अज्ञातको माध्यमबाट भयानक अराष्ट्रिय काम गर्न थालेका छन्। बुद्धिजीवीहरू राजालाई हामी मान्दैनौँ भनेर मसँग बहस गर्छन् म उनीहरूलाई प्रश्न गर्थे, ‘राजालाई चाहिँ नमान्ने, रुसलाई चाहिँ मान्ने? ‘समीक्षाले पनि राजालाई मान्दैन, तर उसले कसलाई मान्छ?’

त्यस्तो कोही चाहियो, जसले स्थिति के छ भनेर निर्भीक, भएर भनोस् त्यसैले मैले प्रस्टसँग भन्न थालेको हुँ। त्यसकारण मेलमिलाप भनेको राजासँगको मेलमिलाप हो। यो मेलमिलापको मुख्य आधार नै राजालाई प्रजातान्त्रिक पक्षमा ल्याउनु हो। राजालाई पञ्चायतको फन्दाबाट मुक्त गर्नु हो। त्यसको मतलब राजासँग हाम्रो मतभेद नै छैन भन्ने होइन।

राजाबाट जनताले अपहृत राजनीतिक अधिकारहरू जबसम्म फिर्ता पाउँदैनन्, तबसम्म झगडा टुङ्गिदैन। हामीले राणाहरूसँग लडेर लिएको अधिकार जुन बेला हनन् भएको थियो, त्यो झगडाको प्रारम्भ २००८ सालमा भएको थियो त्यस बेलादेखि आजसम्म जनताको अधिकारको हनन गर्नेसँग हाम्रो लडाइँ छँदै छ।
मेरो ध्यान त अहिले ती विदेशी तत्त्वहरू जो अञ्चलाधीश भएर बसेका होलान्, कोही दरबारभित्र सचिव भएर बसेका होलान्, कति सचिव र कर्पोरेसनका अध्यक्ष होलान्, त्यसको खतराप्रति केन्द्रित छ। त्यसैले अहिले मेलमिलापभन्दा अर्को नीतिको आवश्यकता छैन।

पुनर्जागरण मासिक वर्ष १, अङ्क ३ सन् १९८० (२०३७)

  • १६ पुष २०७९, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !