हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ : उपप्रधानमन्त्री श्रेष्ठ

आजभोलि

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् ।

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उनले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताए । सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उनको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्यपद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उनले कार्यशैली परिवर्तन गर्नुपर्ने बताए । सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्वसर्त बनाएको बताए । “समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ”, उनले भने ।

मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताए । सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उनले भ्रष्टाचार, ठगी, दण्डहीनता, आपराधीकरणविरुद्धको अभियानले विश्राम नपाउने जिकिर गरे । “निर्दोष नफसुन्, स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्ने, अपराधी, भ्रष्टाचारी, तस्करीले छुट नपाओस् भन्ने गरी सरकारले काम अगाडि बढाएको छ”, उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वार्षिकरूपमा तोकिएका कामका अतिरिक्त मन्त्रालयले सम्पादन गरेको अन्य कामबाट जनतामा आशा जागेको बताए । स्रोतको अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या आएका विषयलाई गम्भीररूपमा लिँदै उनले राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार भएपछि बजेटको व्यवस्था गर्न सकिने बताए ।

“स्रोत सङ्कुचनका कारण यो वर्ष सिलिङ बढाउन सकिएन, चालु आवको दोस्रो छ महिनामा राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार हुने देखिन्छ, मन्त्रालयले तोकेका काम सकेर सुरक्षा निकायको सुदृढीकरणको योजना ल्याउन सके बजेट थप गर्न सकिन्छ”, उनले भने ।

आयोगका सहसचिव प्रकाश दाहालले समग्रमा मन्त्रालयको प्रगति राम्रो रहेको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन प्रवर्द्धन गर्न मन्त्रालयले चालेका कदम स्वागतयोग्य भएको बताए । संवेदनशील मानिएका कार्यालयको पूँजीगत खर्च कम हुन निराशालाग्दो भएको उनको भनाइ छ ।

मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजेटका अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या देखिएको बताए ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विभिन्न विभाग तथा कार्यलयका प्रमुख, प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए ।

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !