पाँच महिनापछि वर्षा भएकामा किसान खुसी

आजभोलि

पर्वत। झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् । खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका हुन् ।

सिँचाइको सुविधा भएका ठाउँका कृषकहरुभन्दा सिँचाइको सुविधा नभएका ठाउँका कृषकहरुलाई ठूलो राहत मिलेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । वर्षा भएपछि कृषकहरुलाई खेतबारी जोतखन गर्न र बर्खे बाली लगाउन सहज भएको छ ।

गएको असोज अन्तिम साता परेको वर्षापछि कात्तिक, मङ्सिर, पुस र माघ महिनाभर वर्षा नभएका कारण सिँचाइको सुविधा नभएका ठाउँमा गरिएको गहुँ, आलु, जौ, फापर लगायतको खेती भने राम्रोसँग फस्टाउन नपाएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए । जिल्लामा सिँचाइ सुविधा पुगेको झन्डै आठ हजार हेक्टर जमिनबाहेक अधिकांश स्थानका कृषकहरु भने वर्षाको भरमा निर्भर रहनुपर्ने अवस्था छ ।

वर्षा नहुँदा चैते धान रोप्न र खेतबारीमा मकै बाली लगाउन ढिलाइ भएको थियो । फागुन पहिलो साता रोप्नु पर्ने मकै अहिलेसम्म रोप्न नसकिएको ठूलीपोखरीका कृषक राधा सापकोटाले बताए । यसपालि खेतको मकै समयमै नपाक्ने भएको छ । अब लगाएको मकै साउनमा मात्र पाक्ने उनको भनाइ थियो । बारीमा मकै लगाउन, लहरेबालीलगायत विभिन्न तरकारी र बर्खे आलु लगाउन भने सहज भएको अन्य कृषकहरुको भनाइ थियो । सोमबार जिल्लाको जलजला, मोदी, महाशिला, पैँयु, विहादी, फलेवास र कुश्मा नगरपालिका गरी सातवटै पालिकामा वर्षा भएको थियो । वर्षासँगै बेकामे बनेका कृषकहरु खेतबारीमा व्यस्त हुने भएका छन् ।

हरेक वर्षको एक पटक हिउँ पर्ने पर्वतको बनौ, लेखफाँट, शालिजा, पन्चासे क्षेत्रमा यसपटक भने हिउँ नपरेको जलजला–९ बनौका वडा अध्यक्ष गौबहादुर पुनले बताए । हिउँ नपरे पनि वर्षा भएकाले बालीनाली लगाउन सहज भएको उनको भनाइ थियो ।

कृषि ज्ञान केन्द्रका अनुसार खडेरीका कारण हिउँदे खेती उत्पादनमा ४० प्रतिशतभन्दा बढीले कमी आएको छ । सबैभन्दा बढी तेलहन बालीमा असर परेको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताए । त्यसबाहेक गहुँ, फापर, जौलगायत मौसमी तथा बेमौसमी तरकारीबालीमा समेत असर परेको छ ।

  • ३० फाल्गुन २०७९, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !