कोशीको अधिकांश जिल्लामा फैलियो ‘लम्पी स्किन’

आजभोलि

झापा । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ । इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् ।

इलाम, उदयपुर, धनकुटा, सङ्खुवासभालगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा दीपा दियालीले बताइन् । यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटरसम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।

नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ । क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा दियालीले बताइन् । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।

झापा र इलामका २७ हजार पशुमा सङ्क्रमण

इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताइन् । केन्द्रलाई झापा र इलाम दुवै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ ।

उनका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’ बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन् । झापामा छ हजार चार सय ९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् । इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उनले जानकारी दिइन् ।

झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ ।

इलामको इलाम नगरपालिकामा तीन हजार दुई सय, माङ्सेबुङमा तीन हजार, सूर्योदयमा दुई हजार तीन सय, माइजोगमाईमा एक हजार पाँच सय वटा गाईगोरुमा यो रोगको सङ्क्रमण देखिएको छ । ‘लम्पी स्किन’ रोग लागिसकेपछि भरपर्दो उपचार छैन । रोगी पशुको ¥याल, शरीरबाट निस्कने तरल पदार्थ र लामखुट्टे तथा भुसुनाको टोकाइबाट एक पशुबाट अर्को पशुमा रोग सङ्क्रमण हुने वरिष्ठ पशु चिकित्सक दियालीले बताइन् ।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’ बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो । गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिनुभयो । “गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ”, भट्टराईले भनिन्, “खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ ।”

झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन् । रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन् ।

  • २६ बैशाख २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !