‘मोहरेडाँडा’मा पर्यटक आकर्षण बढ्दो

आजभोलि

बेनी । घना जङ्गलको सिर मा रहेको धुरीबाट दन्ते लहरजस्तै हिमाल देखिन्छन् । समुद्र सतहदेखि तीन हजार तीन सय १३ मिटर उचाइमा अवस्थित म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ ‘मोहरे डाँडा’ बाट देखिने हिमशृङ्खलाको यो दृश्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ ।

दर्जन बढी हिमाललाई एउटै प्राकृतिक भ्यु प्वाइन्टबाट अवलोकन गर्न सकिने भएकाले पछिल्लो समय मोहर डाँडाको अवलोकनका लागि जाने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

वरिपरि गुराँसे जङ्गल भएकाले चैत–वैशाखको यो सिजनमा मोहरे डाँडा क्षेत्र रङ्गीबिरङ्गी गुराँसका फूलले चिटिक्क सजिएको छ ।

अभियन्ता डाक्टर महावीर पुनको अगुवाइमा सन् २०११ देखि सञ्चालनमा रहेको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गले समेटिएको मोहर डाँडामा आन्तरिकसँगै बाह्य पर्यटकको समेत आकर्षण बढेको मोहर डाँडामा सञ्चालित सामुदायिक लजका व्यवस्थापक विनपुनले बताए ।

‘यहाँ आउने पर्यटक लोभिएर फर्कने गर्छन्, प्राकृतिक सुन्दरताको छटासँगै रमाउँदा यहाँ आउने जो कोही पनि आफूलाई गौरव ठान्ने गर्छन्, पर्यटकको चापले पर्यटन सिजनमा पर्यटकको भार थेग्न मुस्किल हुन थालेको छ’, पुनले भने ।

पर्यटकको सुविधाका लागि मोहर डाँडामा रहेको सामुदायिक लजको क्षमता विस्तार गरिएको छ । पदयात्राका लागि आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्न थालेको मोहर डाँडामा फ्रान्स, जर्मनी, अमेरिका, रसिया, अस्ट्रेलिया, दक्षिण कोरियालगायतका देशबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन् ।

घना जङ्गल र अग्ला पहाड भएर तयार भएको यस क्षेत्रको पदयात्रालाई पर्यटकले ‘साहसिक’ पदयात्राका रूपमा लिने गर्छन् ।

पहिलो पटक मोहरे डाँडा पुगेका काठमाडौंका सुरज बज्राचार्यले प्राकृतिक भ्यु प्वाइन्टका रूपमा रहेको मोहर डाँडाको सुन्दरताले आफू लोभिएको बताए । ‘घना गुराँसे जङ्गलको यात्रा निकै रोमाञ्चकृत हुँदो रहेछ, प्राकृतिक छटाले यहाँ आउँदा हुने सबै दुःख बिसाइदिँदो रहेछ, अन्नपूर्ण र धौलागिरि रेञ्जका दन्तेलहर हिमाललाई एक ठाउँबाट नियाल्नुको मज्जा नै छुट्टै भएको अनुभूति भएको छ’, उनले भने ।

यस डाँडाबाट धौलागिरि, गुर्जा, चुरेन, माना पाथी, टुकुचे, निलगिरी, अन्नपूर्ण, मार्दी, मनास्लु, माछापुच्छ्रे लगायतका करिब दुई दर्जन हिमाललाई अवलोकन गर्न सकिन्छ ।

डाँडाबाट हिमाल र सूर्योदयको दृश्यले आफूलाई मोहित तुल्याएको पोखराबाट भ्रमणमा आउनुभएका महेश पुनले बताए । हिमालसँगै यहाँबाट पोखरा, फेवातालसँगै म्याग्दी, पर्वत र बागलुङका समेत भू–भागलाई अवलोकन गर्न सकिन्छ ।

हिमशृङ्खलाको अवलोकन, ग्रामीण जीवनशैली, रहनसहन र परम्परागत पशुपालन, कृषिसमेत यहाँका थप आकर्षण हुन् । यस क्षेत्रमा गरिने घुम्ती चौर पालनसमेत पर्यटकको अवलोकनको रोजाइमा पर्ने गर्छ । बस्तीदेखि टाढा र घना जङ्गलको सिर मा रहेको मोहर डाँडामा विद्युत्का लागि सोलार जडान गरिएको छ ।

यहाँ खानेपानीको मूल नभएकाले जङ्गलमा रहेका मूलबाट खच्चडमार्फत पानी ल्याएर प्रयोग गरिन्छ । क्षमताभन्दा बढी पर्यटक आउँदा मुख्य गरी खानेपानीको अभाव हुने गरेको लजका सञ्चालक पुन बताए ।

मोहर डाँडाको भ्रमणका लागि म्याग्दीको बेनीबाट नागी र राम्चे हुँदै आलडाँडा भएर मोहरे, कास्कीको नयाँ पुल–उल्लेरी–वनठाँटी–कोखे हुँदै मोहरे, बेनीबाट घोरे पानी–पुन हिल हुँदै मोहरे र पर्वतको मिलन चोक–सालिजा–जलजला–हप्पाल हुँदै मोहरेमा पर्यटक पुग्ने गर्छन् ।

पछिल्लो समय पुन हिलदेखि मोहरे जोड्ने गुराँस पदमार्ग भएर धेरै पर्यटक मोहरे डाँडा क्षेत्रको भ्रमणमा जाने गरेका छन् ।

  • २८ बैशाख २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !