नेपालको मछिन्द्र क्लब एएफसी कपको दोस्रो चरणमा प्रवेश

आजभोलि

काठमाडौँ । एसियाली फुटबल महासङ्घ (एएफसी) एएफसी कप फुटबल प्रतियोगितामा नेपालको मछिन्द्र क्लबले भुटानको पारो एफसी क्लबलाई पराजित गर्दै प्रतियोगितको दोस्रो चरणमा पुगेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मछिन्द्र क्लब पारो एफसी क्लबलाई ३–२ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो ।
सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।
खेलमा पहिलो अग्रता भने पारो एफसीले लियो । खेल सुरु भएको सातौँ मिनेटमा काजुओ होम्माले गोल गर्दै सुरुआती अग्रता दिलाए । पारो एफसीले गोल गरेको पाँच मिनेट पनि बित्न नपाउँदै मछिन्द्रले गोल फर्कायो । मछिन्द्रका खेलाडी विमल घर्तीमगरले खेलको १२ औँ मिनेटमा गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । एरिक विष्टको छोटो कर्नर पासमा आयुष घलानको सहयोगमा विमलले हेडरमार्फत सुन्दर गोल गरे ।
यसैगरी खेलको १५ औँ मिनेटमा आयुष घलानले नै गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ३९ औँ मिनेटमा विदेशी खेलाडी अफिज ओलावालेले गोल गर्दै मछिन्द्रको अग्रता तेब्बर बनाए । उनले ओमोलाजा करिमको पासमा गोल गरेका हुन् ।
खेलको पहिलो हाफसम्म ३–१ गोलको अग्रता लिएको मछिन्द्रले खेलको दोस्रो हाफमा एक गोल खान पुग्यो । खेलको ७१औँ मिनेटमा पारो एफसीका इभान्स अशान्तेले एक गोल थपे ।
यस जितसँगै अब मछिन्द्रले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्नेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । यस खेलको विजेताले बङ्गलादेशको ढाका अबहानी क्लब र माल्दिभ्सको क्लब इगल्स बीचको विजेतासँग आगामी भदौ ५ गते खेल्नेछ ।
मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । जसमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लु स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

  • २३ श्रावण २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !