जनगणनाबाट देखियो नेपाली समाजमा अझै पनि छोराको चाहना अत्यधिक

आजभोलि

काठमाडौं । नेपालमा महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोचका कारण छोराको चाहनाले लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने प्रवृत्तिले जन्मिएका शिशुमध्ये छोराको सङ्ख्या धेरै भएको पाइएको छ ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा राष्ट्रिय तथ्याङ्क कार्यालयका तर्फबाट उपलब्ध गराइएको विवरणअनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ । विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविकरूपमा लिइन्छ । मधेस प्रदेशमा एक सय बालिका बराबर एक सय २२ र सुदूरपश्चिम प्रदेशमा एक सय १८ बालकको जन्म हुनुले ती प्रदेशमा अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ ।

राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मदा महिलाभन्दा पुरुषको सङ्ख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसङ्ख्या बढी रहेको पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी नेवीनलाल श्रेष्ठले बताए । जनगणनाका बेला ठूलो सङ्ख्यामा रहेका युवा जनशक्ति रोजगारीका लागि विदेश पलायन भएका कारण लैङ्गिक अनुपात तलमाथि हुन गएको अनुमान गरिएको छ ।

स्थानीय तहतर्फ विश्लेषण गर्दा ग्रामीण क्षेत्रमा ज्येष्ठ नागरिक र बालिकाको सङ्ख्या उल्लेखनीय देखिएको समितिमा प्रस्तुत राष्ट्रिय जनगणनाले देखाएको जनसङ्ख्याको आकार, प्रकार र संरचनासम्बन्धी प्रस्तुतिमा समावेश छ । त्यस्तै सहरमा काम गर्ने उमेर समूहका युवाको जनसङ्ख्या बढी रहेको देखिएको छ । जनसङ्ख्याको वृद्धिदर मधेस र लुम्बिनी प्रदेशमा एक प्रतिशतभन्दा बढी छ भने १० वर्षमा मधेस र बागमती प्रदेशमा सबैभन्दा धेरै जनसङ्ख्या थपिएको तथ्याङ्क प्रस्तुत गरियो ।

शून्यदेखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या घट्नुले प्रजनन न्यून भएको देखाएको र १५ देखि ६४ वर्ष उमेर समूहको जनसङ्ख्या वृद्धि भई ६२ प्रतिशत कायम रहनुले काम गर्न सक्ने उमेर समूहको बाहुल्यलाई पुष्टि गरेको श्रेष्ठले बताए । यसैबीच महिलाको नाममा रहेको घर वा जग्गा दुवै हुने परिवारको प्रतिशत २३ दशमलव आठ रहेको तथा महिला मूली भएका परिवार प्रतिशत ३१ द्यशमलव छ रहेको उल्लेख गरिएको छ । पछिल्लो जनगनणाअनुसार विगत १० वर्षको अवधिमा २७ लाख जनसङ्ख्या बढेको छ ।

वार्षिक जनसङ्ख्याको वृद्धिदर ९० वर्षको इतिहासमा एक प्रतिशतभन्दा तल अर्थात शून्य दशमलव ९२ मा झरेको देखाइएको छ । तथापि, पछिल्लो समय देशमा पुरुष र महिलाको जनसङ्ख्या अन्तरमा सुधार देखिएको छ । जनगणनाअनुसार पछिल्लो समय हिमालबाट–पहाड, पहाडबाट तराई र सहरमा बसाइसराई केन्द्रित हुने क्रम बढेको छ । जनसङ्ख्याको ५४ प्रतिशत बसोबास तराई मधेसमा हुने गरेको छ । मुलुकको पछिल्लो जनगणनाअनुसार दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसङख्या पुगेको छ । समग्रमा मुलुकमा जन्मदर घटेको तथा औषध आयु बढेको उल्लेख गरिएको छ ।

  • २८ श्रावण २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !