कांग्रेसलाई सुदृढीकरणको अवसर

आजभोलि

काठमाडौं । मंसिर ४, २०७९ मा भएको आमनिर्वाचनबाट नेपाली कांग्रेस प्रतिनिधि सभामा ठूलो दल बन्यो। तर केही समय सत्ताको रस्साकस्सीमा कांग्रेस पछारियो। निर्वाचनको निकैअघि, करिब डेढ वर्षपहिले अकस्मात र अस्वभाविकरूपमा पाँचदलीय गठबन्धन र त्यसको सरकार बन्यो। प्रधानमन्त्री बने कांग्रेस सभापति शेरबहादुर देउवा र अन्य दल सरकारमा सहभागी भए र मन्त्री बने। प्रतिगमनबाट संविधान बचाउन र प्रतिगमनलाई परास्त गर्न पाँचदलीय गठबन्धनको सरकार बनाउन बाध्य भएर यो गठबन्धन बनाएका हौँ भनेर भनियो। प्रतिगमनबाट संविधानको रक्षा गर्न निर्वाचनमा पनि हामी मिलेर जानुपर्ने आवश्यकता छ। निर्वाचनमा मात्र होइन, १५–२० वर्ष यो गठबन्धन सँगै जान्छ। हामी मिलेर जान्छौँ र प्रतिगमनबाट यो संविधानको रक्षा गर्छौँ भनेर नेताहरू कुर्लिए पनि। तर निर्वाचनपश्चात माओवादी अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष अध्यक्ष के.पी.ओलीसहित अन्य दलको सहयोगमा प्रधानमन्त्री बनेर गठबन्धन गल्र्याम गुर्लम ढल्यो। अहिले प्रचण्डले धोका दियो भनेर भनिँदैछ र कांग्रेसका जिम्मेवार नेता आफ्ना कमीकमजोरी ढाकछोप गर्ने प्रयास गर्दैछन्। कांग्रेसको नेतृत्वमा सरकार नबन्नुको दोष कसको टाउकोमा थोपर्ने भन्ने प्रयासमा ताना–बाना बुनिँदैछ र एक अर्कामाथि दोषारोपणको प्रयास भइरहेछ। कमीकमजोरी अरूका पनि होलान् तर यसको प्रमुख जिम्मेवारी नेतृत्व अर्थात सभापतिकै हो। यसको विश्लेषण निष्पक्ष र विस्तारमा गर्नु अति आवश्यक छ।

गठबन्धनबारे निर्वाचन पनि भइसक्यो। अब पाँचदलीय गठबन्धनबारे पनि छलफल र विश्लेषण गनुपर्ने आवश्यकता छ। वास्तवमा पाँचदलीय गठबन्धन आप्राकृतिक र स्वार्थबस बनेको थियो। तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीको पेलानमा परेका पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र माधव नेपाल ओलीको पञ्जाबाट उन्मुक्ति खोजिरहेका थिए। केही नलागेपछि उपाय खोजे कांग्रेसको नेतृत्वमा सरकार र पाँचदलीय गठबन्धन बनाउने। कांग्रेस र खास गरेर सभापति शेरबहादुर देउवाका लागि त यो अकल्पनीय परिस्थिति र प्रधानमन्त्री बन्ने मौका आइलाग्नु भाग्यकै खेल थियो। हौसिनु पनि स्वाभाविकै थियो। पाँचदलीय गठबन्धन बन्यो र सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय सरकार बन्यो। पाँचदलीय गठबन्धन कुनै सैद्धान्तिक र नीतिगत आधार थिएन। केवल सत्ता प्राप्ति र निर्वाचनमा आफू र आफ्नालाई जिताउनुपर्ने स्वार्थ मात्र थियो। यथार्थमा कांग्रेसले गठबन्धन गरेर निर्वाचनमा जानुपर्ने कुनै आवश्यकता थिएन र यो कांग्रेसको हितमा पनि थिएन। गठबन्धनले कांग्रेसका धेरै महत्वपूर्ण जनाधार भएका र जित्ने नेताहरूले पनि टिकट पाएनन्। गठबन्धन नभएको भए कांग्रेसले प्रत्यक्ष र समानुपातिकमा पनि यो भन्दा बढी सिट ल्याउँथ्यो। तर पार्टी भन्दा पनि निहीत स्वार्थले मात्र गठबन्धन गरियो। यो कांग्रेसको त्रुटिपूर्ण निर्णय थियो। इतिहासले यसको मूल्यांकन गर्नेछ।

सरकार गठनबारे प्रतिनिभि सभामा ठूलो दलको आधारमा कांग्रेसको नेतृत्वमा पाँचदलीय गठबन्धन र थप दलहरूको समर्थनमा सरकार बन्नुपथ्र्याे तर त्यो भएन। एमाले अध्यक्ष ओलीको सहयोग र समर्थनमा अन्य दलहरूको समेत समर्थन लिइ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बने। अन्य दल पनि मन्त्रिमण्डलमा सहभागी भए र मन्त्रिपरिषद्ले पूर्णता पाउन बाँकी छ। पाँचदलीय गठबन्धन तोड्न र आफ्नो महत्वपूर्ण भूमिका रहने गरी प्रचण्डलाई प्रधानमन्त्री बनाइ सरकार गठन गर्न ओली सफल रहे भने प्रचण्ड पनि आफ्नो प्रधानमन्त्री बन्ने अभीष्टमा सफल भए। कांग्रेसको आफ्नै नेतृत्वमा सरकार बनाउन कांग्रेस, तत्कालीन प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा असफल रहे। यो बडो विडम्बना हो।

सामान्यजनमा पनि प्रचण्ड एमालेसँग मिली प्रधानमन्त्री बन्दैछन् भन्ने चर्चा पनि थियो भने कतिपय कांग्रेस नेताहरूले त चुनावअघि नै गठबन्धन नगरौँ, चुनावपछि फेरि प्रचण्ड एमालेसँग वाम–वाम एक हौँ भनेर मिल्न जान्छन् भनैकै हुन। तर नेतृत्व खासगरी तत्कालीन प्रधानमन्त्री एवं पार्टी सभापतिकै विशेष बल र आह्वानमा गठबन्धन बनाएर निर्वाचनमा गयौँ। तर निर्वाचनपछि प्रचण्ड एमालेसँग मिल्छन् भन्ने भनाइ त ज्योतिषको भविष्यवाणीझैँ सत्य भयो। यो सबै घटनाक्रममा बडो उदेकलाग्दो अर्को विषय त के रह्यो भने प्रधानमन्त्रीसँग यथार्थ सूचना र परिस्थितिको आकलनसम्म पनि रहेनछ। प्रधानमन्त्री एवं सभापति देउवा गृहमन्त्री भएर र पाँचपल्ट प्रधानमन्त्री बनेर प्रहरी प्रशासन एवं अनुसन्धानको लामो समय विविध पक्षमा उपयोग गरे पनि ऐन मौकामा भने सबै बिर्सिएझैँ भयो। ओली प्रचण्ड र उहाँका सहयोगी नेताहरूबीच सघन सम्पर्क र छलफल त सामान्यजनले पनि हेरिरहेका थिए, चर्चा गरिरहेका थिए। प्रधानमन्त्री देउवा र उहाँका सहयोगी भने यथार्थ विश्लेषण नगरी अल्मल्याउने र संविधानका धारा ७६(३) अनुसार प्रधानमन्त्री बन्ने ध्याउन्नमै आफैँ अलमलिए र आत्मरतिमा रहे। प्रचण्ड ओलीको र अन्य साना दलको समर्थनमा प्रधानमन्त्री बने। ओली सफल भए, प्रचण्ड प्रधानमन्त्री बने भने कांग्रेस मीठो सपनाबाट उठेझैँ भयो। हात परेको सबै गुमाएर झल्यास्स निद्राबाट उठेझैँ भयो।

वास्तवमा भन्ने हो भने सत्ता–शक्ति र लाभ प्राप्तिको सिद्धान्तविहीन राजनीतिमा आयाराम–गयारामको प्रचलन सामान्य भैसकेको छ। आफ्नो गठबन्धन लोकतान्त्रिक, संविधानको रक्षा गर्ने, देश र जनताको हितमा भएको अर्कोले बनाएको गठबन्धन अलोकतान्त्रिक प्रतिगमनकारी, संविधान सिध्याउने र सबै प्रकारले अप्राकृतिक राष्टरूहित विपरित छ भन्ने हाँस्यास्पद भनाइ जोकसैको पनि रह्यो। २०६०÷६१ सालतिर तत्कालीन राजा ज्ञानेन्द्रको शासनकालमा ‘प्रतिगमन आधा सच्यियो’ भनेर एमाले सत्तामा गए जस्तै हो। मौका परे आफू सत्तामा आउने भए कांग्रेस, एमाले, माओवादी र अन्य दल जो पनि जसैसँग मिल्न तयार पनि हुने, मिलेकै पनि हुन, अहिले पनि मिल्न आह्वान गरेकै थिए। सिर्फ को कससँग मिल्यो र सत्तारोहण गर्‍यो र अर्को मिल्नमा चुक्यो यति मात्रै त हो फरक। त्यसैले प्रतिगमन, अग्रगमन आफूलाई चाहिएअनुसार भन्ने र उपयोग गर्ने नारामा मात्रै त सीमित छ। यो सबै परिस्थिति हेर्दा गठबन्धन अनावश्यक र तत्कालीन स्वार्थबस थियो भन्ने पुष्टि हुन्छ। गठबन्धन चट्क छाडेर प्रचण्ड प्रतिगमनकारी भनिएका एमाले अध्यक्षसँग मिल्न गए र उनकै मुख्य सहयोगमा प्रधानमन्त्री भए। प्रतिगमन साँच्चिकै सच्चिएकै हो त ?

निष्कर्ष  

निष्कर्षमा भन्ने हो भने तत्कालीन प्रधानमन्त्री एवं कांग्रेसका सभापतिको आफैँ प्रधानमन्त्री बन्ने उच्च महर्‍वाकांक्षाका कारण आज यो परिस्थिति आएको हो। चर्चामा आएझैँ पाँचदलीय गठबन्धनको प्रधानमन्त्री बन्दा (१८ महिनापहिले) नै चुनावपछि आलोपालो प्रधानमन्त्री हुने भन्ने गोप्य सम्झौता देउवा–प्रचण्डबीच भएको थियो रे। अब म पहिले, म पहिले भन्ने विवाद आयो। पारदर्शी नभएर गोप्य सम्भौता भएको आधारमा को पहिला प्रधानमन्त्री बन्ने भन्ने निक्र्योल गर्नु त गाहै्र थियो। यसका लागि त स्वयम् देउवा÷प्रचण्डले उदारता, धैर्य र दूरदर्शिता प्रदर्शन गर्नुपर्ने आवश्यकता थियो। तर पद प्राप्तिको हतार र भोलि के हो भन्ने मानसिकतामा यही हुने हो–जे भयो। अन्य पदमा विवाद थिएन। प्रचण्डले पहिल्यै प्रधानमन्त्री मागे र नभए जसरी जहाँ मिलेर प्रधानमन्त्री हुन खोजेपछि प्रजातन्त्र र संविधान रक्षाका लागि साँच्चै पाँचदलीय गठबन्धन बनेको भए जसरी पनि गठबन्धन बचाउनुपथ्र्यो। प्रधानमन्धी त आलोपालो छँदै थियो। अन्य पदमा त विवादै थिएन। यसरी कांग्रेसले राष्ट्रपति, सभामुख, मन्त्रीहरू, प्रदेश प्रमुखहरू, मुख्य मन्त्रीहरू, मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू र अन्य धेरै पद गुमाउनु पर्‍यो। सबै भन्दा ठूलो कार्यकर्ता नेताको मनोबल गुमाउनु पर्‍यो। इतिहासमा धेरै काम कुरा कांग्रेसले गुमाउनु पर्‍यो। अब कठिन परिश्रम गरेर मात्रै संगठनमा सुधार हुनेछ।

कांग्रेसले इतिहासमा भएको यस अक्षम्य त्रुटिको वस्तुपरक भएर यथार्थ र गम्भीर समीक्षा गरोस्। यस घटनाले व्यक्ति र कांग्रेसलाई मात्र नभएर राष्ट्रलाई गम्भीर असर पारेको छ। जनहित र राष्ट्रहितमा अब कांग्रेस सकारात्मक सोचका साथ संगठन सुदृढीकरणमा लाग्नुपर्नेछ। यस घटनाबाट क्षुब्ध भएका कार्यकर्ताको मनोबल बढाइ जनतामा जानुपर्नेछ।  नागरिकबाट ।

  • २१ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ३. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ६. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • ९. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !
  • १०. अमेरिकामा गोली हानी नेपालीको हत्या