स्वदेशमै रोजगारीको वातावरण बनाउन कर्णालीका युवाको माग

आजभोलि

भेरीगङ्गा । सुर्खेत वीरेन्द्रनगर–३ का मानकुमारी विकका ३० वसन्त बितेका छन् । उनी बेलाबेलामा वैदेशिक रोजगारीका निम्ति भारत जान्छिन् । उनी पाककलामा पारङ्गत छिन् तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ ।

छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन् । उनले भनिन्, “मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।”

स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन् ।

“म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो”, उनले भनिन् । मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेकी छन् । उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन् । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन् ।

घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छिन् । चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन ।

“मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो”, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन् ।

धना मात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन् ।

विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।

  • ८ पुष २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !