प्रादेशिक अस्पतालहरूमा भर्ना सेवा निःशुल्क दिन मुख्यमन्त्री जमकट्टेलको निर्देशन

आजभोलि

मनहरी (मकवानपुर) । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले बागमती प्रदेशका १३ अस्पतालमा क्याबिन र आइसियुबाहेक सबै शय्या निःशुल्क सेवा दिन निर्देशन दिएका छन् । यो निर्देशनपछि अब आउँदो भदौ १ गतेदेखि बागमती प्रदेशका सबै प्रादेशिक अस्पतालमा बिरामी भर्ना सेवा निःशुल्क हुने भएको छ ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले आइतबार सूचना जारी गर्दै निःशुल्क बिरामी भर्ना गर्न प्रदेश मातहतका अस्पतालहरूलाई निर्देशन दिएको छ । ती अस्पतालका क्याबिन, एनआइसियु र आइसियुबाहेक अरू सबै शय्या निःशुल्क गरिनेछ । प्रदेशअन्तर्गत १३ जिल्लाका १३ प्रादेशिक अस्पतालका आठ सय ११ शय्या निःशुल्क उपलब्ध गराइने मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै आयुर्वेद केन्द्रलाई पनि रिह्याबिटेसन र फिजियोथेरापी सेवा निःशुल्क गर्न मन्त्रालयले पत्राचार गरेको छ ।

सामाजिक सेवा एकाइ स्थापना गरी असहाय, अपाङ्ग (वर्ग क र ख), विपन्न, बेवारिसे बिरामीहरूको उपचार व्यवस्थित गर्ने प्रदेशका स्वास्थ्यमन्त्रीको मन्त्रीस्तरीय निर्णय गरिएको मन्त्रालयका सूचना अधिकारी डा रविन भुसालले बताए । “अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छौँ”, डा भुसालले भने । भदौ १ गतेदेखि १३ वटा अस्पतालमा रहेका सामान्य शय्याहरू निःशुल्क उपलब्ध गराउने भएको हो । प्रदेशका सबै जिल्ला अस्पतालबाट नागरिकले आठ सय ११ वटा शय्याबाट निःशुल्क सेवा पाउनेछन् ।

यस्तै, प्रदेश मातहतको १३ वटै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट पुनस्र्थापना र फिजियोथेरापी सेवा पनि निःशुल्क उपलब्ध हुने डा भुसालले बताए । डा भुसालका अनुसार प्रदेशभित्रका सबै सरकारी, निजी, सहकारी र सामुदायिक अस्पतालहरूमा सामाजिक सेवा एकाइ अनिवार्यरूपमा स्थापना गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको र अनिवार्यरूपमा कार्यान्वयन गर्न निर्देशन पत्र पठाइसकेको बताए ।

  • २९ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !