‘रेड नोटिस’ जारी भएका व्यक्तिलाई युएईबाट पक्राउ गरी झिकाइयो

आजभोलि

काठमाडौं । इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट पक्राउ गरी आज नेपाल ल्याइएको छ । कपिलवस्तु बुद्धभूमि नगरपालिका–४ बस्ने ६६ वर्षीय गङ्गाराम थारूलाई विसं २०७६ साउन ७ गते धारिलो हतियार प्रयोग गरी हत्या गरेको घटनामा संलग्न रही फरार रहेका सोही जिल्लाका २३ वर्षीय शिवशरण चौधरीलाई युएईबाट पक्राउ गरी नेपाल झिकाइएको र थप कारबाहीका लागि आजै वारदातस्थल कपिलवस्तु पठाइएको छ ।

उनलाई इन्टरपोलअन्तर्गत नेपालमा रहेको नेशनल सेन्ट्रल ब्यूरो (एनसिबी) काठमाडौँको अनुरोध र एनसिबी युएईको सहयोगमा पक्राउ गरिएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो । व्यक्ति हत्यापछि चौधरी फरार भई युएई बसेको अनुसन्धानका क्रममा खुल्न आएपछि इलाका प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुमार्फत प्रहरी प्रधान कार्यालयको इन्टरपोल शाखामा प्राप्त सूचनाका आधारा रेड नोटिस जारी भएको थियो ।

चौधरीको अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि इन्टपरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७९ भदौ १४ गते रेड नोटिस जारी भएको थियो । इन्टरपोल शाखाबाट २०७९ भदौ १५ गते एनसिबी युएईलाई जानकारी गराइएको थियो । प्रतिवादीलाई पक्राउ गरी सपुर्दगी गर्न अनुरोध गरिएकामा २०७९ भदौ २१ गते एनसिबी युएईले उनलाई पक्राउ गरी सपुर्दगीका लागि आवश्यक कागजात माग गरेको थियो ।

एनसिबी काठमाडौँले माग भएबमोजिमका कागजात खुलाइ पठाएपश्चात गत फागुन ११ गते चौधरीलाई नेपाल सपुर्दगी गर्ने प्रयोजनार्थ सुरक्षा टोली पठाउन अनुरोध गरेको थियो । त्यसपश्चात् आवश्यक प्रक्रिया पूरा गरी काठमाडौँबाट खटिएको इन्टरपोलको प्रहरी टोलीले उनलाई आज नेपाल ल्याएको हो । उनलाई लिन प्रहरी निरीक्षकको नेतृत्वमा टोली युएई गएको थियो ।

  • २ चैत्र २०७९, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !