गण्डकीमा मन्त्रिपरिषद् विस्तार, मन्त्रीले लिए शपथ

आजभोलि

कास्की । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज चार मन्त्री नियुक्त गरेका छन् ।

नेपाली कांग्रेसबाट आर्थिक मामिलामन्त्रीमा तनहुँका जीतप्रकाश आले, कृषि तथा भूमि व्यवस्थामन्त्रीमा नवलपुरका महेन्द्रध्वज जिसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा बागलुङका दीपेन्द्रबहादुर थापा नियुक्त भए । नेकपा (माओवादी केन्द्र)बाट रेशम जुग्जाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीमा नियुक्त भए।

विना विभागीयमन्त्रीका रुपमा पहिले नै शपथ लिइसकेका कांग्रेसका सरस्वती अर्याल तिवारीले ऊर्जा, जलस्रोत तथा खानेपानी र माओवादी केन्द्रका सुशीला सिम्खडाले सामाजिक तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् । नवनियुक्त मन्त्रीहरुले आजै प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष पद तथा गोपनीयताको शपथ लिए।

यसअघि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रदेश सरकार (कार्य विभाजन) नियमावली, २०७४ को नियम ८ अनुसार मन्त्रालयको कार्य विभाजन हेरफेर गरेको थियो । नयाँ कार्य विभाजनअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभिएको छ । अबदेखि शान्ति सुरक्षा, विपद् व्यवस्थापन, प्रदेशसभा मामला, कानुन, सञ्चार आदिको कार्य जिम्मेवारीसमेत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्हाल्नेछ ।

कृषि तथा जलस्रोत मन्त्रालयले कृषि, पशुपन्छी, ऊर्जा, सिँचाइ र खानेपानी हेर्दै आएकामा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय छुट्टाछुट्टै बनाइएको हो । आर्थिक मामिला मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय भने यथावत् कायम छन् ।

यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त पाण्डेले वैशाख २१ मा विश्वासको मतसमेत पाइसक्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा उहाँलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एस)का एक गरी ३५ प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए । प्रदेशसभामा २२ सिट रहेको नेकपा (एमाले) र दुई सिटको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रतिपक्षी भूमिकामा पुगेका छन् ।

  • २९ बैशाख २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !