बोटबाटै दुई करोडको सुन्तला बिक्री

आजभोलि

गलेश्वर। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेमा यसवर्ष बोटबाटै रू दुई करोडको सुन्तला बिक्री भएको छ ।

सुन्तला राम्रो फलेको र रोग, कीराको प्रकोप पनि नदेखिएकाले विगतका वर्षको तुलनामा यसवर्ष सुन्तला बिक्री गरेर दोब्बर बढी आम्दानी भएको किसानले बताएका छन् ।

दोसल्लेकी किसान मायादेवी पुनका अनुसार गत वर्ष सुन्तला बिक्री गरेर गाउँमा रू ७५ लाख भित्रिएको थियो । “यसवर्ष पाक्दै गरेको सुन्तला पोखरा, चितवन र काठमाडौँका व्यापारीले बगैँचाबाट नै प्रतिकिलो रू ९५ मा किनेका हुन्”, उनले भनिन् ।

दोसल्ले व्यावसायिक सुन्तला जात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजाले गतवर्ष ६२ हजार ५०० किलो सुन्तला निकासी हुँदा ७५ लाख गाउँमा भित्रिएको जानकारी दिए । “यसवर्ष दुई सय नयाँ बोटमा फल लागेकाले उत्पादन पनि राम्रो भएको छ । रू दुई करोडको हाराहारीमा सुन्तला बिक्री भएको छ”, अध्यक्ष पाइजाले भने ।

उनका अनुसार एक किसानले रू ५० हजारदेखि रू दुई लाख ३० हजारसम्मके सुन्तला बिक्री गरेका छन् । व्यापारीसँग समन्वय गरेर सुन्तला बजार पठाउन समूहले समन्वय गरेको थियो ।

परम्परागत कोदो, मकै र गहुँ खेतीको विकल्पमा सुन्तला खेती गरेको किसान मिलन गर्बुजाले बताए । “तीन मुरी कोदो फल्ने बारीमा लगाएको सुन्तलाबाट दुई लाख भन्दा बढी आम्दानी भएको छ”, उनले भने । दश वर्षअघि गर्बुजाले दोसल्लेलाई सुन्तला गाउँ बनाउने अभियान सुरु गरेका थिए । सडक, यातायातको सुविधा भएपछि बाँझो पाखोबारीमा झाडी फाँडेर सुन्तलाका बिरुवा रोप्ने अभियान चलाइएको उनको भनाइ थियो ।

भिरालो पाखोमा अवस्थित यहाँको भूगोल सुन्तला खेतीका लागि अनुकूल रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

वैदेशिक रोजगार र खेती किसानीबाट धानिएको यहाँका बासिन्दाको जीवनस्तर पछिल्लो समय व्यावसायिक सुन्तला खेतीबाट सुध्रदै गएको अन्नपूर्ण गाउँपालिकाका पूर्व उपाध्यक्ष केशमाया मगरले बताइन् । म्याग्दीका ६ वटा स्थानीय तहका १४ वटा गाउँमा व्यावसायिक सुन्तला खेती गरिन्छ । जिल्लाभरीमा यसवर्ष रू २० करोड भित्रिएको केन्द्रले जनाएको छ ।

 

  • २९ माघ २०७९, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !