राष्ट्र बैंकको सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थाल्यो भट्टको अनुसन्धान

आजभोलि

काठमाडौँ  । राजनीतिक दलका नेता र शक्तिकेन्द्रको संरक्षणमा बसेर शंकास्पद आर्थिक कारोबार गर्दै आएका बिचौलिया दीपक भट्ट सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिएका छन् । भट्ट र उनको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स’ मार्फत भएका विभिन्न कारोबारको स्रोत नखुलेपछि राष्ट्र बैंकको सिफारिसमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीसँग बयानसमेत लिइसकेको छ ।

सबैजसो सरकारका पाला शक्तिको ‘काख’ मा बस्दै आएका भट्टले सेना र प्रहरीको रासन, पोसाक र हेलिकोप्टरदेखि हतियारसम्म ठेक्का र जलविद्युत्का लाइसेन्समा रजगज गरिरहेका छन् । अझ, शेरबहादुर देउवा प्रधानमन्त्री र जनार्दन शर्मा अर्थमन्त्री भएका बेला त उनले निश्चित व्यापारीको स्वार्थअनुसार करका दर हेरफेरमै हस्तक्षेप गरेको आरोप छ ।

अर्थमन्त्रीका रूपमा पछिल्लो पटक बजेट ल्याउँदा शर्माले अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेपछि सीसीटीभी फुटेजसमेत ‘डिलिट’ गराइएको थियो । त्योभन्दा अघिल्लो वर्ष उनले पूरक बजेट ल्याउँदा पनि सीमित ठूला स्टिल उद्योगका लागि कच्चा पदार्थको भन्सारमा छुट दिएर साना उद्योगलाई संकटमा पारेका थिए । शर्माको कार्यकालमा भट्टले बिचौलियाको भूमिका खेलेका थिए भन्ने आरोप छ ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाई (एफआईयू) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई दिएको कागजपत्रका प्रतिलिपि कान्तिपुरले प्राप्त गरेको छ । कागजपत्रअनुसार भट्टको नाममा सिद्धार्थ बैंकमा रहेको खातामा सन् २०२१ जुनमा जगदम्बा स्टिल प्रालिका नाममा नेपाल इनभेस्टमेन्ट बैंकमा रहेको खाताबाट ४५ करोड रुपैयाँ ‘ट्रान्सफर’ भएको थियो । ‘तर, जगदम्बा स्टिलको २०७७/७८ को लेखापरीक्षण प्रतिवेदनमा भट्ट र उनको कम्पनीसँग ४५ करोडको कारोबार भएको विवरण छैन,’ एफआईयूले विभागलाई लेखेको पत्रमा उल्लेख छ ।

त्यस्तै भट्टका नाममा रहेको ओभरड्राफ्ट (ओडी) खातामा सन् २०२१ जुन र जुलाईमा ३० करोड १५ लाख ८७ हजार ‘ट्रान्सफर’ गरिएको थियो । यहीबीचमा यही खाताबाट ४५ करोड ४ लाख ४५ हजार निकालिएको थियो । बैंकबाट स्वीकृत ऋण चलाउन वा शोधभर्ना गर्न मात्र ओडी खाता सञ्चालन हुन्छ । तर, जम्मा ५० लाख सीमा भएको यो खातामा भट्टले ४५ करोडसम्मको कारोबार गरेका थिए ।

भट्टको एकल स्वामित्वमा रहेको ‘इन्फिनिटी होल्डिङ्स प्रालि’ का नाममा रहेको ओडी खातामा पनि यही समयमा रकम ओहोरदोहोर भएको छ । यो खातामा ओडीको सिमाना ४४ करोड हो । तर, सन् २०२१ जुलाईमा यो खातामा १८ करोड ४० लाख ९५ हजार जम्मा गरिएको थियो भने ६३ करोड ४० लाख ९३ हजार निकालिएको छ ।

‘ऋण लिने प्रयोजनका लागि खोलिएका खाताबाट सीमाबाहिरका कारोबार भएका छन् । ऋणको आवरणमा बाहिरबाट शंकास्पद रकम जम्मा गराउने र अन्य शंकास्पद खातामा रकमान्तर गरिएको छ,’ राष्ट्र बैंकका एक अधिकारीले भने ।

सम्पत्ति शुद्धीकरणसम्बन्धी रखबारी गर्न नेपालका बैंकहरूमा लागू भएको ‘गो–एमएल’ प्रणालीले भट्ट र उनी एकल सेयरधनी रहेको इन्फिनिटी होल्डिङ्स कम्पनीमा भएका शंकास्पद र अस्वाभाविक कारोबारको विवरणहरू फेला पारेको राष्ट्र बैंकका ती अधिकारीको भनाइ छ । ‘जानकारी पाएपछि राष्ट्र बैंकको एफआईयूले चार महिना लगाएर अनुसन्धान गर्दा भट्टका कारोबार शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान अघि बढाउन विभागलाई पत्राचार गरेको हो,’ उनले भने ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक तारानाथ अधिकारीले भट्टमाथि अनुसन्धान सुरु भएको पुष्टि गरे । ‘प्रारम्भिक अनुसन्धान सुरु भएको छ । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण खुलाउन मिल्दैन,’ उनले भने ।

खातामा आएको रकम भट्टले आफ्नो एकल स्वामित्वको कम्पनी इन्फिनिटीको लगानीका रूपमा हिमालयन रि–इन्स्योरेन्स कम्पनीमा ‘ट्रान्सफर’ गरेका छन् । इन्फिनिटी होल्डिङ्स प्रालिको चुक्ता पुँजी २०७७ असार मसान्तमा ३ करोड रहेकामा २०७८ असार मसान्तमा अस्वाभाविक रूपमा ४८ करोड पुगेको राष्ट्र बैंकको पत्रमा उल्लेख छ ।

‘बैंक स्टेटमेन्टमा कारोबारको प्रकृति र प्राप्त अन्य विवरणहरू विश्लेषण गर्दा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडमा रहेको भट्टको लगानीको स्रोत स्पष्ट छैन, त्यसैले आवश्यक अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सिफारिस गर्न उपयुक्त हुन्छ,’ राष्ट्र बैंकको पत्रमा भनिएको छ ।

भट्टमाथि अनुसन्धान गर्नुपर्ने आधार देखाउँदै एफआईयूले पत्रमा भनेको छ, ‘चुक्ता पुँजी वृद्धि गर्दा स्रोत खुल्ने स्पष्ट आधार नदेखिएको । दीपक भट्टको व्यक्तिगत खातामा जगदम्बा स्टिलको खाताबाट ४५ करोड रकमान्तर भएको । उक्त रकम केबापत जम्मा भएको प्रयोजन नखुलेको तथा वास्तविक धनी पहिचान स्पष्ट हुन नसकेको । जगदम्बा स्टिल र भट्टबीचको सम्बन्ध नखुलेकाले अनुसन्धान उपयुक्त हुनेछ ।’

रकम आउने र जाने क्रम शंकास्पद भएकाले लहरो शक्तिकेन्द्रसम्म पुग्ने सम्भावना छ । तर, देउवा प्रधानमन्त्री र शर्मा अर्थमन्त्री रहेसम्म अनुसन्धानमा अवरोध थियो । राष्ट्र बैंकले गत कात्तिक १४ मा विभागलाई पत्राचार गरे पनि भट्टले भने गत साता मात्रै बयान दिएका छन् ।

‘गहिरो अनुसन्धान भएमा जगदम्बा स्टिल प्रालि र अन्य माध्यमबाट भट्टको खातामा जम्मा भएको रकमको तार तत्कालीन अर्थमन्त्री शर्मासँग जोडिन सक्छ, त्यसका लागि दबाब र प्रभावबिना अनुसन्धान गर्ने वातावरण भएमा विभागले पत्ता लगाउन सक्छ,’ एक अधिकारीले भने ।

अनुसन्धानका क्रममा भट्ट र शंकर ग्रुपअन्तर्गतका कम्पनीहरूबीच औपचारिक व्यावसायिक साझेदारी फेला परेको छैन । उनीहरू हिमालयन रि–इन्स्योरेन्सका साझेदार भने हुन् । खासगरी भट्टले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा यो रि–इन्स्योरेन्सको इजाजत लिन सफल भएका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।

  • २८ पुष २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !