गुर्जा जोड्ने सडक निर्माण सुरु

आजभोलि

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जामा सडक पु¥याइने भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको गुर्जा जिल्लाका छ स्थानीय तहका ४५ मध्ये सडक नपुगेको एक मात्र वडा हो ।

भौगोलिक हिसाबले दुर्गम र विकट क्षेत्रमा पर्ने लुकेको बस्ती ‘हिडन भ्याली’ का रुपमा चिनिइएको छ । धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको बजेटमा वडा नं २ मा पर्ने लमसुङदेखि लुलाङ हुँदै गुर्जा जोड्ने सडक निर्माण थालिएको हो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले गण्डकी प्रदेश सरकारको रु ८० लाख र पालिकाको रु ४५ लाख बजेटबाट सडक निर्माण सुरु गरिएको जानकारी दिए । “गुर्जालाई सडक सञ्जालले जोड्ने हाम्रो पालिकाको गौरवको आयोजना हो,” उनले भने,“यस वर्ष लमसुङदेखि लुलाङभन्दा माथिसम्म सडक पु¥याउने लक्ष्य छ । सङ्घीय र प्रदेश सरकारसँग समन्वय गरेर यो योजनालाई निरन्तरता दिन्छौँ ।”

मुना–लुलाङ–गुर्जा सडकलाई कर्णाली प्रदेशको डोल्पाको सदरमुकाम दुनै जोड्ने छोटो मार्ग बनाउन प्रदेश र सङ्घीय सरकारलाई प्रस्ताव गरेको उपाध्यक्ष पुनले बताए । गत वर्ष गाउँपालिकाले लुलाङदेखि गुर्जा जोड्ने १० किलोमिटर सडकको विस्तृत परियोजना प्रतिवेदन बनाएको थियो ।

गुर्जाका वडाध्यक्ष झक छन्त्यालले लुलाङ र गुर्जा जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिए पनि महँगो लागत जुटाउन नसकेपछि सडक निर्माण योजनालाई अघि बढाइएको बताए । दुई सय ५० घरधुरीको बसोबास रहेको गुर्जा पुग्न लुलाङदेखि तीन हजार पाँच सय मिटर उचाइको देउराली धुरी काटेर भिर, जङ्गल र खोल्साको बाटोमा पूरै दिन पैदलयात्रा गर्नुपर्छ । बाटोमा कतै पनि बस्ती छैन । सडक सुविधा नहुँदा आवतजावतका लागि पैदलयात्रा, ढुवानीमा घोडा खच्चर र बिरामी हुँदा अस्पताल पुग्न हेलिकप्टर चढ्नुपर्ने बाध्यता छ ।

लमसुङदेखि लुलाङतर्फ एक किलोमिटरभन्दा बढी सडकको मार्ग खनिसकिएको छ । पहिराको जोखिम र अन्य विकल्प नभएकाले लमसुङ बस्तीमाथिको भिरालो पाखोमा करिब आठ सय मिटर सडक मजदुरमार्फत खन्ने काम भइरहेको उपभोक्ता समितिका सचिव ज्ञानबहादुर पाइजाले बताए । “पाखोमा डोजर चलाउँदा स्वास्थ्य चौकी, वडा कार्यालय र विद्यालय भवनसहितको लमसुङ बस्तीमा पहिरो खस्ने देखिएकाले मानिसले नै बाटो खन्ने काम भइरहेको छ,” उनले भने, “बस्तीलाई जोगाउन डिलतर्फ ग्यावियन पर्खाल बनाएर माटोले पुर्ने र बढी भएको माटो ट्र्याक्टरमा हालेर जुगेपानीको खोल्सामा लगेर फाल्ने गरेका छौँ ।” जोखिमयुक्त बाहेकका ठाउँमा भने डोजरले सडक खनिएको छ । दुई सयभन्दा बढी घरधुरीको बसोबास रहेको लुलाङ म्याग्दीको सबैभन्दा ठूलो दलित बस्ती हो । तीन वर्षको प्रयासपछि महतलाको भिरमा सय मिटर मार्ग खोल्ने र स्तरोन्नति गरेपछि खोरिया र लमसुङ सडक यातायातको सञ्जालमा जोडिएका छन् ।

  • २७ माघ २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !