भ्रष्टाचारको फाइल खोलेपछि टुङ्गोमा पु-याउन सांसदको माग

आजभोलि

काठमाडौँ । सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचारका विषयमा छानबिन गरिरहेका प्रहरी अधिकारीको सरुवा गरेर भ्रष्टाचारका फाइल खोलेर टुङ्गोमा नपुग्ने गरी बन्द गर्न लागेकामा आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सुन काण्डमा गठन हुने उच्चस्तरीय आयोगले प्रतिवेदन संसद्मै पेस गर्ने व्यवस्था गर्न माग गरे । सरकारलाई प्रतिवेदन पेस गर्ने गरी आयोग गठन गरिएमा यसअघिका आयोगकै हालत हुने भएकाले संसद्मा पेस गरी छलफल र सार्वजनिक गर्ने व्यवस्था गर्न सांसद केसीले माग गरेका हुन् ।

साम्प्रदायिक दङ्गा मच्चाउन खोज्नेका विरुद्ध सरकारको मौनताका कारण बुझ्न नसकिएको उल्लेख गर्दै उनले दूरसञ्चारका ग्राहक बढ्ने तर राजस्व घट्ने कारणको खोजी गर्नुपर्नेमा जोड दिए । नेपाल टेलिकम र एनसेल दुवैको ग्राहक बढ्दा राजस्व भने घटेकाले सरकार र सञ्चार मन्त्रालयले यसको छानबिन गर्नुपर्ने सांसद केसीको माग छ । पासाल्हामु राजमार्गको काठमाडौँबाट नुवाकोटको पीपलटार खण्डको बजेट कटौती गरिएकोप्रति उनले आपत्ति जनाए ।

सांसद विद्या भट्टराईले दैनिक उपभोग्य सामानको मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको, लैङ्गिक हिंसाले आत्महत्याका घटना बढेकोतर्फ सरकारको ध्यानाकर्षण गराइन । प्रजनन उमेरमा महिलाको आत्महत्याको दर बढेकाले विद्यालयतहको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी पाठ्यक्रम राख्न र यसलाई प्राथमिकता दिएर काम गर्न उनले माग गरिन् ।

सांसद माधव सापकोटाले तातोपानी नाकाको लिपिङ बजारस्थित सरकारी कार्यालयको जग्गा निजीरुपमा कब्जा गरिएकाले तत्काल व्यवस्थापन गर्न माग गरे । तत्काल यसको व्यवस्थापन नगरिएमा पछि यो ठूलो समस्या हुने भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराए । मानसरोवर तीर्थयात्रा गर्ने धार्मिक पर्यटकका लागि तातोपानी नाका अन्य नाकाभन्दा तीन दिन नजिकपर्ने भएकाले पनि यहाँ सरकारले प्राथमिकता दिनुपर्ने सांसद सापकोटाको भनाइ थियो ।

सांसद हरि ढकालले क्रिकेट खेलाडीलाई तलबको व्यवस्था गर्नुपर्ने भन्दै खेल पूर्वाधारको विकासका लागि खेलजगतलाई उपेक्षा गर्न नहुनेमा जोड दिए । प्रधानमन्त्रीले क्रिकेट खेलाडीलाई दिने भनी घोषणा गरेका रकम अझै नदिएकाले त्यसतर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए ।

सांसद राजेन्द्रप्रसाद लिङ्देनले वैदेशिक रोजगारीमा जानेले विमानस्थलदेखि नै अपमान भोग्नुपर्ने र फर्कंदा पनि उस्तै हुने गरेकाले सुधार गर्न माग गरे । सांसद शेरबहादुर कुँवरले अछामको वैद्यनाथ तीर्थलाई व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । संसद्ले पारित गरेको बजेट कटौती गरिनु नहुने उनको भनाइ थियो ।

सांसद सर्वेन्द्रनाथ शुक्लले धान बाली लगाउने बेलामा वर्षा नभएकाले यस वर्ष रू ५० अर्बको धान आयात गर्नुपर्ने अवस्था आउन लागेकोतर्फ सरकारको ध्यानाकर्षण गराए । भारतले धान र चामल निर्यातमा प्रतिबन्ध लगाएकाले धानको आयात कसरी गर्न सकिन्छ भन्ने चिन्तन गर्न उनले सरकारलाई सुझाव दिए ।

सांसद प्रेम सुवालले खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरे । सांसद प्रभु साह र अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणमा जन्तीको झल्को दिने गरी उच्च अधिकारीको लर्को जानुपर्ने कारण के हो भनी प्रश्न गरे । विगतमा भारत भ्रमण आगामी अमेरिका भ्रमणमा पनि उच्च अधिकारीको लर्को जानुको कारण सांसदहरुले माग गरेका थिए ।

सांसद सुशीला थिङले सांसद ईश्वरीदेवी न्यौपानेलाई यसअघिको बैठकमा बोलेका विषयलाई लिएर प्रतिपक्षी दलका सांसदले गरेको दुव्र्यवहारप्रति आपत्ति जनाउँदै कारबाहीको माग गरिन् । सांसद युवराज राईले स्रष्टाका सिर्जनाको रक्षा गर्न प्रतिलिपि अधिकार ऐनको कार्यान्वयन गर्न माग गरे ।

सांसद सञ्जयकुमार गौतमले कृषि प्रधान देश नेपाल कृषिमा आत्मनिर्भर नहुनु हाँस्यास्पद भएको बताए । कृषि, धर्म, संस्कृति र पर्यटन क्षेत्रमा नेपाललाई चुनौती दिनसक्ने देश विश्वमा नभएपनि लापरबाहीले समस्या भएको उनको भनाइ थियो । नेपालका पवित्र तीर्थस्थलका रुपमा रहेका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने, पर्वतीय पर्यटनलाई पनि प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

सांसद सूर्यकुमारी श्रेष्ठले सङ्घीय शिक्षा विधेयक छिटो अघि बढाउन माग गरिन । सांसद प्रतीक्षा तिवारीले जनकपुर क्षेत्रमा खानेपानी समस्या समाधान गर्न माग गरेकी थिइन् ।

  • १८ भाद्र २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !