काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योगी तथा व्यवसायीमा सरकारका तर्फबाट लगानीका लागि विश्वासको वातावरण बनाउने बताएका छन् । प्रधानमन्त्रीले उद्योग व्यवसायको प्रवर्द्धनका लागि विश्वासिलो वातावरण बनाउन सरकारका तर्फबाट आवश्यक पहल लिने र आवश्यक निर्णयसमेत गरिने स्पष्ट पारे ।
उद्योगी व्यवसायीका तीनवटा छाता सङ्गठनका पदाधिकारीसँग आज आयोजित छलफलमा उहाँले व्यावसायिक वातावरण बनाउन र निजी क्षेत्रले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए ।
अध्यक्ष ढकालका अनुसार सो अवसरमा प्रधानमन्त्री प्रचण्डले जग्गा कित्ताकाटका सम्बन्धमा समेत मङ्गलबार आवश्यक निर्णय लिइने बताए । सरकारले यसअघि नै जग्गा कित्ताकाट खुलाउने निर्णय गरेको थियो । यद्यपि केही प्राविधिक जटिलताका कारण सो निर्णय कार्यान्वयन हुन सकेको थिएन ।
आजको भेटमा प्रधानमन्त्री दाहालले जग्गामा कित्ताकाट खुलाउने यसअघिको निर्णय तत्काल कार्यान्वयनमा जाने बताए । अर्थतन्त्र चलायमान गराउने ध्येयका साथ मन्त्रिपरिषद्ले यसअघि नै कित्ताकाट खुलाउने निर्णय गरेको भए पनि कार्यान्वयनमा जान सकेको थिएन । अध्यक्ष ढकालका अनुसार प्रधानमन्त्री दाहालले जग्गा कित्ताकाटलगायत अन्य विषयसमेत कार्यान्वयनमा जाने बताएका थिए ।
निजी क्षेत्रलाई साथमा लिएर नै आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने विश्वास दिलाउँदै प्रधानमन्त्री दाहालले अर्थतन्त्र चलायमान बनाउन सरकारले ठोस कदम चाल्ने बताए ।
विभागीय मन्त्री, सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिबीचको संयुक्त बैठकमा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा क्रमशः सुधार आए पनि जनतामा विश्वास जाग्ने गरी सुधार ल्याउन अर्थतन्त्र चलायमान बनाउन अनिवार्य रहेको बताएका थिए ।
बैठकमा प्रधानमन्त्रीले भने, “अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । रेमिट्यान्स बढेको छ, पर्यटक आगमन वृद्धि भएको छ, राजस्व सङ्कलनमा पनि सुधार आएको देखिन्छ, तर जनतामा आशा जाग्ने गरी, व्यवसायीमा आत्मविश्वास पैदा हुने गरी अर्थतन्त्रमा गुणात्मक सुधार आउन सकेको छैन । यसको खास कारण के हो, यसबारे सरकार र निजी क्षेत्र दुवै पक्षले गहन अध्ययन गरौँ र जे जे गर्नुपर्छ गरेर अर्थतन्त्र चलायमान बनाऔँ ।”
निजी क्षेत्रलाई विश्वासमा नलिईकन, सहकार्य नगरीकन अर्थतन्त्रमा सुधार ल्याउन सकिन्न भन्नेमा आफू स्पष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “अर्थतन्त्र चलायमान गराउन मैले र प्रधानमन्त्री कार्यालयको तर्फबाट जेजे भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका म खेल्छु । अर्थ मन्त्रालय र राष्ट्र बैंकले पनि आफ्नो तर्फबाट भूमिका खेल्नूस् । यहाँ हामी कोही सरकार, कोही निजी क्षेत्र छैनौँ, सबै नेपाली छौँ । देश अप्ठ्यारोमा प¥यो भने हामी सबै अप्ठ्यारोमा पर्छौं ।”
छलफलमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अर्थतन्त्र चलायमान गराउन प्रधानमन्त्री अत्यन्तै गम्भीर भएको आफूले पाएको बताउँदै सरकारका सबै अङ्गले सरकारलाई साथ दिनुपर्ने बताए ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल, नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले अर्थतन्त्र चलायमान बनाउन सरकारले खेलेको भूमिका सकारात्मक रहेको र समष्टिगत आर्थिक परिसूचकहरूमा सुधार आएको बताउँदै खुकुलो मौद्रिक नीति, लगानीमैत्री वातावरण र देशमा सकारात्मक सन्देश प्रवाहका निम्ति केही ठोस निर्णयहरू लिन सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री दाहालले आयोजना गरेको छलफलमा उपप्रधानमन्त्री खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव अर्जुन पोखरेल लगायतको सहभागिता थियो ।