क्षयरोगबाट तनहुँमा छ महिनामा सातको मृत्यु

आजभोलि

दमौली । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा तनहुँमा क्षयरोगबाट सातजनाको मृत्यु भएको छ । गत साउनदेखि पुस मसान्तसम्म छ महिनाको अवधिमा सातजनाको क्षयरोगका कारण मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

मृत्यु हुनेमा व्यास नगरपालिकामा तीन, भानु नगरपालिकामा एक, बन्दीपुर गाउँपालिकामा एक, देवघाट गाउँपालिकामा एक र भिमाद नगरपालिकामा एकजना रहेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति सुदीप कँडेलले जानकारी दिए ।

तनहुँमा चालु आर्थिक वर्षमा एक सय ५७ जनामा क्षयरोग पुष्टि भएको छ । सबैभन्दा बढी व्यास नगरपालिकामा ५६ सङ्क्रमित रहेका छन् । कँडेलका अनुसार भानु नगरपालिकामा २०, शुक्लागण्डकी नगरपालिकामा २०, भिमाद नगरपालिकामा १३, देवघाट गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १२, घिरिङ गाउँपालिकामा सात, बन्दीपुर गाउँपालिकामा सात, म्याग्दे गाउँपालिकामा छ र ऋषिङ गाउँपालिकामा तीनजनामा क्षयरोग पुष्टि भएको छ ।

क्षयरोग नियन्त्रणका लागि जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क औषधि पाइन्छ । नियमित खोकी लाग्नु, रुघाखोकी हुनु, खकारमा रगत देखापर्नु, साँझपख ज्वरो आउनु, राति सुतेको बेलामा पसिना आउनु, तौल घट्दै जानु, खाना नरुच्नु क्षयरोगीमा देखिने लक्षण भएको स्वास्थ्यकर्मी बताउँछन् ।

छ महिनासम्म नियमित औषधि सेवन गरे क्षयरोग निको हुने भए पनि क्षयरोगी पहिचान हुन नसक्दा सफल उपचार दर वृद्धि हुन नसकेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले बताए । उनले अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको बताए ।

“उपचारमा नरहेको एक क्षयरोगीले औसतमा १० देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले समुदायस्तरमै पुगेर खोजपडताल अभियान सुरु गरेको छ । जन्त्र नामक संस्थासँगको सहकार्यमा क्षयरोगी पहिचान गर्न समुदायस्तरमै पुग्ने गरिएको अधिकारीले बताए ।

  • ३० फाल्गुन २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !