तनहुँमा सोलार लिफ्ट सिँचाइ योजना

आजभोलि

तनहुँ । जिल्लाको शुुक्लागण्डकी र भीमाद नगरपालिकामा सोलार लिफ्ट सिँचाई योजना सम्पन्न भएको छ । शुक्लागण्डकी–१० को लोकेतिटार र भीमाद–७ को सिस्नेरी ठूलो फाँटमा सोलारका माध्यमबाट पानी लिफ्ट गरी सिँचाइको व्यवस्था गरिएको हो ।

योजना निर्माण सम्पन्न गरी सञ्चालनका लागि उपभोक्तालाई हस्तान्तरण गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेश सरकारको सहयोगमा लोकेतिटारमा रू एक करोड २९ लाख र सिस्नेरीमा रू ७९ लाखको लागतमा योजना निर्माण सम्पन्न भएको हो ।

लोकेतिटारमा २३ र सिस्नेरीमा २७ धारा निर्माण गरी सिँचाइको व्यवस्था मिलाइएको निर्माण कम्पनी अकलादेवी कन्स्ट्रक्सन एण्ड कन्सल्टटेन्सी प्रालिका प्रतिनिधि सुजन सुवेदीले बताए । उनका अनुसार उक्त दुुई स्थानमा गरी करिब आठ सय रोपनी क्षेत्रफलमा सिँचाइ गरिने छ । सिँचाइ योजनाबाट शुक्लागण्डकीमा तीन सय र भीमादका दुई सय बासिन्दा लाभान्वित हुने छन् । यहाँका बासिन्दालाई उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सिँचाइ योजनाका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

योजनाको निर्माण सम्पन्न भएर उपभोक्तालाई हस्तान्तरण गरिए पनि कार्यालयबाट जाँच गरी बाँकी रकम भुक्तानी गरिने जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शर्माले बताए । उनका अनुसार सतहमा पानी भएका स्थानमा कुलो, नहरबाट र सतहमा पानी नभएका स्थानमा सोलार लिफ्टमार्फत सिँचाइको व्यवस्था मिलाइएको छ ।

स्थानीय क्याङ्दी खोलामा सम्पवेल निर्माण गरी ७० मिटर उचाइमा लिफ्टमार्फत दुई वटा ट्याङ्कीमा पानी सङ्कलन गरी लोकेतिटारमा सिँचाइको योजना सम्पन्न गरिएको छ । उक्त क्षेत्रमा करिब चार किमी पाइप विच्छ्याएर प्लट–प्लटमा पानीको धारा जडान गरी सुचारु गरिएको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।

सिस्नेरीफाँटमा जमिन भन्दा ७० मिटर गहिराइमा खनिएको बोरिङबाट पानी लिफ्ट गरी एउटा ट्याङ्कीमा सङ्कलन गरेर सिँचाइको व्यवस्था मिलाइएको छ । उक्त योजनाअन्तर्गत तीन किलोमिटर पाइप विच्छ्याइएको छ ।

  • २९ फाल्गुन २०७९, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !