भूकम्पका लाभग्राही ८० हजार पुग्ने अनुमान

आजभोलि

काठमाडौँ । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात सय ८० पुगिसकेको छ । यो अझै थपिने क्रममा छ । यसअघि ५९ हजार भन्दाबढी लाभग्राही कायम भएकामा पछिल्लो अध्यावधिक तथ्याङ्कमा झण्डै नौ हजार थपिएका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले सङ्ख्या बढेर ८० हजार पुग्ने अनुमान रहेको र सोहीअनुसारको तयारी भइरहेको जानकारी दिए । सुरुमा २८ हजार लाभग्राही कायम भएको थियो । त्यसपछि चार हजार थपिएर ३२ हजार हुनपुग्यो । बढ्दै जाँदा ५९ हजार कायम भएकामा अहिले थपिएर ६७ हजार नाघेको हो ।

प्राप्त विवरणअनुसार अहिलेसम्म जिल्लामा ३५ हजार एक सय ४०, रुकुमपश्चिममा २३ हजार छ सय आठ, सल्यानमा एक हजार सात सय ३०, बझाङमा चार हजार पाँच सय ७६ र बाजुरामा दुई हजार सात सय २९ लाभग्राही कायम भएको प्राधिकरणका नीति तथा योजना महाशाखा प्रमुख भरतमणि पाण्डेले बताए । लाभग्राहीको सङ्ख्या बढिरहेसँगै उनीहरुका लागि पुनःस्थापन तथा अस्थायी आवास निर्माणको लागत पनि बढ्नेछ । अहिलेसम्म ती लाभग्राहीको अस्थायी आवास निर्माणका लागि रु दुई अर्ब २६ करोड भन्दाबढी केन्द्रबाट जिल्लामा रकम पठाइसकिएको छ । अझै लाभग्राही बढ्नसक्ने हुँदा अनुमानित लाभग्राहीका आधारमा रु चार अर्ब ७५ करोड आवश्यक हुने देखिएकाले थप रकम मागका लागि पहल भइरहेको प्राधिकरणले जनाएको छ ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते गएको भूकम्पले जाजरकोटसहित रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरामा क्षति पु-याएको थियो । अहिले सो क्षेत्रका पीडितको अस्थायी आवास निर्माणको काम जारी रहेको छ ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !