गण्डकी सरकारबाट बाहिरिने माओवादीको निर्णय

आजभोलि

गण्डकी । नेकपा (माओवादी केन्द्र)ले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिँदै गण्डकी प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले सरकार छाड्ने निर्णय गरेको माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले जानकारी दिए ।

माओवादीबाट सरकारमा प्रतिनिधित्व गर्ने दुई मन्त्रीले आजै मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने उनको भनाइ छ । माओवादीबाट दलका नेता चुमान भौतिक पूर्वाधार विकासमन्त्री र रेशम जुग्जाली उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेका थिए ।

यसअघि बिहीबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गण्डकी प्रदेश सरकारबाट बाहिरिन संसदीय दललाई निर्देशन दिएका थिए । माओवादीले समर्थन फिर्ता लिएसँगै नकेपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार अल्पमतमा परेको छ । संवैधानिक व्यवस्थाअनुसार अब ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत पाउन नसके वर्तमान सरकार ढल्नेछ ।

एमालेका २२, माओवादी केन्द्रका आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई प्रदेशसभा सदस्यको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

केन्द्रीय समीकरणमा फेरबदल भएसँगै प्रदेशमा पनि सत्तासमीकरण बदलिने अवस्था आएको माओवादी संसदीय दलका नेता चुमानले बताए । उनले अब नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने उल्लेख गरे । सत्ताइस सदस्यसहित प्रदेशसभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर सरकार गठनको कसरत थालेका छन् । साठी सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्छ । कांग्रेस र माओवादी मिल्दा सरकारलाई सहज बहुमत पुग्छ ।

नयाँ बन्ने सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषय भने अझै नटुङ्गिएको नेताहरुले बताएका छन् । कांग्रेस र माओवादी दुवैले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् ।

  • १० चैत्र २०७९, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !