सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

आजभोलि

ढोरपाटन । “यस्तो अनकन्टार ठाउँमा मोटरगाडी आउला भन्ने सोचेकै थिएनौँ, अहिले त सबै पाखापखेरामा गाडी दौडिरहेका छन्”, बागलुङको ढोरपाटन नगरपालिका–८ का वीर्खमान सुनारले सुनाए ।

गाउँमा यी बाटामा दैनिक गुड्ने सवारीले उनी जस्ता धेरैको समस्या थोरै भए पनि समाधान गरिदिएको छ । किनभने सडकको सहज पहुँचले केही सुविधा पनि ल्याइदिएको छ ।

जिल्ला सदरमुकाम बागलुङ बजारदेखि सुदूरपश्चिममा रहेको बोबाङ गाउँ डेढ एकदशक अगाडिसम्म मोटरबाटो पुगेको थिएन । यहाँ घोडा र खच्चडकै भरमा सामान ढुवानी हुन्थ्यो । तर अहिले मोटरगाडीले सामान ढुवानी गर्न थालेका छन् । दलित र जनजातिको बाहुल्यता रहेको बोबाङमा सडकको पहुँले दैनिकी फेरिदिएको छ ।

गाडी गुड्न थालेपछि यहाँका नागरिकले शिक्षा, स्वास्थ्य तथा यातायातमा राम्रो सेवा पाउने भएका छन् । बहुप्रतिक्षित ढोरपाटन शिकार आरक्षको प्रवेशमार्ग सालझण्डी ढोरपाटन सडक गाउँको मध्य भागबाटै ढोरपाटनसँग जोडिएको हो ।

विसं २०६६ यता सडक पुगेपछि पनि अहिले पनि यदाकदा घोडामै सामान ढुवानी हुने गरेको छ । तर पहिलेको तुलनामा निकै कम मात्रै छ । यहाँका धेरैजसो नागरिक घुम्ती बसाइँ गर्ने गर्छन् । वर्षातको समय ढोरपाटन (लेक) र हिउँदको समय बोबाङ (औँल)मा बस्ने गर्छन् ।

गाउँमा अपेक्षाकृत विकास नभए पनि सडक सञ्जाल जोडिएपछि पहिलेको तुलनामा निकै परिवर्तन आएको वीर्खमानको भनाइ छ । यहाँका नागरिक खेतीपाती र पशुपालनमै निर्भर छन् ।

स्थानीय पनि शिक्षित र सचेत बन्दै गएको ढोरपाटन नगरपालिका–८ का पूर्वअध्यक्ष नन्दे सुनारको भनाइ छ । उनले सडकका कारण जनजीवनमा पनि ठूलो परिवर्तन आएको बताए ।

सालझण्डी–ढोरपाटन सडकले बोबाङ गाउँ मात्रै नभइ सिङ्गो भूजीखोलावासी नै लाभग्राही बनेका छन् । स्थानीय मीना विकले नून, चामल बुटवल, पत्थरकोटबाट बोकेर उपभोग गरेको अनुभव सुनाए । अहिले घरमै चाहिएका सबैथोको पाइने बताए ।

उनले भने, “बुर्तिबाङ सडक नआउँदासम्म यस ठाउँका मान्छेले बटौली, तम्घास, चोरकाटेबाट नून, तेल र चामल बोकेर ल्याउँथे, बटौली पुग्न दुई साता लाग्थ्यो, अहिले त एक दिन पनि लाग्दैन, पहिलेको जस्तो नून तेल ल्याउन जानुपर्दैन ।”

बोबाङ गाउँ नेपालको एक मात्रै सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार पनि हो । सडकले ढोरपाटनमा उत्पादन हुने आलु, स्याउ र सिमी बजारीकरणमा सहज बनाइ दिएको स्थानीय प्रेम घर्तीमगरले बताए । सडक सञ्जालले नजोडिदा यहाँ उत्पादन हुने कृषि उपज वस्तु खेरगइरहेको भन्दै अहिले स्थानीयवासीले सहजै बजार पु-याएर आम्दानी गर्न थालेको उनले बताए ।

  • ३१ बैशाख २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !